NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

थाइल्याण्डको पटका गोदाममा विस्फोट, नौ जनाको मृत्यु, दर्जनौँ घाइते

बैङ्कक । थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका एक वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले एएफपीसँग भने, ‘सुन्गाई कोलोकमा पटाका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन् ।

उनले भने, ‘अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ ।’

स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ ।

गोदामबाट १०० मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सन टेसेनले भने, ‘म घरभित्र आफ्नो फोनसँग खेलिरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनेँ, अनि मेरो पूरै घर हल्लियो । त्यसपछि मैले मेरो छानामा भ्वाङ परेको देखेँ । मैले बाहिर हेरेँ र मैले घर भत्किएको र जताततै मानिसहरू भुइँमा लडिरहेको देखेँ । त्यहाँ अस्तव्यस्त अवस्था थियो ।’

थाइल्यान्डको निर्माण क्षेत्रमा कमजोर सुरक्षा व्यवस्था अपनाएको पाइन्छ, जसका कारण घातक दुर्घटनाहरू सामान्य हुने गर्छन् ।

गत महिना बैङ्ककमा निर्माणाधीन सडक पुल भत्किँदा दुई जनाको मृत्यु भएको थियो ।