NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सहकारी समस्या सुल्झाउन ०४७ यता आठ कार्यदल, तर समस्या झन्झन् विकराल

काठमाडौं । लाखौँ बचतकर्ताको अर्बौँ रकम फस्ने गरी यतिवेला सहकारी संस्थाहरूमा समस्या निम्तिएको छ । सहकारीमा देखिएको यो समस्या नयाँ भने होइन, दशकौँदेखि कुनै न कुनै जटिलता देखिँदै आएकाले सुल्झाउन भन्दै सरकारले पटक–पटक कार्यदल गठन गरेको छ । तर, कार्यदलका सुझाव कार्यान्वयन नहुँदा समस्या झन्झन् विकराल बन्दै गएको हो ।

०४७ देखि ०७० सम्म गठन गरिएका सात कार्यदलले दिएका दर्जनौँ सुझाव कार्यान्वयन भएनन् । फेरि समस्या बल्झिएपछि गत २६ वैशाखमा मन्त्रिपरिषद् बैठकले योजना आयोगको सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा ‘सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल’ गठन गरेको छ । कार्यदललाई सहकारी क्षेत्रमा विगत र वर्तमानमा देखिएका समस्याबीचको अन्तरअध्ययन गरी समस्या, कारण र समाधान पहिल्याएर दुई महिनाभित्र प्रतिवेदन बुझाउन म्यान्डेट छ । तर, पहिलो बैठक बस्न नै एक महिना लाग्यो ।

४ जेठमा बसेको पहिलो बैठकले सदस्यहरूलाई कामको जिम्मेवारी दियो भने मंगलबार बसेको दोस्रो बैठकले कार्ययोजनाबारे कार्यसूची तयार गरेको छ । कार्यदलमा सहकारी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, अर्थ मन्त्रालयका सहसचिव भूपाल बराल, योजना आयोगका सहसचिव सुशील ढकाल, महिला तथा बालबालिका मन्त्रालयका सहसचिव आभा श्रेष्ठ, नेपाल राष्ट्र बैंकका निर्देशक बाबुराम शर्मा, सहकारी महासंघका अध्यक्ष मीनराज ढकाल, सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरे सदस्य छन् । त्यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रतिनिधि र दुई विज्ञ व्यक्तिलाई नियुक्ति गर्न बाँकी रहेको सहकारी मन्त्रालयका सचिव डा. रेग्मीले बताए ।

सहकारीमा देखिएका समस्याबारे ३३ वर्षअघि नै अध्ययन गरेर सुझाव दिएको ‘राष्ट्रिय सहकारी महासंघ परामर्श समिति’का संयोजक राधाकृष्ण मैनाली सुझाव कार्यान्वयन नगर्ने कार्यदल गठन गरेर सरकार कर्मकाण्डी मात्रै बनेको आरोप लगाउँछन् । ‘प्रतिवेदनमा दिइएका सुझावको सैद्धान्तिक कार्यान्वयन भयो, तर व्यावहारिक भने भएन,’ उनले भने ।

त्यसपछि ०५७, ०६१, ०६८, ०६९ र ०७० पनि कार्यदल गठन भए । ०५७ मा तत्कालीन राष्ट्रिय विकास बोर्डका सहअध्यक्ष राजेन्द्रबहादुर शाहको संयोजकत्वमा ‘सहकारी विकास सुझाव कार्यदल’ गठन भएकोमा ०६१ मा एकै वर्ष दुई समिति बनाइएका थिए ।

०६१ को पहिलो समिति योजना आयोगका सदस्य डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको थियो । ‘राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋण सहकारी संस्था सञ्चालनसम्बन्धी कानुनी स्वरूप संरचनागत व्यवस्था’ नामको समितिले सहकारी नियमनका लागि छुट्टै निकाय गठन हुनुपर्ने, सहकारीको राष्ट्र बैंकले सुपरिवेक्षण गर्नुपर्ने, राष्ट्रिय सहकारी बैंकका लागि छुट्टै ऐन हुनुपर्ने, कर घटाउनुपर्नेजस्ता सुझाव दिएको थियो । ‘हामीले मिहिन अध्ययन गरेर सुझाव दिएका हौँ, तर कार्यान्वयन भएन,’ खतिवडाले भने ।

लगत्तै तत्कालीन कृषि तथा सहकारीमन्त्री होमनाथ दाहालको नेतृत्वमा अर्को समिति बन्यो । सहकारीमा सामान्य समस्या देखिन थालेपछि व्यवस्थित गर्न सुझावका लागि समिति गठन भएको तत्कालीन मन्त्री दाहालले बताए । उनका अनुसार समितिका सबै राजनीतिक दलका एक–एकजनाको प्रतिनिधित्व थियो भने केही सहकारीविज्ञलाई पनि नियुक्त गरिएको थियो । त्यस्तै, समितिले राष्ट्र बैंकको सुझावलाई पनि समेटेको थियो । त्यतिवेला राष्ट्र बंैकले सहकारीको नियमन गर्न एउटा छुट्टै संस्था खडा गर्नुपर्ने सुझाव दिएको थियो । साथै, सहकारी विभागको स्वीकृति लिएर मात्रै सहकारी खोल्न पाउने र यसरी खोलिएका सहकारीलाई राष्ट्र बैंक, कृषि मन्त्रालय र सहकारी विभागले सुपरभिजन गर्ने सुझाव प्रतिवेदनमा समेटिएको थियो । त्यस्तै, समितिले सहकारीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्विकार्न र सहकारीको माध्यमबाट विकास गर्न सुझाव दिएको थियो । प्रतिवेदन मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन गर्ने कुरा थियो । तर, तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेपछि सबै विघटन भयो । प्रतिवेदन पारितसमेत हुन पाएन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।