NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रधानमन्त्री सामु उभ्याएर महानिर्देशक अधिकारीले मन्त्रीकै झाँको झारे

अधिकारीलाई कारबाही गर्न नपाउने

काठमाडौं । भ्रष्टाचारविरुद्ध अभियान थालेको बताएर नथाक्ने प्रधानमन्त्री प्रचण्डले एक भ्रष्ट कर्मचारीको अघि उभ्याएर आफ्नै मन्त्री हपारेका छन् ।

सन्दर्भ हो, सरकारको नीति विपरित बोल्दै हिडेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मन्त्री सुदन किराँतीले स्पष्टिकरण सोधेको विषय ।

बजेट तथा कार्यक्रममार्फत सरकारले प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नीति अघि सारेको छ । तर प्राधिकरणका महानिर्देशिक अधिकारीले त्यसविपरित अभिव्यक्ति दिदै हिडेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले स्पष्टिकरण सोधेका थिए ।

तीन दिनको समय दिएर सोधिएको स्पष्टिकरणको १४ दिनसम्म महानिर्देशकबाट जवाफ आएन । बरु उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले मन्त्रीको निर्देशन मान्नु नपर्ने गैरव्यवसायिक चरित्र देखाए ।

आफ्नो कर्मचारीले आफैँलाई नटेरेपछि मन्त्री किराँतीले अधिकारीलाई बर्खास्तीको तयारी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नै अधिकारीको प्रत्यक्ष रुपमा संरक्षणमा उभिएका छन् ।

आफूलाई सोधिएको नौ बुँदे स्पष्टिकरण नदिएर मन्त्री किराँतीलाई ‘साइज’ मा ल्याउन महानिर्देशक अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अघि मन्त्री किराँतीलाई निरिह बनाउन सफल भएका छन् । अधिकारीकै पहलमा प्रधानमन्त्री प्रचण्डले बिहिबार साँझ मन्त्री किराँतीलाई बालुवाटारमा अधिकारीसामु उभ्याएर महानिर्देशकलाई अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् ।

उनले मन्त्रीबाट स्पष्टिकरण सोधिएको विषय सार्वजनिक रहेकाले महानिर्देशकले प्रकृयाका लागि स्पष्टिकरण दिने तर मन्त्रीले कारबाही नगर्ने गरी विवाद टुंग्याएका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतकाअनुसार मन्त्री र महानिर्देशकबीचको द्वन्द्व समाधान गर्न प्रधानमन्त्री प्रचण्ड आफैं अग्रसर भएका छन् । यससँगै महानिर्देशक अधिकारीले कारवाहीबाट उन्मुक्ति पाएका छन् ।

हरेक सार्वजनिक कार्यक्रममा भ्रष्टाचारविरुद्ध आफू निर्मम रहेको बताउँदै आएका दाहाल वास्तवमा भ्रष्टाचारीको संरक्षणमा उभिने गरेका छन् । उनकै सचिवालय स्रोतकाअनुसार अधिकारीले प्रधानमन्त्रीलाई आर्थिक प्रलोभनमार्फत प्रभावमा पार्दै आएका छन् ।

विहिबार राती तीनजना बसेर प्रधानमन्त्रीले नै मन्त्रीको सात्तो लिएपछि महानिर्देशक अधिकारीलाई अब आइन्दा स्पष्टिकरण नसोधिने भएको छ । यस्तै अब महानिर्देशक अधिकारीले मन्त्रीलाई चित्त बुझ्नेगरी स्पष्टिकरण दिनुनपर्ने भएको छ । तर आम सर्वसाधरणको नजरमा स्पष्टिकरण दिएजसरी ‘कर्मकाण्ड’ पूरा गर्न भने अधिकारीले स्पष्टिकरण बुझाउनेछन् ।

‘मन्त्रीलाई तह लगाउने उद्देश्यले उनले सिधै प्रधानमन्त्रीको सहारा लिए । अब मन्त्रीलाई चित्त बुझ्ने हिसाबले स्पष्टिकरण लेख्नु नपर्ने भएको छ । एउटा प्रक्रिया पुर्याउने हिसाबलेमात्रै लेखे पुग्ने भएको हो,’ सचिवालय स्रोतले बतायो ।

यसअघि महानिर्देशक अधिकारीले आफ्नो ट्वीटर ह्याण्डमार्फत प्राधिकरण आफैंमा स्वायत्त निकाय भएकाले स्पष्टिकरण दिनुनपर्ने बताएका थिए । त्यस्तै, प्राधिकरणको महानिर्देशक मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त हुने भएकाले मन्त्रिस्तरीय निर्णयबाट स्पष्टिकरण सोध्न नमिल्ने उनको तर्क थियो ।

के थियो विवाद ?

मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री सुदन किरातीले गत ११ असारमा मन्त्रिस्तरीय निर्णय गर्दै अधिकारीलाई स्पष्टिकरण सोधेका थिए ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख छ । तर सरकारको उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टिकरण सोधेका थिए ।

‘बजेट तथा कार्यक्रममा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने उल्लेख छ । सोही बमोजिम प्रक्रिया अघि बढिसकेको अवस्थामा तपाईंले नेपाल सरकारको उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने कार्य प्राधिकरण नियमावली विपरीत छ, के कति कारणले तपाईंले आफ्नो पदीय जिम्मेवारी विपरित बोल्नुभएको हो ?’ स्पष्टीकरणको पहिलो बुँदामा भनिएको छ ।

अधिकारी महानिर्देशक भएपछि दुईवटा विमान र तीन वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयान सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर प्रश्न सोधेका थिए ।

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, उडान सुरक्षा प्रतिकूल हुनेगरी काम गरेको, पोखरा विमानस्थलमा उडानसम्बन्धी सम्पूर्ण तयारी नगरी उडान सुरु गरेर उडान सुरक्षामा गम्भीर लापरबाही गरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आइकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेकोलगायत विषयमा जवाफ मागिएको छ ।