NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

गुठिचौरमा रक्सी पिउन लाइसेन्स अनिवार्य, नियम उल्लंघन गरे के हुन्छ?

काठमाडौं। जुम्लाको गुठिचौर गाउँपालिकाको एउटा निर्णयले भदौ १ देखि त्यहाँ सहजै रक्सी दिदैन ।

तपाईलाई रक्सी खान मन लाग्न सक्छ, त्यो भन्दा अघि तपाईसँग रक्सी पिउने लाइसेन्स हुन अनिवार्य हुन्छ । गुठीचौर भौगोलिक रुपमा अति सुन्दर छ । यसलाई पर्यटकीय संभावना बोकेको गाउँपालिकाको रुपमा लिइन्छ ।

सबैले रुचाउने रारा ताल जान चाहनेहरु यही गाउँपालिका हुँदै जानुपर्छ । त्यस्तो सुन्दर गाउँपालिकामा अनियन्त्रित मदिरा आतंक बढेपछि गाउँपालिकाले लाइसेन्स विना मदिरा सेवन निषेध गरेको हो ।

उक्त गाउँपालिकाले स्वीकृत गरि लागु गरेको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० अनुसार त्यहाँ बसेर रक्सी खान भदौ १ अगाडि नै सेवन कार्ड लिनु पर्ने हुन्छ ।

किन ल्याइयो यस्तो नियम?

यस्तो व्यवस्था लागु गर्नपर्नुको कारण उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा भन्छन्, ‘अनियन्त्रीत मदिरा सेवले गाउँघरमा आपराधिक क्रियाकलाप बढ्न थाले । गाउँमा आतंकवादी, भत्सना योग्य र आपराधिक क्रियाकलापमा बढवा आयो । घर देखि निर्माणका साम्रागीहरुमा आगजनी हुन थाल्यो। एकपछि अर्को त्रासदी घटनाहरु घट्न थाले।’

‘मदिरा गाउँमा संस्कारकारुपमा बिकास हुन थाल्यो ।  अनियन्त्रीत मदिरा सेवनले महिला हिंसाका घटनामा उल्लेख्य बृद्धि भयो । साँझपख अबेरसम्म गाउँपालिका भित्र मदिरा सेवन गरेका मान्छे भेटिन थाले । त्यसले गाउँमा आएका नयाँ मान्छेहरुमाथी हातपात तथा लुटपाट पनि हुन थाल्यो। त्यही कारण यो कार्यविधि ल्याएर मदिरा सेवनलाई व्यवस्थित बनाउन खोजेका हौँ, ’ बुढाले भने।

वेथिती हटाएर सभ्य समाज निर्माणमा गाउँपालिका लाग्ने अध्यक्ष बुढाको लक्ष्य छ ।

कसरी गरिँदै छ यसलाई व्यवस्थित?
–रक्सी सेवन गर्नेहरुले भदौ १ अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनुपर्ने ।
–पाहुना आएका व्यक्तिले अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने ।
– रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य ।
– इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्नु पर्ने ।
–सार्वजनिक स्थलबाट ५ सय मिटर टाढा मात्र रक्सी पसल हुनुपर्ने ।
–रक्सी पसलमा रक्सी मात्र हुनुपर्ने । अरु सामान बेच्न नपाउने ।
–इजाजत पत्र प्राप्त पसलले बिक्री गरेको मदिराको अभिलेख दुरुस्त राख्नु पर्ने ।
– मदिरा होलसेलले बिहान ७ बजेदेखि ५ बजेसम्म बिक्री गर्न पाउने ।
– खुद्रा पसलले बेलुका ६ बजेदेखि राति ९ बजेसम्ममात्र बिक्री गर्न पाउने ।
– कार्डबाहकले दैनिक एउटा बियर वा १८० मिलिलिटर मात्र पिउन पाउने ।

कार्ड शुल्क कति?
कार्डको मूल्य वार्षिक ५ सय र यसको नवीकरण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । अतिथि कार्डका लागि प्रत्येक दिन १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

नियम उल्लंघन गरे के हुन्छ ?

सेवन कर्ताको हकमा– गाउँपालिकाको नियम नमाने पहिलो पटक १ हजार जरिवाना गरिने छ । पटक–पटक नियम तोडेमा हरेक पटक २ हजारका दरले जरिवाना बढ्दै जाने छ ।

बितरकको हकमा– मदिरा बिक्री वितरण गर्नेले नियम तोडेमा पहिलो पटकलाई १० हजार र त्यसपछि पटकैपिच्छे २० हजारका दरले जरिवाना बढ्दै जानेछ ।

अध्यक्ष बुढा कार्यविधि कार्यन्वयमा निकै चुनौती रहेको बताउँछन् । तर उनी यसलाई जुनसुकै हालतमा पनि कार्यन्वयन गराएरै छाड्ने अडानमा छन् ।

भदौ १ बाट सर्च अप्रेसन
गाउँपालिकाले मदिरा (रक्सी) नियन्त्रण कार्यविधिको कार्यन्वयनका लागि सर्च अपरेसन चलाउने जनाएको छ।

अध्यक्ष बुढाकाअनुसार जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय र गाउँपलिकाको समन्वयमा व्यापकरुपमा सुरक्षार्की परिचालन गरिने छ। यस्तै अवैधरुपमा तयार पारिएको घरेलु मदिरालाई नष्ट गरिने उनले बताए।

अध्यक्ष बुढाले गाउँपालिका भित्र उत्पादन हुने मदिरामा पुर्ण रोक लगाउने जानकारी दिए।