दुर्घटनामा कसरी पर्यो मनाङ एयरको हेलिकप्टर ?

पाइलटसहित ६ जनाको ज्यान गएको मनाङ एयरको कलसाइन ९एन–एएमभी हेलिकोप्टर इनरुटमा एक्कासि मौसम खराबीका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ । इनरुटमा मौसम बिग्रिएपछि सुरक्षित अवतरणका लागि ठाउँ खोज्दाखोज्दै रूखमा ठोक्किएर दुर्घटनामा परेको हो ।
नेपाल घुम्न आएका पाँच मेक्सिकन नागरिक बोकेर पाइलट चेतबहादुर गुरुङले सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि बिहान १०ः०५ बजे हेलिकोप्टर उडाएका थिए । तर, उडेको आठ मिनेटमै सम्पर्कविहीन भएको थियो । १०ः१३ मा लुक्ला टावरमा अन्तिमपटक सम्पर्क भएको होलिकोप्टर सोलुकै लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटनामा पर्यो ।
‘हेलिकोप्टर लामजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्ना साथ सम्पर्कविच्छेद भएको थियो,’ लुक्ला विमानस्थलका एटिसी अफिसर सागर कँडेलले भने, ‘सम्पर्कमा रहँदासम्म पाइलटले मौसम सफा रहेको र यात्रामा कुनै समस्या नरहेको बताएका थिए ।’
ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा झरेपछि च्यानडाँडाबाट चौँरीगोठालाहरूले लिखुपिके गाउँपालिका अध्यक्ष मीना कार्कीलाई फोन गरेका थिए । ‘हेलिकोप्टर जंगलमा खसेको भनेर मलाई चौँरीगोठालाहरूले फोन गरे,’ कार्कीले भनिन्, ‘त्यस क्षेत्रमा मौसम परिवर्तन भइरहने र बाक्लो हुस्सु लागिरहने भएकाले दुर्घटना भएको हुन सक्छ, मौसम खराबीका कारण उद्धारमा समेत समस्या भयो ।’ खोजी तथा उद्धारका लागि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईको नेतृत्वमा नेपाली सेना, प्रहरी र अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
नेपाल भ्रमणमा आएका मेक्सिकन नागरिक सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक सोमबार लुक्ला पुगेका थिए । तर, प्रतिकूल मौसमका कारण उडान सम्भव नभएपछि उनीहरू एकरात त्यहीँ बसेर मंगलबार माउन्टेन फ्लाइट गरेका थिए । उनीहरू सबैको मृत्यु भएको क्यानले पुष्टि गरेको छ । शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटना भए पनि आगो नलागेको सोलुखुम्बुका प्रहरी प्रमुख दीपक श्रेष्ठले बताए । ‘प्रायः हवाई दुर्घटनामा आगलागी भएको पाइन्छ, तर यो रूखमा ठोक्किएर बजारिएको देखिन्छ, आगो नलागेकाले कसैको पनि शरीर जलेको छैन,’ उनले भने, ‘आधा घन्टा लगाएर प्रहरीले शव निकालेपछि दुईवटा हेलिकोप्टरमा हालेर काठमाडौं पठाइएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया