NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

यी हुन् वर्षमा पाँच पटक विदेश भ्रमण गर्ने भाग्यमानी कर्मचारी

काठमाडौं । वन मन्त्रालय र रेड कार्यान्वयन केन्द्रका चार कर्मचारीले वर्षमा पाँचपटकसम्म विदेश भ्रमण गरेका छन् । पाँचपटक विदेश जानेमा मन्त्रालयका सहसचिवद्वय शिवकुमार वाग्ले र डा. महेश्वर ढकाल तथा उपसचिवद्वय शंकर अधिकारी र शिव खनाल छन् । अधिकारी रेड कार्यान्वयन केन्द्रका हुन् भने वाग्ले, ढकाल र खनाल मन्त्रालयमा कार्यरत छन् ।

मन्त्रालयका योजना, अनुगमन तथा समन्वय महाशाखाका प्रमुख सहसचिव वाग्ले वर्षमा चार देशमा गरेर ४० दिन विदेशमा रहेको देखिन्छ । जर्मनीमा भएको वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकायको ५६औँ सत्रमा ०७९ जेठ १७–२ असार (१७ दिन) सहभागी भए । त्यसको दुई महिनापछि भदौ ७–९ (तीन दिन) उनी थाइल्यान्डमा भएको सहज संक्रमण रणनीतिहरू तयार गर्न दक्षिण–दक्षिण विनिमय बैठकमा भाग लिन पुगे ।

यसपछि प्रत्यक्ष लगानी मञ्च र खाद्य तथा कृषि संगठनका अधिकारीहरूसँग साइडलाइन बैठकमा सहभागी हुन ०७९ असोज ३१–४ कात्तिक (पाँच दिन)का लागि स्विट्जरल्यान्ड पुगे । यसपछि चैत ८–१० (तीन दिन) उनी वनका लागि संयुक्त राष्ट्रसंघ रणनीतिक योजनाको विश्वव्यापी वन लक्ष्य र त्यसको प्रगतिबारे राष्ट्रिय जानकारीको विश्वव्यापी कार्यशालामा सहभागी हुन इटाली गए । लगत्तै गत वैशाख १८–२९ (१२ दिन) स्विट्जरल्यान्डमा बसेल, रोट्टरडम र स्टकहोम सम्मेलनका लागि सदस्यराष्ट्रहरूको सम्मेलन बैठकमा सहभागी भएर फर्के ।

मन्त्रालयअन्तर्गतकै तर हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले पाँच देश भ्रमण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी भएर उनी २३ दिन विदेश बसे । दोस्रो अन्तर्राष्ट्रिय बाघ मञ्चमा सहभागी हुन उनी ०७९ भदौ १९–२१ (तीन दिन)का लागि रुस गएका थिए । यसपछि विश्वव्यापी हिउँचितुवा र पर्यावरण संरक्षणसम्बन्धी कार्यक्रमको सञ्चालन समितिको बैठक (जिएसएलइपी)मा भाग लिन किर्जिकिस्तान पुगेका उनी कात्तिक ३–५ (तीन दिन) पछि स्वदेश फर्किए । त्यसको ११ दिनपछि दक्षिण एसिया वन्यजन्तु प्रवद्र्धन सञ्जालको साधारणसभामा भाग लिन कात्तिक १६–१७ (दुई दिन) माल्दिभ्स गएको देखिन्छ । फेरि त्यसको ११ दिनपछि कात्तिक २८–९ मंसिर (१२ दिन)मा सदस्यहरूको सम्मेलनको १९औँ बैठकमा सहभागी भएर पानामा पुगेर फर्के । बाघ परियोजनाको २५ वर्षे स्मरणमा सहभागी हुन उनी गत चैत २६–२८ (तीन दिन) भारत पनि पुगेर फर्के ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव शिव खनाल पनि धेरै विदेश भ्रमण गर्नेमा पर्छन् । एक वर्षमा उनले पाँच देश भ्रमण गरेका छन् । भ्रमणहरूमा सहभागी हुँदा उनी ३४ दिन विदेशमै रहे । रेड प्लस कन्ट्री लिनिङ प्रोग्राममा भाग लिन ०७९ जेठ २९–५ असार (आठ दिन) कम्बोडिया पुगेर फर्केका उनी त्यसको तीन दिनपछि कोस्टारिका पुगे, कोस्टारिकासँग रेड प्लस क्रियाकलापमा प्राविधिक सहायता कार्यक्रममा सहभागी हुन । त्यहाँ उनी असार ८–१५ (आठ दिन) बसे । यसपछि कात्तिक २०–२ मंसिर (१३ दिन)मा इजिप्ट पुगे, जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघ फ्रेमवर्क कन्भेन्सनमा भाग लिन । उनी फागुन २४–२६ (तीन दिन) सिंगापुर र गत वैशाख १४–१५ (दुई दिन) जर्मनी पनि पुगे, विभिन्न कार्यक्रममा सहभागी हुन ।

रेड कार्यान्वयन केन्द्रका उपसचिव शंकर अधिकारीको पनि धेरै वैदेशिक भ्रमण देखिन्छ । उनी वर्षमा ६ देशको भ्रमण गर्न सफल भएका छन् । विभिन्न कार्यक्रममा विदेश रहँदा ४३ दिन विदेशमै बसे । ०७९ वैशाख १९–२३ (पाँच दिन) दक्षिण कोरियामा एक्स भी वल्र्ड फरेस्ट्री कंग्रेसमा सहभागी भएर फर्केका उनी दुई महिनापछि असार २८–३ साउन (१२ दिन) कम्बोडिया पुगे, रेड प्लस क्रस कन्ट्री लिनिङ प्रोग्राममा भाग लिन । यसपछि कात्तिक २०–२ मंसिर (१३ दिन) इजिप्टमा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघ फ्रेमवर्क कन्भेन्सनमा भाग लिन गए । त्यसको १० दिनपछि मंसिर १२–१५ (चार दिन)मा युनाइटेड नेसन्स–रेड कन्ट्री डायलगमा सहभागी हुन इटाली पुगे । एक महिनापछि दक्षिण–पूर्वी एसियामा रेड प्लसको कार्यान्वयनसम्बन्धी कार्यक्रममा सहभागी हुन पुस १६–२४ (नौ दिन)मा थाइल्यान्ड र इन्डोनेसिया पुगेको विवरणबाट देखिन्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष