NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

पशुपतिको जलहरीमा भेटिएको नयाँ तथ्य

काठमाडौं । पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको नाम कुँदिएको छ । तत्कालीन प्रधानमन्त्री ओलीकै विशेष चाहनामा चाँदीको जलहरी फेरेर सुनको राख्ने प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अघि बढाइएको थियो । विवादबीच तत्कालीन राष्ट्रपति भण्डारीले जलहरी अनावरण गरेकी थिइन् । त्यतिवेला पर्यटनमन्त्री ढकाल थिए । जलहरी राख्न पहल गर्नेहरूको नाम त्यसमा कुँदिएको अनुसन्धानबाट खुलेको हो । स्रोतका अनुसार धार्मिक, पुरातात्विक र ऐतिहासिक जलहरीमा सयौँ वर्षपछिसम्म अभिलेख रहने भएकाले नाम नै कुँदिएको हो ।

पशुपतिमा यसरी राखिएको थियो जलहरी

तत्कालीन प्रधानमन्त्री केपी ओलीको विशेष चाहनामा सरकारले पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । कोभिड– १९ को महामारीका वेला नागरिकलाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले त्यतिवेला जलहरी राखेको थियो ।

ओलीले १२ माघ ०७७ मा पशुपतिमा विशेष पूजा–आराधना गरेर सुनको जलहरी राख्ने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि ३० करोड रुपैयाँ तत्कालै दिने र जलहरी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशनसमेत दिए । उनको निर्देशनलगत्तै कोषले दुई सय वर्षभन्दा पुरानो चाँदीको जलहरी हटाएर सुनको राख्ने प्रक्रिया अघि बढाएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएको भोलिपल्टै तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोष बैठकले प्रधानमन्त्रीको निर्देशनबमोजिम जलहरी राख्ने निर्णय गर्‍यो । कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरेर प्रक्रिया अघि बढाइएको थियो ।

सरकारले कानुनविपरीत जलहरी राख्न लागेको भन्दै संस्कृतिविद् तथा कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चबाट आदेश आउने आकलन गरेर कोषले १२ असार ०७७ को बिहानै हतारहतार तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट जलहरी अनावरण गरायो । नभन्दै, सर्वोच्चले जलहरी राख्ने सबै प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो, तर त्यतिवेला जलहरी राखिसकिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष