NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

साझेदार दलहरूको बजेटसम्बन्धी चासो सम्बोधन गर्न प्रधानमन्त्री तयार

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ दलभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ । मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धतापछि विमति अन्त्य गरेर बजेट पारित गर्ने सहमति पनि भएको हो ।

बजेट विनियोजन असन्तुलित भएको गुनासो सत्तारूढ दलहरूबाटै आएपछि प्रधानमन्त्रीमाथि दबाब बढेको थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार सत्तारूढ दलहरूबीच मिल्नेजति विषयमा बजेट मिलाउने सहमति भएको छ । ‘बजेट पारित हुनुअघि मिलाउन सकिनेजति मिलाउने सहमति भएको छ,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारीलगायतका कारण बजेटमाथि पर्याप्त छलफल गर्न नपाउँदा केही समस्या देखिएको बताएका थिए । उनले मिलाउन सकिनेजति अहिले नै मिलाउने र बाँकी विषय मिलाउँदै जाने प्रतिबद्धता जनाएपछि असन्तुष्ट दलहरू बजेट पारितका लागि तयार भएका थिए ।

‘भारत भ्रमणको तयारीकै वेला बजेट तयार भयो । अलि बढी नै व्यस्त भएका कारण कतिपय विषयमा पर्याप्त ध्यान पु¥याउन सकिएन । मिलाउन सक्नेजति मिलाउने कोसिस हुन्छ, आगामी दिनमा यस्तो हुँदैन,’ प्रधानमन्त्रीको भनाइ थियो ।

कम बजेट परेको क्षेत्रमा थप्ने र बढी बजेट परेको क्षेत्रबाट घटाउने सहमति शीर्ष नेताहरूबीच भएको सहभागी एक नेताले बताए । बजेट पारितपछि पनि मिलाउन सकिनेजति विषयमा मिलाउने समझदारी सत्तारूढ दलहरूबीच भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लाकेन्द्रित भएर बजेट आएको गुनासो सत्तारूढ दलहरूबाटै आएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष