NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आन्तरिक शुद्धीकरणको पर्खाइमा निजामती सेवा

तटस्थ, व्यावसायिक र सक्षम निजामती सेवाबाट मात्र मुलुकमा प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास सम्भव छ।शासन भनेकै समाजलाई मर्यादित र व्यवस्थित गर्न नीति, नियमको निर्माण र कार्यान्वयन गर्ने कार्य हो। सिद्धान्तमा जे जे भनिए पनि यथार्थमा नीति, नियम तर्जुमा र कार्यान्वयन दुबैमा निजामती सेवाको भूमिका अहम हुन्छ।

राजनीतिज्ञले नीति निर्माणका क्रममा जनताको प्रतिनिधित्त्व गर्दै उनीहरुका आकांक्षा र समस्यालाई छलफलमा ल्याई नीतिमा प्रतिविम्बित गराउने हो। प्रक्रियागत रुपमा वैद्यानिकताका लागि नीतिको अनुमोदन वा निर्णय राजनीतिले गरे पनि जनताका त्यस्ता आकांक्षा र समस्याको उचित सम्बोधनका लागि उपयुक्त नीति औजार डिजाइन गर्ने र तिनको पूर्ण कार्यान्वयन गरी सरकारप्रति नागरिक विश्वास र सन्तुष्टि अभिवृद्धि गर्ने काम निजामती सेवाले गर्छ।

नीति, नियम निर्माणको राजनीतिक प्रक्रिया प्राविधिक पक्ष तथा त्यसको प्रभाव र परिणाम भन्दा पनि वैचारिक आस्था र चुनावी लाभ हानीको दृष्टिकोणबाट बढि निर्देशित हुने गर्दछ। निजामती सेवाले विषयक्षेत्रगत दक्षता र विज्ञताका आधारमा तथ्यहरुको संकलन, प्रक्षेपण र विश्लेषण गरी नीति, नियमलाई जनता र समाजको दिगो हित अनुकुल हुने कुराको सुनिश्चितता गर्नुपर्छ। ज्ञान र संस्थागत स्मृतिको निरन्तरताका दृष्टिले पनि अस्थायी रुपमा छोटो अवधिका लागि आउने राजनीतिक नेतृत्त्वबाट अविच्छिन्न र दिगो सुधारको अपेक्षा गर्नु व्यवहारिक हुँदैन।

पछिल्लो समय नेपालको निजामती सेवा निकै कमजोर भएको अनुभूति गर्न थालिएको छ। यस्तो कम्जोर अवस्थाका संकेतका रुपमा राज्यकै अन्य संस्था, राजनीतिकर्मी, सञ्चारजगत, र सर्वसाधारण नागरिकको निजमती कर्मचारीप्रतिको व्यवहार र धारणालाई लिन सकिन्छ।आजको निजामती कर्मचारीको अवस्थाले ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छू भन्ने उक्तिलाई चरितार्थ गर्दछ। यद्यपि यो अवस्था निजामती कर्मचारी स्वयंले निम्त्याएका हो। हामी निजामती सेवाका मूल्य र आदर्शबाट चलेनौं। व्यक्तिगत स्वार्थ र लालचका लागि विज्ञता, वावसायिकता र तटस्थताबाट विचलित भयौं।

राजनीतिक महत्त्वकांक्षा र अधिकारको उन्मादलाई व्यवसायिकता, प्राविधिज्ञता र विवेकशीलताद्वारा अङ्कुश लगाउँदै राजनीति र प्रशासनबीच सन्तुलन र नियन्त्रणको सम्बन्ध राख्नु पर्ने हामी निजामती कर्मचारीहरु आफ्नो दायित्त्व र जिम्मेवारीबाट स्खलित हुँदै राजनीतिक नेतृत्त्वको बफादार अह्रौटे मात्र बन्यौं।उनको मान्छे भएको प्रमाणित गर्न मन्त्रीहरुसँग सिर्जनशील तर्कसम्म पनि गर्न छौड्यौं।

मन्त्रीका स्थायी सल्लाहाकार मानिने उच्च पदस्थ निजामती कर्मचारीले सल्लाह दिने हैन मन्त्रीले दिएका निर्देशन पालना मात्र गर्ने, अझ भनौ आफ्नो अधिकार क्षेत्रको विषयमा निर्णय लिनलाई समेत मन्त्रिको निर्देशन पर्खिने प्रवृत्ति विकास गर्यौं।त्यसैले निजामती सेवाको आजको अवस्था हाम्रै कारण निम्तिएको हो। र, यसमा सुधार पनि निजामती कर्मचारीहरुकै सामुहिक अभियानबाट मात्र सम्भव छ। संविधान जारी भएको झण्डै दशक वित्न लाग्दा पनि निजामती सेवालाई व्यवस्थित गर्ने संघीय निजामती सेवा ऐन मात्र पनि ल्याउन नसकेको नेपालको राजनीतिक तहबाट निजामती सेवामा सुधारको अपेक्षा गर्नु अतिसकारात्मकतावाद रुपी आत्मरती मात्र हुनेछ।

मुलुकमा विगतमा भएको सशस्त्र द्वन्द्वको कठिन अवस्थामा करिव डेढ दशकसम्म स्थानीय स्तरमा जनताको सन्निकटमा राजनीतिको उपस्थिति शून्य प्राय रह्यो। उल्टै राजनीतिक नेतृत्त्व (द्वन्द्वरत दुबै पक्षका) लाई जनताले सुरक्षा दिनुपर्ने अवस्था रह्यो। तर, यस्तो अवस्थामा पनि निजामती सेवाले उच्च सुरक्षा जोखिमका वावजुद तल्लो तहसम्म उपस्थित भएर स्थानीय स्तरमा जनतालाई सेवा दिई नै रह्यो।अझ भनौं उक्त अवधिमा निजामती सेवाले स्थानीय सरकारमा राजनीतिक भूमिका पनि आफैं निर्वाह गर्यो।

पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकी विघटन भएपछि सिर्जित संकटपूर्ण राजनीतिक अवस्थामा वि।सं। २०७० मा दोश्रो संविधानसभाको निर्वाचन गराउने गहन जिम्मेवारी आफूहरुबाट कठिन हुने ठानी तत्कालिन राजनीतिक दलहरुको सर्वसहमतिले बहालवाला प्रधान न्यायाधीशको नेतृत्त्वमा पूर्व निजामतीहरुको सरकार बनाएर जिम्मेवारी सुम्पेको र सम्भवता नेपालको निर्वाचनको इतिहासमा सबैभन्दा शान्तिपूर्ण र सामान्य रुपमा निर्वाचन सम्पन्न गरी राजनीतिक नेतृत्त्वलाई सत्ता हस्तान्तरण गरेको दुर्लभ र असाधारण इतिहास हामीसँगै छ।यसबाट नेपालको निजामती सेवाको जनतासँगको सम्बन्ध र मुलुकको हितका लागि कार्य गर्ने क्षमता कस्तो रहेको छ भन्ने प्रस्ट हुन्छ।

यस परिवेशमा राज्य सञ्चालन, नागरिक सेवा र मुलुकको विकासको मियोका रुपमा रहेको नेपालको निजामती सेवाको खस्कँदो छवी सुधार गर्न र यसलाई सक्षम, व्यवसायिक र विशेषज्ञ सेवाका रुपमा पुनर्स्थापित गर्न आज सबै निजामती कर्मचारीहरु स्वयंमले सामुहिक रुपमा देहायका कदमहरु अभियानका रुपमा चाल्नु जरुरी छः

१. राजनीति निजामती सेवाको अभिभावक हो भन्ने तथ्य स्वीकार गरौं, यसले कर्मचारीका रुपमा कुनै व्यक्ति विशेषप्रति भिन्न व्यवहार गर्दैन, अभिभावकका लागि आफ्नो परिवारका सबै सदस्य समान हुन्छन्, कसैलाई काखा र कसैलाई पाखा गर्ने कुरा अभिभावकले सोच्न पनि सक्दैन भन्ने विश्वास गरौं। यदि यस्तो विश्वास गर्दा गर्दै पनि अभिभवक स्वयंबाट विश्वासघात हुन्छ भने त्यो विश्वासघात गर्नेको समस्या हो भनेर त्यसलाई वेवास्ता गरौं।

२. राजनीतिक नेतृत्त्वले सपना देख्ने, त्यस्तो सपना जनतालाई बाँड्ने र निजामती कर्मचारीको विज्ञतालाई प्रयोग गरी त्यस्ता सपनालाई नीति, कार्यक्रम र योजनामार्फत व्यवहारमा रुपान्तरण गर्ने हो।

त्यसैले राजनीतिक नेतृत्त्वको सकारात्मक सोच र योजनाको कार्यान्वनयका लागि हामी सबैले कुनै वैचारिक आस्था वा व्यक्तिगत गुणका हिसावले पूर्वाग्रही नभई आफ्नो विज्ञता, क्षमता र अनुभवका आधारमा सहयोग गरौं। तर, गलत गर्न खोजेको अवस्थामा तथ्य र कानूनको सहारामा त्यस्तो कार्यको परिणामका बारेमा बुझाउने कोसिस गरौं। बुझेर पनि कानून प्रतिकुल तथा राज्य र नागरिक हित विपरितको कार्य गर्न राजनीतिक नेतृत्त्वले दबाब दिन्छ भने नेतृत्त्व जुनसुकै तहको किन नहोस् त्यस्तो दवावमा परेर कार्य नगरौं।त्यसको परिणाम तत्काल नमिठो होला तर दिर्घकालमा गर्व र आत्मसन्तुष्टिको स्रोत बन्नेछ।

३. निजामती कर्मचारीका रुपमा कार्य गरिरहँदा राजनीतिक आस्थारुपी कोट भिरेरै गर्नु भनेको निजामती सेवाको व्यवासायिकता माथिको चरम उपहास हो।राजनीति गर्ने हो भने निजामती सेवा छाडौं वा निजामती सेवामा काम गर्ने हो भने राजनीति छाडौं। दोस्रो विकल्प छैन।

लोक सेवाको योग्यता परीक्षामा अब्बल ठहरिएर निजामतीमा छिरेर स्थायी वेतनधारी राजनीतिक कार्यकर्ता बन्न खोज्नु सरासर अनैतिक र सदाचार विपरित कार्य हो।पेशागत अधिकार र सामुहिक हित संरक्षणका लागि गैर राजनीतिक तवरले संगठित पहल गर्नु अरु पेशाकर्मी जस्तै निजामती कर्मचारीको पनि अधिकार हो। तर निजामतीमा बसेर तलव र पेन्सनले घर परिवार चलाउँछु तर कर्म चाहीं राजनीति गर्छु भन्ने सोच दिमागबाट उतारौं र पूर्णतः विशुद्ध सेवाकर्मीका रुपमा आफूलाई रुपान्तरित गरौं।

४. हालको जागिर खाने भन्ने मानसिकताबाट माथि उठेर जागिर गर्नेू भन्ने मानसिकतामा आफूलाई रुपान्तरण गरौं। संगठनले आफूलाई सुम्पिएको जिल्मेवारी इमानदारीपूर्वक सम्पादन गरौं। आफ्नो जिम्माको नियमित काम गरेकै आधारमा अतिरिक्त सुबिधा, लाभ, पुरस्कार वा लोकप्रीयताको अपेक्षा नराखौं।

५. कुनै पनि पदका लागि सिर्जना गरिएका जुनसुकै दरवन्दी उत्तिकै महत्त्वपूर्ण छन्, आफूलाई तिनीहरुमध्ये जुन जिम्मेवारी दिए पनि सन्तुष्टिपूर्वक उच्च मनोवल र उत्प्रेरणाका साथ कार्य गर्छु भन्ने प्रण गरौं। सरुवाका लागि राजनीतिक नेतृत्त्वको ढोका चाहर्न र राजनीतिक नेतृत्त्वलाई अर्को सहकर्मीले सहयोग गरेन म सहयोग गर्छु वा उ हजुरको मान्छे होइन, हजुरको पार्टिको होइन म चाहीं हजुरकै खाँटी कार्यकर्ता हो भन्ने जस्ता सफेद झुठ र धुर्ततापूर्ण भ्रम छरेर व्यक्तिगत स्वार्थ पूर्तिका लागि निजामती सेवालाई तहसनहस बनाउने निकृष्ट व्यवहार कहिल्यै नगरौं।

एकले अर्कोको असल नियतको कामको समर्थन र सर्हाना गरौं। जटिलतम विषयमा वा असामान्य परिस्थितिमा काम गर्नु पर्दा एक आपसमा सरसल्लाहको आदानप्रदान र अनुभव तथा विज्ञताको साझेदारी गरौं। यसक्रममा पेशागत धर्मको ख्याल गर्दै सबै एकअर्काप्रति इमानदार बनौं।

६. कार्यालयको सम्पत्ति, कानूनी अधिकार र पदीय शक्ति तथा हैसियतको निजी स्वार्थ र हितमा कहिलै प्रयोग नगरौं। पेशागत आचारसंहिता, सदाचार, नैतिकता र इमानदारीमा कत्ति पनि नचुकौं। भ्रष्टाचार र अनियमिततामा आफू पनि संलग्न नबनौं र अरुलाई पनि संलग्न हुन नदिऔं। यसका विरुद्ध निरन्तर बोलौं, अरुलाई पनि बोल्न लगाउँ र नियामक निकायलाई पूर्वक्रियाशील भई सहयोग गरौं।

७. कानूनले निश्चित अधिकार र जिम्मेवारी सुम्पेको हरेक तहको कर्मचारी आफ्नो कामको सम्बन्धमा उत्तिकै जिम्मेवार हुन्छ। आफ्नो कामको हिस्साको उत्तरदायित्त्व आफू स्यवंमले लिनु पर्छ। उक्त काम गलत ठहर भए कानून बमोजिमको सजाय पनि स्वयंले पाउने हो, काम गर्न दबाव दिने वा प्रभाव पार्ने व्यक्तिसँग गल्ती बापतको सजाय साझेदारी गर्न सकिन्न।

त्यसैले जुनसुकै तहको किन नहोस् निर्देशन, आदेश, दवाव वा प्रलोभनको भरमा मात्र कुनै काम नगरौं। उक्त काम सम्बन्धी कानूनी व्यवस्था र कामको सम्भावित परिणामको तथ्यगत विश्लेषणका आधारमा उक्त काम गर्नु ठिक छ भनी आफू स्वयं विश्वस्त भएर मात्र कार्य गरौं।

८. याद राखौं, हामीले पाउने तलव सुविधा जनताले राजस्वमार्फत व्यहोरेका हुन्। हामिले प्रयोग गर्ने अधिकार जनताले नै प्रतिनिधिमार्फत कानून बनाएर हामिलाई प्रयोग गर्न दिएका हुन्। त्यसैले हाम्रा वास्तविक मालिक जनता वा सेवाग्राही हुन्।

त्यसैले जनतारसेवाग्राहीलाई शासन होइन सेवा गरौं। उनीहरुसँग शिष्ट, सभ्य र नम्र भएर सम्मानपूर्ण व्यवहार गरौं।सेवामाथि उनीहरुको सहज पहुँच सुनिश्चित गरौं।गुनासा र प्रतिक्रिया सुनौं र तिनो सम्बोधन गरौं। हुने कामलाई तुरुन्तै गरिदिऔं र नहुने कामलाई के कारण हुँदैन वा हुनलाई के गर्नु पर्छ भन्ने सम्बन्धमा स्पष्ट बुझाएर पठाउने गरौं।

९. तीब्र गतिमा रुपान्तरित भइरहेको निजी क्षेत्रलाई मार्गदर्शन र नियमन गर्न तथा सेवा प्रवाहमा यस्तो निजी क्षेत्र तथा अन्य गैर सरकारी क्षेत्रसँग गुणस्तर, गति, मूल्य र व्यवहारमा प्रतिस्पर्धा गर्न सक्ने गरी निजामती सेवाको विकास गर्न आफूलाई नवीनतम ज्ञान, प्रविधि र सीपले सुसज्जित गरिरहन व्यक्तिगत र संस्थागत पहल गरौं। र, आ-आफ्नो कार्यशैलीमा सिर्जनशीलता, नवप्रवर्द्धन र स्वःप्रयत्नको उपयोग गरौं।

१०. लोकप्रियतावाद निजामतीको गुण होइन। कुशल नीति, योजना र कार्यक्रमको डिजाइन र तिनको सफल कार्यान्वयन निजामतीले गरे पनि सोको प्रगति, परिणाम र परिवर्तनको जस र अपजस दुबै राजनीतिमा जाने हो। त्यो भारी निजामतीले बोक्न खोज्नु पनि हुँदैन किनकी उसको धर्म कर्म गर्ने हो।

त्यसैले त उसलाई कर्मचारीू भनिएको हो। यो सत्यलाई सबैले मनन् गरौं र आफूमा भएको योग्यता, अनुभव र विशेषज्ञताको इमानदार प्रयोग गरी जिम्मेवारीमा रहेको अन्तिम क्षणसम्म पनि अविच्छिन्न रुपमा काम गरौं।र, वदलामा लोकप्रियता होइन आत्मसन्तुष्टि प्राप्त गर्ने कोशिश गरौं।

(दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)