‘मिडियाले समाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्न सक्दैन’
'भर्खरै उठेको समूहले के भन्छ भन्नेतिर चिन्ता नगरी आफ्नो काममा लाग्नुपर्छ'
हाम्रो समाजका संस्थाहरू न्यायपालिका, संसद्, राजनीतिक दल, संवैधानिक निकायहरूसँगै सञ्चारमाध्यममाथि पनि स्वाभाविक रूपमा प्रश्नहरू उठेका छन् । नेताहरू या राजनीतिको मात्रै किन समाचार छापेको ? टेलिभिजन र पत्रिकाले नेताहरू भेटेको, छलफल गरेको विषय किन छापिरहनुप–यो ? भनेर जताततै आक्रोसकै स्तरमा असन्तुष्टि छ ।
सर्वसाधारणलाई चाहिने कुरा स्वास्थ्य, शिक्षा, सडकलगायतका पूर्वाधार हुन् । टेलिकम्युनिकेशन हो । यी नीतिहरूको मुख्य नीति राजनीति हो । देशमा सडक पूर्वाधार बने पनि त्यसको गुणस्तर किन छैन ? अस्पतालले गुणस्तरीय सेवा दिन किन सकेनन् ? विद्यालयहरूमा राम्रो पढाइ किन छैन ? रोजगारी किन भएन ? किनभने, हाम्रो राजनीति यस्तो छ ! त्यसकारण मिडियाले प्रश्न उठाइरहनुपर्ने भनेको राजनीतिमाथि हो । त्यसलाई बनाउने एउटा प्रक्रिया सिंहदरबार र बालुवाटार हो । तर चलायमान र नियमन गर्ने संसदले हो । संसदको मूल मुटु त राजनीति नै हो नि ।
अस्कर वाइल्डका अनुसार, सत्य भन्ने र झुटलाई पर्दाफास गर्नेबाहेक मिडियाको कुनै सिद्धान्त छैन । संसारभर चलिरहेकै यही हो । त्यसैले भर्खरै उठेको समूहले के भन्छ भन्नेतिर धेरै चिन्ता नगरी आफ्नो काममा अडिग भएर लाग्नुपर्छ
तर अहिले हामीले ‘आइ हेट पोलिटिक्स’ भन्ने पुस्ता हुर्काउँदै गइरहेका छौं। मैले राजनीतिलाई घृणा गर्छु भन्नेजस्तो खतरनाक राजनीति अरू केही पनि हुँदैन । यो त लोकतन्त्रकै विरूद्ध हो । यस्तो कुरामा गर्व गर्ने पुस्ता हामीले हुर्काइरहेका छौं ।
यी र यस्ता विषयमा जसरी मिडियाले सञ्चार पैरवी गरिरहेको छ, त्यसमा दुई वटा कुरा छन् । अहिले सूचना प्रवाहमा एकछत्र प्रभाव भएका मूलधारका मिडियाहरूको प्रभाव डिजिटल मिडियाले घटाइदिएको छ । यो सँगसँगै अप्रमाणित समाचारहरू पनि गइरहेका छन् । तथ्यभन्दा पनि मिथ्यामा आधारित यस्ता किसिमका समाचारले मान्छेमा भएका निराशालाई आक्रोशमा परिणत गराएको छ । यति मात्रै होइन, मुख्य विषयमाथिका बहसहरू पनि ओझेलमा परेका छन् ।
‘नेताहरूले नेपालीलाई शरणार्थी बनाएर बेचे । यतिधेरै मनपरी हुँदा पनि मिडिया मिडिया कहाँ छन् ?’ भन्नेजस्ता प्रश्न आममानिसले गरिरहेका छन् । सम्पूर्ण सूचना मिडियाबाटै लिने अनि आक्रोस पनि मिडियामाथि नै पोख्ने प्रवृत्ति देखिएको छ । लाउडा एयरमा भ्रष्टाचार भयो भनेर कसले लेख्यो ? धमिजा काण्ड भन्ने कुरा कसले स्थापित गर्यो ? यति र ओम्नी भन्ने कुरा कसरी बाहिरियो ? मिडियाले नै उत्खनन् गरेको त हो नि । तसर्थ, मिडिया अस्ति उम्रिएर एउटा पार्टी र समूह विशेषलाई लखेट्न बनाइएको हो भन्ने भाष्य गलत हो ।
‘राजनीतिमा नयाँ मान्छे आउनुपर्छ । पुराना ‘लम्पट’ भए’ भनेर लेख्ने मिडिया नै हो । त्यसैको जगमा आएर ‘यो मिडिया चोर हो’ भन्ने पद्धति पनि छ । त्यसको एउटा सकारात्मक कारण पनि हुन सक्छ । मिडियालाई पनि एउटा संस्थाभन्दा बढी संस्थापन पक्षको रूपमा लिने र अकांक्षा राखेको पनि हुन सक्छ ।
मिडियाले घटनाको अभिलेखीकरण गरिरहेको छ भन्ने बाहिरको दृष्टिकोण म मान्दिनँ । किनभने, मैले आफूले पत्रकारिताको अभ्यास गर्दा एक दशकभन्दा अघिसम्म पनि गाडी या विमान दुर्घटना हुँदा पत्रकारको सबैभन्दा ठूलो कोसिस घाइते या मृतकका परिवारलाई भेट्ने हुन्थ्यो । परिवारलाई भेटेर ‘तपाईंलाई कस्तो लागेको छ ?’ भन्ने घटनाकेन्द्रित कथामा चासो हुन्थ्यो । यस्ता घटनाका भावानात्मक कथा केन्द्रित समाचार आउथे र यी समाचार बिक्री पनि हुन्थे । पछिल्लो समय यसमा बदलाब आएको छ । जिम्मेवार मिडियाले हवाई या सडक दुर्घटना भएमा त्यसका कारणसमेत खोतलेर रिपोर्टिङ गर्छन् । सडक दुर्घटना भएको त्यो बाटोको अवस्था कस्तो थियो, ट्राफिक व्यवस्थापन उपयुक्त थियो कि थिएन ? गाडीको आफ्नै अवस्था के थियो भनेर प्रश्न उठाउन थालिएको छ । जहाज दुर्घटना हो भने त्यो जहाज कहिले, कहाँ, कति घण्टा उडेको थियो, त्यसको इन्जिनको अवस्था कस्तो थियो भनेर खोज्न थालिएको छ । पाइलटले कहाँ तालिम लिएको भनेर मान्छेहरूले थाहा पाउन थालेका छन् । अब त्यो रोनाधोनाबाट अलि टाढा गएर जिज्ञासा र जिम्मेवारमुखी पत्रकारिता फस्टाइरहेको छ । जसले संस्थामाथि प्रश्न उठाउने अभ्यासको थालनी भएको छ । तथापि यो पर्याप्त भने छैन ।
मिडियाले जुन किसिमका समाचार पस्किनुपर्नेछ त्यसमा अझै प्रशस्त काम गर्न बाँकी छ । तर समाजमा जस्तो भाष्य बनिरहेको छ, मिडिया त्यो हदसम्म पनि पछि परेको छैन
अर्को कुरा, मिडियाले सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्न सक्दैन । किनभने, समाजिक सञ्जालमा आउने सूचना बाढी हो ।
समाचार नै पस्किनका लागि खडा भएका मिडियाले सूचनालाई नियमन गर्नुपर्छ । अहिले फस्टाइरहेको ‘पपुलिजम’ को बाढीलाई टक्कर दिन्छु भनेर मिडियाले भन्ने होइन । सामान्य रूपमा मिडियाले जे काम गर्ने भनेर परिभाषित छ, त्यसैलाई थप प्रभावकारी ढंगले गर्दै जाने हो ।
मिडियाले जुन किसिमका समाचार पस्किनुपर्नेछ त्यसमा अझै प्रशस्त काम गर्न बाँकी छ । तर समाजमा जस्तो भाष्य बनिरहेको छ, मिडिया त्यो हदसम्म पनि पछि परेको छैन । मिडियाका आफ्नै सीमा छन् । त्यसबाट बाहिर आउनका लागि तत्तत् ठाउँमा हामीले पहल गर्नुपर्छ । त्यस्तै, मिडियाले लेखेका समाचारअनुसार प्रभाव पर्नुपर्ने ठाउँहरूले अनुसन्धान गर्नुपर्यो । कानुन परिचालन गराउने निकायहरूले जवाफदेही बनाउनुपर्छ । सांसदहरूले दिनमा प्रश्न उठाउनुपर्यो । चाहने हो भने एउटै सांसदले ५६ वटा प्रश्न पनि सोेध्न सक्ने रहेछन् । नेमकिपाका एक मात्रै सांसद प्रेम सुवाल एक्लैले ५६ वटा प्रश्न उठाउनुभयो । उहाँहरू जस्ता सांसदको प्रश्नलाई प्रवर्द्धन गर्ने र प्रश्न नगर्नेलाई किन बोलेनौ भनेर मिडियाले सोध्नुपर्छ ।
हाम्रोमा सञ्चारको जुन किसिमको विकास भयो, त्यसले दुई वटा कुरा गरेको छ । एकातिर सामाजिक मूल्यहरू भत्काइदिएको पनि छ । अर्कोतर्फ कतिपय मान्छेहरूलाई आत्मबल पनि दिएको छ ।
मिडियाको सकारात्मक हस्तक्षेपका लागि त्यसको विश्वसनीयता महत्त्वपूर्ण हुन्छ । त्यो विश्वसनीयता बढाउन संसारका कैयौ संस्थाहरूले विभिन्न ‘भोल्युम’ लेखेका छन् । हाम्रोमा पनि प्रेस काउन्सिलको आचारसंहिता छ, पत्रकार महासंघले पटक–पटक बनाएको छ र मिडिया हाउसभित्र आफ्नै आचारसंहिता छन् । मिडियाले आफ्नो हस्तक्षेप बढाउन र विश्वसनीयता कायम राख्न पहिलो र अन्तिम नियम अस्कर वाइल्डले बताउनुभएको छ । त्यो हो, सत्य भन्ने र झुटलाई पर्दाफास गर्ने ।
मिडियाको विश्वसनीयता बढाउन यसबाहेक अन्य कुनै विकल्प छैन । संसारभर चलिरहेकै यही हो । त्यसैले भर्खरै उठेको समूहले के भन्छ भन्नेतिर धेरै चिन्ता नगरी आफ्नो काममा अडिग भएर लाग्नुपर्छ ।
(नेपालवाच मल्टिमिडिया प्रालिको टेलिभिजन प्रस्तुति ‘पोलिसी डायलग’ को ‘मिडियाले नीतिगत विषयलाई दिने स्थान’ विषयक बहसमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले व्यक्त गरेको भनाइको सम्पादित अंश । नेपालवाचको साप्ताहिक यो कार्यक्रम हरेक आइतबार राति ८ः०० बजे एपिवान टेलिभिजन र नेपालवाचको युट्युब च्यानलमा प्रसारण हुँदै आइरहेको छ ।)
प्रतिक्रिया