NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

प्रधानमन्त्री प्रचण्डले दिए अराजनीतिक र असंवैधानिक अभिव्यक्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल गैरजिम्मेवार अभिव्यक्तिले फेरि विवादमा परेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको दाहालले बताएका हुन् । देशका प्रधानमन्त्रीको भनाइ मान्ने हो भने प्रधानमन्त्री बन्न जनताको घरदैलो होइन, दिल्ली धाउनुपर्छ ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो ।

दाहालले यसो भन्दा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि कार्यक्रममै उपस्थित थिए । ‘प्रधानमन्त्री बन्न दिल्ली निर्णायक’ भन्ने सन्देशसहित प्रधानमन्त्रीले दिएको सार्वजनिक अभिव्यक्तिलाई विश्लेषकहरूले दुर्भाग्यपूर्ण भनेका छन् । भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य संसद्बाट विश्वास पाएको प्रधानमन्त्रीले जनादेश बिर्सनु गलत भएको बताउँछन् । ‘प्रधानमन्त्री कसले बनाउने ? प्रतिनिधिसभाको बहुमतअनुसार प्रधानमन्त्री निर्वाचित हुने हो । प्रधानमन्त्री बन्न भारतको अनुहार हेर्ने प्रवृत्ति ठीक होइन,’ उनको भनाइ छ ।

राजनीतिशास्त्री हरि शर्मा प्रधानमन्त्री दाहाल पहिले बोलेर पछि पछुताउने नेतामा पर्ने टिप्पणी गर्छन् । यस्ता अराजनीतिक अभिव्यक्तिले व्यक्ति र राष्ट्रकै गरिमा घटाउने उनको भनाइ छ । भन्छन्, ‘यो अभिव्यक्तिले राष्ट्रको गरिमा होचो बनाउने काम गरेको छ, उहाँको मनमा धेरै उथलपुथल होला तर मुलुकको प्रधानमन्त्रीबाटै यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु हुँदैन ।’

विपक्षी दल एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था संविधानमा उल्लेख भएकाले बाह्य शक्तितिर संकेत गर्नु आपत्तिजनक भएको बताए । ‘उहाँलाई प्रधानमन्त्री हुन कसले के गुण लगाएको छ, अझै खुलाउँदै जानुहोला,’ उनले भने, ‘सार्वभौम जनताबाट निर्वाचित सांसदले चुनेको प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु नैतिक र संवैधानिक हिसाबले गम्भीर विषय हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष