NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीताको अवसान

काठमाडौं । श्रीमान तेस्रोपटक देशको कार्यकारी प्रमुख(प्रधानमन्त्री) भएको थाहै नपाइ प्रचण्डका पत्नी सीता दाहालले बुधबार बिहान देह त्याग गरिन् ।

लामोसमयदेखि नसासम्बन्धी दुर्लभ रोग पार्किन्सनबाट पीडित सीता उपचारको क्रममा बुधबार बिहान ८ः ३३ बजे थापाललीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो । दाहाललाई दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ बिदाइ गरियो ।

उनकाे अन्तिम बिदाइमा प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद् सदस्यहरू, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक तथा कुटनीतिक नियोगका पदाधिकारीहरू सहभागी भएका थिए ।

आफूभन्दा ६ महिना कान्छा प्रचण्डसँग २०२६ सालमा उनको विवाह भएको थियो । प्रचण्ड त्यतिबेला कक्षा १० मा अध्ययन गर्दै थिए । २६ मंसिर, २०११ सालमा कास्की जिल्लाको ढिकुरपोखरीमा जन्मेका प्रचण्ड विवाह गर्दा जम्मा १५ वर्षका थिए । २१ असार, २०११ मा कास्कीकै हेम्जामा सीताको जन्म भएको थियो । संयोग नै मान्नुपर्छ, कमजोर आर्थिक अवस्थासँग जुधिरहेका प्रचण्ड परिवार २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगरमा बसाइँ सरेका थिए । सोही वर्ष सीताको परिवार पनि बसाइँ सरेर चितवन आएका थिए । प्रचण्ड सानैदेखि टाठो बाठो केटा भएकाले सीताको मामाले प्रचण्डसँग विवाह गर्ने तारतम्य मिलाएका थिए ।

विवाह भएको केही समयपछि प्रचण्ड अध्ययनका लागि काठमाडौं आए । श्रीमान अध्ययनसँगै पूर्णकालीन राजनीतिमा लागेपछि सीताको जीवन थप कष्टकर बन्दै गएको उनी आफैले बताएकी थिइन् । एकतिर चरम गरिबीको यातना खपेका प्रचण्ड परिवार अर्कोतिर पञ्चायती शासकको आँखाको तारो बनेको थियो । तत्कालीन शासकले विभिन्न यातना दिन थालेपछि बुवा मुक्तिरामले अंश छुट्याइदिएका थिए । परिवारबाट छुट्टिएपछि थप आर्थिक संकट सामना गरेकी उनले अविचलित रूपमा अगाडि बढ्दै गइन् ।

प्रचण्डले २०२८ सालमा पुष्पलाल समुहबाट पार्टीको सदस्य लिएर कम्युनिस्ट आन्दोलनमा होमिएसँगै पत्नी सीताले पनि आन्दोलनमा आवद्ध जनाइन् । यसबाट पुष्टि गर्छ की कम्युनिस्ट आन्दोलमा प्रचण्डको जुन योगदान छ, सँगै सीताको पनि छ । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा प्रचण्ड पूर्णकालीन कार्यकर्ता भए । २०३८ मा श्रीमान क्षेत्रीय ब्युरो सदस्य हुँदा तीन छोरी र एक छोराको जन्म भइसकेको थियो । परिवारको लालनपालनसहित चितवनको भरतपुरमा बस्दै आएकी उनी २०४६ को राजनीति परिवर्तनपछि प्रचण्डसँग काठमाडौं आइन् । ग्रामिण जीवनबाट बल्लतल्ल मुक्ति पाएकी उनी सहर पसेसँगै जीवनले थप नयाँ र कठीन मोड लियो ।

२०४८ सालमा विभिन्न कम्युनिस्ट घटकहरुवीच एकता गरेर श्रीमान नेकपा (एकताकेन्द्र)को महामन्त्री भएपछि सीताको कठीन दिन सुरू भयो । राज्यसत्ताको विरूद्ध श्रीमानले २०५१ सालमा सशस्त्र विद्रोहका लागि भित्रभित्रै तयारी गरे । अन्तरमुखि स्वभावका सीताले गतिशिल स्वभावका श्रीमानका गतिविधि थाहा पइसकेकी थिइन् । २०५२ सालमा माओवादीका अध्यक्ष भएपछि प्रचण्डले राज्यसत्ताविरूद्ध सशस्त्र विद्रोह घोषणा गरे । ग्रामिण पृष्ठभूमिबाट आएकी सीतामा जीवनमा आएका सबै पीडा र कठिनाइ झेल्दै आएकी उनले मृत्युलाई कुनै प्रवाह नगरी श्रीमानले लिएको कठिन बाटोलाई अंगालीन । उनीसहित सबै परिवारलाई युद्धमा होमिइन् । एक चर्चित विद्रोही नेताको पत्नीको चिनारी बनाइन् । युद्धको काहाली लाग्दो दिनहरूमा हरबखत श्रीमानको साथमा रहेर सुरक्षामा ध्यान दिइन् । पार्टीभित्र पनि अभिभावकीय जिम्मेवारी पुरा गर्न सफल भइन् ।

२०६२/६३ को जन आन्दोलनपछि तीन पटकसम्म फस्ट लेडी हुन सफल भएकी सीत श्रीमान तेस्रो पटक प्रधानमन्त्री भएको थाहा नै नपाइ अवसान भइन् । पुष्पकमललाई प्रचण्ड बनाउन लामो च्याग, तपस्या र संघर्ष गरेकी उनले शान्ति प्रक्रियामा आएपछि राज्य भोगको अवसरभन्दा पनि पारिवारिक शोकैशोकमा जीवन विताइन् । २०७० मा जेठी छोरी ज्ञानुको निधनले पीडित भएकी उनी २०७४ मा एकमात्र छोरा प्रकाश पनि गुमाइन् । छोराको अल्पआयुमै निधनले विक्षिप्त बनेकी उनी होसमा आउन सकिन् । पत्नीको उपचारका लागि प्रचण्डले विश्वका ख्यातिप्राप्त अस्पताल लगेर उपचार गराएका थिए । उपचार सम्भव नभएपछि २ वर्षअघि नै आशा मारिसकेका थिए ।

पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी सीताले २०५२ सालदेखि सुरू भएको १० वर्षे सशस्त्र विद्रोहको आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । यसरी एउटा सामान्य ग्रामिण गृहणी महिलाले पुष्पकमलबाट विद्रोही प्रचण्डसँगै देशकै कार्यकारी प्रमुख बनाउन अनवरत संघर्ष गरिन् । जीवनको उत्तराद्र्धमा छोराछोरी वियोगको पीडा खपेकी सीताले श्रीमान प्रचण्डलाई सफलताको शिखरमा पुर्याएर सदाका लागि साथ छोडिन् । आफूलाई विद्रोही नेतादेखि देशकै कार्यकारी प्रमुख पदमा पुर्याउन ठूलो त्याग र तपस्या गरेकी पत्नीलाई पशुपति आर्यघाटबाट राजकीय सम्मानका साथ अन्तिम विदाई गरिएको दृष्य निकै कारूणीक र भाव विह्वल देखिन्थ्यो ।

ताजा अपडेट

नेपालवाच विशेष