NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

के राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन लागेकी हुन् ?

काठमाडौं । देशको सर्वोच्च पदबाट १०३ दिनअघि अवकाश पाएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले चपलीस्थित नयाँ निवासमा सरेलगत्तै आफन्तजन र निकटस्थ तथा राजनीतिक नेताहरूसँग भेटघाट थालेकी छिन् । अवकाशपछि पहिला सामाजिक काममा सक्रिय बन्ने मनस्थितिसहित उनी त्यसको पूर्वतयारीमा छिन् । राजनीतिमा फर्किने विषयमा अहिलेसम्म स्पष्ट सन्देश प्रवाह गरेकी छैनन् । तर, निकटस्थहरू उनी सामाजिक काम हुँदै सक्रिय राजनीतिमा जाने सम्भावना अस्वीकार गर्दैनन् । भण्डारी पनि परिस्थितिले आफूलाई जिम्मेवारीबारे आउने गरेको बताएर सम्भावनाको ढोका खुलै राखेकी छिन् ।

अघिल्लो शुक्रबार केही पत्रकारसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले ‘बेरोजगार नबस्ने’ भन्दै सुरुमा चार क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लागेको बताएकी छिन् । युवा पलायन, बेरोजगारी समस्या, आर्थिक संकट र कृषि विकासको क्षेत्रमा काम गर्न विज्ञहरूसँग परामर्श गरिरहेको उनको भनाइ छ । ‘मुलुकको शिक्षा प्रणालीमा सुधार, जलवायु अनुकूलनका लागि हरियाली प्रवर्द्धन, कृषि उत्पादन वृद्धि गरी आयात रोक्ने अभियान, जनस्वास्थ्यजस्ता क्षेत्रमा आफूले सक्दो काम गर्ने योजनासहित अगाडि बढिरहेकी छु,’ उनले भनिन् ।

तत्कालका कार्ययोजना सुनाएकी भण्डारीले राजनीतिलाई नजिकबाट नियालिरहेको बताएकी छिन् । आफूले एमालेको भावी अध्यक्ष बन्ने महत्वाकांक्षा नपालेको, तर बहुदलीय जनवादको विषयमा चासो रहेको उनको भनाइ छ । ‘मलाई अध्यक्ष बन्ने महत्वाकांक्षा छैन र लालायित पनि छैन । तर, टुलुटुलु हेरेर बस्ने कि नबस्ने भन्नेचाहिँ छ । बहुदलीय जनवादको विषयमा पार्टीले लिएको धारणालाई तल्लो पंक्तिसम्म पुर्‍याउने विषय पनि छ । यत्ति हो, राजनीतिलाई क्लोज्ली वाचचाहिँ गरिरहेकी छु,’ भण्डारीले भनिन् ।

लामो समय पार्टीमै बिताएकाले एमाले राम्रो होस् भन्ने लाग्नु स्वाभाविकैै भए पनि सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको, तर नजिकबाट हेरिरहेको उनको भनाइ छ । भण्डारीले आफूलाई परिस्थितिले जिम्मेवारी दिने गरेकोसमेत बताइन् । ‘म नेतृत्वमा बस्न अलिक डराउने मान्छे । तर, कतिपय अवस्थामा नचाहेर पनि कतिपय जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भनिन्, ‘अटसपटस र उछिनपछिन गरेर कहिल्यै पनि कुनै जिम्मेवारीमा गएको छैन । तर, नचाहेर पनि जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । परिस्थितिले एमालेमा प्रतिस्पर्धी भएर बस्ने मन भएन, म राष्ट्रपतिको जिम्मेवारीमा जानुपर्‍यो ।’

जेठी छोरी उषाकिरणनिवास बालुवाटारबाट निवर्तमान राष्ट्रपति भण्डारी २९ जेठमा बुढानीलकण्ठ चपलीस्थित कान्छी छोरी निशाकुसुमको निवासमा सरेकी हुन् । निशाकुसुमको नाममा रहेको त्यही निवास दीर्घकालीन रूपमा प्रयोग गर्ने गरी भण्डारी सरेकी हुन् । अब भने व्यवस्थित दिनचर्यासहित बिस्तारै सामाजिक सेवामा सक्रिय रूपमा देखापर्ने उनको तयारी छ ।

भण्डारीको अहिलेको दैनिकी भने आफन्तजन र निकटस्थसँगको भेटघाट तथा राजनीतिक नेताहरूसँगको छिटफुट भेटघाटसँगै बितिरहेको छ । ‘अहिले उहाँ बुढानीलकण्ठ चपलीस्थित नयाँ निवासमा सर्नुभएको छ, अबचाहिँ उहाँको व्यवस्थित दिनचर्याका लागि पनि केही सहज भएको छ,’ स्वकीय सचिव राजकुमार राईले भने । रङरोगनको काम नसकिएका कारण तीन महिना भण्डारीले जेठी छोरी उषाकिरणको निवासमा बिताएकी थिइन् ।

भावी दिनचर्या र आफ्ना योजनाबारे मौनता दर्शाएर राष्ट्रपति कार्यालय शीतलनिवासबाट २९ फागुनमा भण्डारी बाहिरिएकी थिइन् । त्यसवेला अवकाशपछि राजनीति र सामाजिक सेवाको जुनसुकै विकल्पमा सक्रिय बन्न सक्ने बताएका थिए ।

तत्कालीन स्वकीय सचिव डा. भेषराज अधिकारीले भण्डारीले नयाँ निवासबाट व्यवस्थित जीवनशैली चलाउने तयारी गरेको बताए । ‘पहिले एउटा सीमा–मर्यादाभित्र रहेर लामो समय व्यस्त रहनुभयो, अहिले बल्ल रिफ्रेस मुडमा खुला वातावरणमा हुनुहुन्छ । विगतमा भए–गरेका कामका आत्मचिन्तन र समीक्षा गरिरहनुभएको छ,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘सामाजिक कामको सन्दर्भमा पनि उपत्यकाभित्रका छिटफुट कार्यक्रमबाहेक बाहिर जानुभएको छैन, राजनीतिमा सक्रिय हुनेबारे बोल्नुएको छैन । अबचाहिँ नयाँ निवासबाट व्यवस्थित जीवनशैली अगाडि बढ्ला ।’

भण्डारीलाई काम पर्दा तत्कालीन सचिवालयकै सदस्यहरूले पनि सहयोग गर्दै आएका छन् । आवश्यकताअनुसार उनीहरूले निवासमा पुगेर सल्लाह–सुझाव दिने र सहयोग गर्ने गर्छन् । ‘आवश्यकता पर्दा उहाँको सहयोगका लागि गइन्छ, सामान्य दिनचर्यामै उहाँका दिन बित्ने गरेका छन्,’ अहिलेका स्वकीय सचिव राईले भने ।

निवर्तमान भएपछि भण्डारीको व्यस्तता धेरै घटेको छ । प्रधानमन्त्री, मन्त्री, सरकारी उच्च अधिकारी, सुरक्षा प्रमुख, राजनीतिक दलका नेता, विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक अगुवासँग शिष्टाचार भेट र नियमित भेटघाटमा व्यस्त रहने उनको दिनचर्या सामान्य रूपमा बित्न थालेको छ । ‘हिजोको परिवेशमा एकखाले नियमित भेटघाट हुन्थ्यो, पदमा नभएपछि त्यस्ता भेटघाट छैनन्, व्यस्तता पूरै घटेको छ,’ सचिवालयका एक सदस्यले अनुभव सुनाए, ‘शक्तिमा हुँदा एकखालको भेटघाट र आकर्षण हुँदोरहेछ, पहिले भेट्ने मान्छेहरूले पनि भेट्न चाहँदा रहेनछन्, अनावश्यक सम्पर्क पनि हुने कुरा भएन ।’

राष्ट्रपति कार्यालयबाट बिदा भएपछि तीन महिनाको समयमा भण्डारी चारवटा कार्यक्रममा सरिक भएकी छिन् । ३० वैशाखमा डा. अच्युत गौतम र डा. सुरेन्द्र भण्डारीले लेखेको नेपालको लिम्पियाधुरा क्षेत्र पुस्तक विमोचन कार्यक्रममा पहिलोपटक उनी सहभागी भएकी थिइन् । छिमेकी देशसँगको कूटनीतिक सम्बन्धमा राजनीतिक दल र नेताहरू संवेदनशील बन्नुपर्ने कुरामा उनले ध्यानाकर्षण गराएकी थिइन् ।

त्यस्तै, १४ जेठमा राष्ट्रिय समाचार समिति (रासस)को प्रांगणमा गणतन्त्र दिवसका अवसरमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको अवलोकन गर्नुका साथै राससमार्फत पहिलो अन्तर्वार्ता दिएकी थिइन् । यसबीचमै उनी मदन–आश्रित स्मृति दिवसका अवसरमा ३ जेठमा कोटेश्वरस्थित मदन स्मृति पार्कमा आयोजित कार्यक्रममा सहभागी भइन् भने चोभारस्थित गुम्बामा पुगेर एक आनीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । त्यसबाहेक अरू सार्वजनिक कार्यक्रममा भने भण्डारी देखापरेकी छैनन् ।

नयाँ निवास सरेपछि बुढानीलकण्ठ– २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठसहितको एक टोलीले भण्डारीसँग शिष्टाचार भेट गर्दै त्यस क्षेत्रको खानेपानी समस्यालगायत विषयमा अवगत गराएर समाधानका लागि पहल लिन अनुरोध गरेको स्वकीय सचिव राईले बताए । शीतलनिवासमा स्वागत र शिष्टाचार बिदाइपछि यसबीचमा निवर्तमान राष्ट्रपति भण्डारी र राष्ट्रपति रामचन्द्र पौडेलबीच पनि भेटवार्ता भएको छैन । यद्यपि, उनले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्दै स्वास्थ्यलाभको कामना गरेकी छिन् । पौडेलका छोरालाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गर्दै भण्डारीले तत्कालीन स्वकीय सचिव अधिकारीलाई स्वास्थ्य अवस्थाबारे बुझ्न र स्वास्थ्यलाभको कामना गर्न त्रिवि शिक्षण अस्पताल पठाएकी थिइन् । त्यस्तै, नयाँ वर्ष र लोकतन्त्र दिवसमा देशवासीलाई शुभकामना सन्देश प्रवाह गर्ने शिष्टाचार पूरा गरेकी छिन् ।

राजनीतिमा फर्किन सक्ने ढोका खुला राखेकी भण्डारीको यसबीचमा अध्यक्ष केपी ओलीसहित नेताहरूसँग पनि बाक्लो संवाद छैन । यद्यपि, अवकाशपछि ओलीसहित पदाधिकारीहरू, केन्द्रीय तहका नेता र एमाले सांसदहरूले अवकाशलगत्तै बालुवाटार पुगेर भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, स्थायी समिति सदस्य भानुभक्त ढकाल, डा. राजन भट्टराईले भने सामूहिक भेटवार्ता गरेका थिए ।

एमालेकै कतिपय अन्य नेताहरूले भने आवश्यकताअनुसार भण्डारीसँग भेटवार्ता गरेका छन् । एमाले नेताहरू ‘मिसन ग्रासरुट’ अभियानमा व्यस्त भएकाले पनि पछिल्ला दिनमा नेताहरूको खासै बाक्लो भेटघाट नभएको तत्कालीन सचिवालयका सदस्यहरूको भनाइ छ । ‘अभियानमा व्यस्त भएकाले होला एमाले नेताहरूले खासै भेटघाट गर्नुभएको छैन, बरु कांग्रेसका कतिपय नेताहरूले अहिलेका राष्ट्रपतिले गर्नुपर्ने कामबारे सम्पर्क राखेर चासो राखेका छन्,’ तत्कालीन सचिवालयका एक सदस्यले भने ।

अवकाशअघि कूटनीतिक शब्दमा आफ्ना कुरा राख्दै आएकी भण्डारीले आफ्ना लागि राजनीतिक सक्रियता आवश्यकताले निर्धारण गर्ने संकेत गर्दै आएकी छिन् । भण्डारीले एमालेको राजनीतिमा फर्किने चाहना व्यक्त गर्दा व्यवस्थापनका लागि पार्टीभित्र समस्या हुने भएकाले पनि तत्काल निर्णय लिन कठिनाइ भएको कतिपय नेताहरूकै बुझाइ छ ।

‘उहाँको चाहना नै भए पनि महाधिवेशनको मिति तय भएपछि सक्रिय हुने कुरा अलग्गै भयो, नत्र अहिले कहाँ, कुन पदमा राख्ने अर्को जटिलता पनि छ, त्यसैले उहाँले राजनीतिमा फर्किने निर्णय तत्काल गर्नुहोला भन्ने लाग्दैन,’ एमालेका एक स्थायी समिति सदस्यले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष