NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पूर्वराष्ट्रपति भण्डारीको घरभाडामा किचलोः सरकारले दिएन, उजुरी बोकेर घरबेटी मन्त्रालयमा

काठमाडौं । राष्ट्रपतिबाट बिदा हुँदा विद्यादेवी भण्डारीले सरकारले दिने आवासीय सुविधा नलिएर काठमाडौंको चपलीस्थित आफ्नै घरमा बस्ने निर्णय गर्दा उनको जमेर तारिफ भयो । उनीभन्दा अघिका राष्ट्रपति रामवरण यादव काठमाडौंमा आफ्नै घर हुँदाहुँदै सरकारले दिएको घरमा बस्दै आएका छन् । यादवसँग तुलना गरेर अघिकांशले भण्डारीको बखान गाए ।

तर उनै भण्डारीले सरकारको सेवासुविधासम्बन्धी कार्यविधिमै नभएको शीर्षकमा रकम माग गरेकी छन् । आफ्नै आवासमा बस्ने निधो गरेकी भण्डारीले सुरक्षाकर्मीको घरभाडाका लागि भन्दै सरकारसँग मासिक थप एक लाख रूपैयाँ माग गरेकी हुन् ।

राष्ट्रपतिको कार्यकाल सकाएर गत फागुनमा शीतलनिवासबाट आफ्नै घरमा स्थानान्तरण भएकी पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिने सुरक्षाकर्मीको बसोबासका लागि नजिकैको अर्को घर भाडामा लिएकी थिइन् । आफ्नै घरमा बस्ने पूर्वराष्ट्रपतिले मर्मत खर्चबापत मासिक एक लाख रूपैयाँबाहेक अन्य रकम नपाउने भए पनि राष्ट्रपति भण्डारीले ती सुरक्षाकर्मीका लागि लिइएको घरका लागि मासिक दुई लाख रूपैयाँ घर भाडा माग गरेकी हुन् ।

पूर्वराष्ट्रपतिको सेवासुविधासम्बन्धी कार्यविधिमा आफ्नै घर भएकालाई घर मर्मतबापत मासिक एक लाख रूपैयाँ मात्र दिने व्यवस्था छ । तथापि, मौखिक रुपमा सरकारले सुरक्षा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई राख्न भाडामा लिइएको घरका लागि मासिक एक लाख रूपैयाँ (करबाहेक) दिने वचन दिएको थियो । तर यसबारे मन्त्रिपरिषद्ले निर्णय नगर्दै राष्ट्रपतिले थप एक लाख रूपैयाँ माग गरेकी छन् ।

घर भाडा माग्दै सहरी विकासमा उजुरी

पूर्वराष्ट्रपतिले पाउने सेवासुविधासम्बन्धमा कानून नै बन्न बाँकी छ । कानून अभाव भएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार नै उनीहरूलाई सेवासुविधा उपलब्ध गराइँदै आएको छ ।

यस सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय नगरेपछि भण्डारीका सुरक्षाकर्मी बस्ने घरको भाडा अहिलेसम्म भुक्तानी भएको छैन । घरको भाडा नबुझाएपछि घरधनी चम्पा सुवेदीले सहरी विकास मन्त्रालयमा यसबारे उजुरी दिएका छन् ।

घरभाडा भुक्तानी गर्नेबारे भण्डारीको सुरक्षा आवास खर्च व्यवस्थापनको लागि तोकिएको निकायबाट हालसम्म केही नभएको पाइएको छ ।

गृहको राय माग्दै सहरी विकास

घरधनी सुवेदीले भुक्तानी माग गर्दै सहरी विकास मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले यस विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गरी कार्यान्वयन गर्न गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

यसबारेमा मन्त्रिपरिषद्ले निर्णय गरे पूर्वराष्ट्रपति भण्डारीले आफ्नै घरमा बसेपनि कार्यविधिविपरित दुई लाख रूपैयाँ पाउनेछिन् । सरकारले घर नहुने पूर्व राष्ट्रपतिलाई मात्रै मासिक दुई लाख रूपैयाँ दिने व्यवस्था गरेको छ ।

यसअघि गृह मन्त्रालयले नै ०७४ मंसिर २४ गतेको मन्त्रिपरिषद्मा पूर्वराष्ट्रपतिको सुविधा सम्बन्धमा प्रस्ताव पेश गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीका सुरक्षाकर्मीलाई घरभाडा उपलब्ध गराउने विषयमा पनि नीतिगत निर्णय गरी टुंगोमा पुर्याउन सहरी विकास मन्त्रालयले सुझाएको छ ।

हाल पूर्वराष्ट्रपतिले मासिक ५० हजार रूपैयाँ भत्ता पाउँदै आएका छन् । सरकारले यातायात सुविधाका लागि एक थान गाडी र इन्धनसँगै त्यसको मर्मतका लागि मासिक २५ हजार रूपैयाँ पनि उपलब्ध गराउँदै आएको छ ।