NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

धोबीखोलाको जग्गामा नक्कली गुठियार र मोही खडा गरेर धनीपुर्जा वितरण गर्न वडाध्यक्षको सिफारिस

काठमाडौं ।काठमाडौं महानगरपालिका– २९ का वडाध्यक्ष कुश ढकालले धोबीखोलाको करिब ११ रोपनी जग्गा नक्कली मोही खडा गरी व्यक्तिको नाममा नामसारी गर्न सिफारिस गरेको खुलेको छ । प्राप्त विवरणअनुसार ढकालले ११ माघ ०७७ मा काठमाडौं– २९ अनामनगरस्थित १० रोपनी १२ आना दुई पैसा एक दाम जग्गा केदारेश्वर महादेव गुठीको नाममा नामसारी गरी व्यक्तिलाई दिन सिफारिस गरेका हुन् ।

जग्गा नामसारीका लागि उनले एक नक्कली भोगचलनकर्ता (गुठियार) र १८ मोही खडा गरेका थिए । सोही आधारमा उनले धनीपुर्जा दिन गुठी संस्थानलाई सिफारिस गरेका थिए । त्यसआसपास कारोबार भएको चलनचल्तीको मूल्यअनुसार उक्त जग्गा एक अर्ब ७६ करोड मूल्यको हो ।

प्राप्त विवरणअनुसार वडाध्यक्ष ढकालले कित्ता नं. १, २, ५, ९, १०, ११, २०, २२, ३८, ४२, ६८, ७०, १७७, १८७, २०५, २०६, २४२ र २४३ को जग्गा व्यक्तिको नाममा धनीपुर्जा जारी गर्न त्रिपुरेश्वरस्थित कालमोचन गुठी शाखा कार्यालयलाई पत्र लेखेका थिए । गुठीलाई लेखिएको च.नं. १७९७ को पत्रअनुसार उक्त जग्गामा ०३८ देखि नै सम्बन्धित व्यक्ति बसोवास गर्दै आएको, उनीहरूले विद्युत् प्राधिकरणलाई बिल तिरेको र निर्वाचन आयोगको मतदाता सूचीमा समेत उनीहरूको नामावली रहेको हुँदा धनीपुर्जा बनाइदिन उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको लेटरहेडमा ढकालको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘गुठी तैनाथी जग्गामा घर–टहरा बनाई भोगचलन गर्दै आएकोमा मोही कायम गरिदिने भन्ने कानुनी व्यवस्था भएको र २६ चैत ०४६ पहिलेदेखि गुठी तैनाथी जग्गामा आफ्नो पुँजी लगाई घर बनाएर बसी भोग गरिरहेकामा लालपुर्जा दिनेसम्मको कुराको कानुनी व्यवस्था भएको हुँदा उक्त जग्गा केदारेश्वर महादेव गुठीको नाममा चौतारिया फत्तेजंग पराक्रम शाहको मौजाअन्तर्गत रहेकाले निजको नाममा जग्गा धनीपुर्जा बनाइदिनहुन विनम्र अनुरोधका साथ सिफारिस गर्दछु ।’

पत्रमा उल्लेख भएअनुसार उनले भीमबहादुर खड्का, रामबहादुर तोम, पृथ्वीराम पौडेल, विष्णुप्रसाद खतिवडा, भूमिनन्द अधिकारी, कृष्ण गुरुङ, बालिका थापा, रञ्जन भण्डारी, विद्या कोइराला, हिरामाया मोक्तान, वादुलाल तामाङ, कृष्णबहादुर गुरुङ, गणबहादुर तोम, मानबहादुर गुरुङ, सोमबहादुर खड्का, प्रेमबहादुर लामा, कृष्णबहादुर खत्री र कैलाश श्रेष्ठलाई नक्कली मोही बनाएका छन् । त्यस्तै, चौतारिया फत्तेजंग पराक्रम शाहलाई जग्गाको नक्कली भोगचलनकर्ता (मौजा) बनाएका छन् ।

तर, वडाध्यक्ष ढकालले भने गुठीको जग्गालाई नक्कली भोगचलनकर्ता र मोही खडा गरी धनीपुर्जा बनाउन कसैलाई सिफारिस नगरिएको दाबी गरे । १८ मोहीका नाममा धनीपुर्जा बनाउन गुठीमा पठाइएको पत्र नक्कली रहेको पनि उनको दाबी छ ।

उनले भने, ‘धोबीखोलाको जग्गा व्यक्तिलाई दिन मैले कसैलाई सिफारिस गरेको छैन । तपाईंले देखाउनुभएको कागजात सबै नक्कली हुन् । कसैले महानगरपालिकाको नक्कली लेटरहेड बनाएर गुठीमा पत्र पठाएछ । पत्रमा मेरो नाम उल्लेखित स्ट्याम्प लगाएछ । पत्रमा उल्लेखित मेरो हस्ताक्षर पनि नक्कली हो । त्यसैले यो धन्दामा मेरो कुनै संलग्नता छैन ।’

जग्गाको भोगचलन ०३८ देखि हुँदै आएको प्रमाणित गर्न ढकालले नक्कली सर्जमिन गराएका छन् । सर्जमिनमा सात व्यक्तिको नाम उल्लेख छ । तर, उनीहरूमध्ये कोही पनि वडा नं. २९ का स्थानीय होइनन् । सर्जमिनपत्रमा प्रत्येकको औँठाछाप र हस्ताक्षर गरिएको छ । रोहवरमा वडाध्यक्ष ढकाल आफैँ बसेका छन् । पत्रलाई प्रमाणित गर्न वडाध्यक्षको नाम उल्लेख भएको छाप लगाइएको छ र पत्रमा उनको हस्ताक्षर उल्लेख छ ।

सर्जमिनपत्रका सन्दर्भमा पनि वडाध्यक्ष ढकालको तर्क छ, ‘सर्जमिनपत्रमा उल्लेख भएको नाम छ नि, ती कोही पनि यहाँका स्थानीय होइनन् । किनकि उनीहरूको नागरिकता मसँग भए पो । पत्रमा लगाइएको मेरो नाम उल्लेखित स्ट्याम्प मेरो होइन, हस्ताक्षर पनि मेरो होइन । वडाध्यक्षले थोडी जग्गा धनीपुर्जा वितरण गर्ने हो र ? सिफारिस गर्दा रोहवरमा बस्नेसम्मको काम हुन सक्ला । मैले कसैलाई जग्गा दिएको नै हो भने प्रमाणित गर्नुस् न ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष