पुरानो दोस्ती सम्झदै रायमाझी भेट्न झ्यालखाना पुगे देवेन्द्र पौडेल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा छोरा सन्दीपसहित सांसद टोपबहादुर रायमाझी सुन्धारास्थित केन्द्रीय झ्यालखानामा कैदी जीवन विताइरहेका छन् ।
गत बैशाख ३१ गते बुढानिलकण्ठबाट पक्राउ पर्दा रायमाझीको तस्विर त्यतिबेला खुब भाइरल बन्यो ।
नेपाली नागरिकलाई शरणार्थी बनाउने अभियोग लागेर फरार रहेका उनी पक्राउ पर्दा हँसिलो मुस्कानसहित हात हल्लाउँदै मिडियासामु उपस्थित भएका थिए ।
सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाएको एक महिना बित्यो । तर उनको पार्टी नेकपा एमालेका नेता तथा सांसद कोही पनि रायमाझीलाई भेट्न जेल पुगेका छैनन् ।
गृहजिल्ला अर्घखाँचीका शुभचिन्तक र आफन्तबाहेक रायमाझीका बाबुछोरालाई भेट्न खासै कोही पुग्दैनन् ।
तर एक साताअघि सांसद तथा माओवादी नेता देवेन्द्र पौडेल रायमाझीलाई भेट्न केन्द्रीय झ्यालखाना सुन्धारा पुगे ।
माओवादी नेता देवेन्द्र पौडेल साथीको हिसाबले भेट्न पुगेका बताउँछन् ।
जेलमा पुग्दा रायमाझीको अनुहारको चमकमा कुनै टसमस नदेखिएको पौडेलले बताए । पूर्वमन्त्री समेत रहेका पौडेल भन्छन्, ‘उहाँ फ्रेस हुनुहुन्थ्यो । सञ्चो विसञ्चो सोधेर फर्किएँ ।’
हितैसी मित्रको नाताले रायमाझीको सञ्चो विसञ्चो बुझ्न जेल पुगेको भन्दै पौडेलले नेपालवाचसँग भने, ‘उनी मेरा पुराना साथी हुन् । साथीको नाताले सञ्चो विसञ्चो बुझ्न गएको थिएँ । उहाँ फ्रेस हुनुहुन्छ ।’
पौडेलले रायमाझीका बाबुछोरालाई नै भेटेको र दुवैको अवस्था राम्रो भएको खबर सुनाए ।
पौडेलले थप भने, ‘बीचमा जाली लगाइएको थियो । जाली बाहिर टाढा बसेर अनुहार देखाएर सञ्चोविसञ्चो सोधेर फर्किएँ । सँगै प्रहरी हुने भएकाले धेरै कुरा भएन ।’
महिनादिनको जेल बसाइले दुब्लाए खाँण, मञ्जु तीनपटकमात्रै पुगिन् भेट्न
प्रतिक्रिया