NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

एकै व्यक्ति दुई चर्चित मुद्दाका अभियुक्त

देशका दुई ठूला संगठित अपराधका घटनामा एकै व्यक्तिको संलग्नता देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर ललितानिवास जग्गा हिनामिनामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी बुझाएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई परिसरबाटै नियन्त्रणमा लिएको छ ।

ललितानिवास परिसरको दुई रोपनी जग्गा उनको नाममा नामसारी भएको भेटिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए । तीन महिनादेखि फरार रहेका तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएका थिए ।

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए । शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए ।

ललितानिवास प्रकरणमा पनि उनको संलग्नता रहेको प्रहरी दाबी छ । ‘के आधारमा उनले दुई रोपनी जग्गा पास गरे भन्ने विषयमा हाम्रो अनुसन्धान केन्द्रित छ,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘किर्तेमा कुनै पक्षलाई सहयोग गरेको हाम्रो आकलन छ ।’ काठमाडौंको नयाँ बजारका उनी पछिल्लो समय स्वयम्भूमा डेरा लिएर बस्दै आएका थिए । तुलाधर पक्राउ परेसँगै ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । सिआइबीले संगठित अपराध तथा लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष