NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

को–को सामेल हुँदैछन् समाजवादी मोर्चामा ?

काठमाडौं ।भविष्यमा पार्टी एकताको लक्ष्यसहित संसद्का तीन र बाहिरको एक राजनीतिक दल मिलेर समाजवादी मोर्चा गठनको अन्तिम तयारी गरेका छन् । संसद्मा प्रतिनिधित्व रहेका सत्तारूढ दलहरू माओवादी, एकीकृत समाजवादी र जसपाका साथै गत मंसिरको निर्वाचन बहिष्कार गरेको नेकपा समाजवादी मोर्चा गठनको अन्तिम चरणमा छन् ।

समाजवादी मोर्चा बने दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्न सक्छ । सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चाविना जटिल समीकरण हुनेछ । माओवादीका ३१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । कांग्रेसका ८९ र एमालेका ७९ सांसद छन् ।

त्रिशंकु संसद्मा धेरै दलले प्रतिनिधित्व गरेकाले अस्थिरताको जोखिम छ । मोर्चामार्फत तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउने र दीर्घकालीन रूपमा पार्टी एकतासम्मको लक्ष्य नेताहरूको छ ।

मोर्चाको अवधारणापत्रको मस्यौदा तयार पारिएको छ । यसलाई अन्तिम रूप दिन शुक्रबार बैठक बोलाइएको छ । ‘चार पार्टीबीच मोर्चामा आबद्ध हुने सहमति भइसकेको छ । दस्ताबेज तयार पारेका छौँ, भोलि बैठकमा छलफल हुन्छ । दस्ताबेजले अन्तिम रूप लिएसँगै समाजवादी मोर्चा घोषणा हुन्छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने ।
समाजवादको लक्ष्य पूरा गर्न आवश्यक सबै काममा मोर्चा केन्द्रित हुने उनले बताए । उनले मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।

शुक्रबारको बैठकअघि भट्टराई र गौतमसँग निर्णायक छलफल गर्ने तयारी छ । एकता अभियानका अध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य छन् ।

दलहरूले कार्यदल नै गठन गरेर दस्ताबेजको मस्यौदा तयार पारेका हुन् । माओवादीका कृष्णबहादुर महरा, एकीकृत समाजवादीका प्रवेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठले मोर्चाको अवधारणा दस्ताबेजलाई अन्तिम रूप दिएका हुन् ।

शीर्ष नेताले मस्यौदालाई अन्तिम रूप दिएलगत्तै मोर्चा घोषणा हुने कार्यदल सदस्यसमेत रहेका माओवादी महासचिव देव गुरुङले बताए । ‘हाम्रोतर्फबाट सबै विषय टुंगिसकेको छ, शीर्ष तहमा केही थपघट होला । शीर्ष छलफलपछि मोर्चा घोषणा हुन्छ,’ उनले भने ।

संघीय शासन प्रणालीअनुरूपको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको सैद्धान्तिक मान्यता रहेको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालगायत परिवर्तनका पक्षधरहरू मोर्चामा सहभागी हुन लागेको नेताहरूले बताएका छन् । ‘प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि मोर्चामार्फत संघर्ष गर्छौँ,’ गुरुङले भने । मोर्चालाई सुदृढ र विकसित गर्दै एउटै पार्टी निर्माण गरेर अघि बढ्ने लक्ष्य रहेको नेताहरूले बताएका छन् ।

जसपा प्रवक्ता मनीष सुमनले मोर्चा घोषणाको अन्तिम तयारी भइरहेको बताए । ‘कार्यदलस्तरमा विभिन्न चरणमा भएको छलफलबाट दस्ताबेज तयार भएको छ । शीर्ष नेताहरूबीचमा छलफल भएर दस्ताबेजले अन्तिम रूप लिएपछि मोर्चा घोषणा हुन्छ,’ उनले भने ।

गत ४ मंसिरको निर्वाचनअघि नै समाजवादी मोर्चा गठनको प्रयास भएको थियो । तर, पटक–पटकको प्रयासका बाबजुद पनि सफल हुन सकेको थिएन । निर्वाचनपछि पनि नेताहरूबीच दर्जनौँपटक छलफल भएको छ ।

एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको एकता २३ फागुन ०७७ मा सर्वोच्चको फैसलाले भंग भएदेखि नै समाजवादी मोर्चाको पहल भएको थियो । त्यतिवेला तत्कालीन एमालेको माधव नेपाल समूह र जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहसहित मोर्चा बनाउने तयारी थियो । तर, सफल नभएपछि नेपालको नेतृत्वमा एकीकृत समाजवादी र भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।