NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भारतका वर्षा प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द

एजेन्सी । लगातारको वर्षाका कारण भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको त्यहाँका स्थानीय सरकारहरूले बिहीबार घोषणा गरेका छन् ।

दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाचल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लाहरूमा विगत २४ घण्टादेखि भारी वर्षा भइरहेको छ र आगामी केही दिनसम्म पनि भारी देखि अति भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।

तेलङ्गाना सरकारले भारी वर्षाका कारण राज्यका सबै शैक्षिक संस्थाहरूमा बिहीबारदेखि दुई दिनका लागि बिदा दिने निर्णय गरेको राज्यका शिक्षामन्त्री सबिता रेड्डीले ट्वीट गरेकी छिन् ।

तेलङ्गनाको राजधानी हैदरावादमा बिहीबार बिहान पानी जमेका कारण लामो ट्राफिक जाम भएको बताइएको छ ।

यस्तै, लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको जोखिमका कारण हिमाञ्चल प्रदेशका केही भागमा जुलाई २० देखि २२ सम्म सबै विद्यालय र शैक्षिक संस्थाहरू बन्द गरिएको छ ।

विगत केही दिनदेखि आएको भीषण बाढीलाई ध्यानमा राख्दै महाराष्ट्र राज्यका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरेको हो । विशेष गरी राइगढ जिल्ला, आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन् ।

राइगढमा पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै कैयौँ मानिस अझै फसेको आशङ्का गरिएको छ ।