कार्यालयको काम छाडेर लोकसेवा पढाउँछन् ‘हाकिम’हरू

काठमाडौं ।सेवा प्रभावित हुने गरी सरकारी अधिकृतहरू कार्यालय समयमा समेत लोकसेवा कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट धाउन थालेका छन् । कामै नगरेर तथा बिदा लिएर लोकसेवा तयारीको कक्षा लिन जाने सचिवसम्मका ७० अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
कार्यालयको काम र सेवाप्रवाहमा असर नपर्ने गरी मापदण्डका आधारमा स्वीकृति लिएर कार्यालय समयबाहिर यसरी पढाउन पाउने व्यवस्था छ । तर, अनुमति नलिई इन्स्टिच्युटमा पढाउनेहरूलाई मन्त्रालयले स्पष्टीकरण सोध्न तथा कारबाही गर्न सक्छ । अनुमति नलिई लोकसेवा कक्षा लिने कर्मचारीहरूविरुद्ध २५ माघ ०७९ मा अख्तियारमा उजुरी परेको थियो । अख्तियारले उजुरी सम्बन्धमा छानबिन र आवश्यक कारबाही गरी त्यसको जानकारी गराउन ६ जेठमा मन्त्रालयलाई उजुरीसहित पत्र काटेको थियो । अख्तियारका प्रवक्ता भोला दाहालले उजुरी परेपछि सम्बन्धितहरूलाई आवश्यक कारबाही गर्न संघीय मामिलालाई लेखी पठाइएको बताए ।
अख्तियारको पत्रपछि मन्त्रालयले केही दिनअघि त्यस्ता कर्मचारीलाई स्पष्टीकरण सोधेको हो । स्रोतका अनुसार केही कर्मचारीले स्पष्टीकरण बुझाइसकेका छन् । ‘केहीले स्पष्टीकरण पठाइसकेका पनि छन्, स्पष्टीकरण आउने क्रम जारी छ,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई कार्यालय समय प्रभावित नहुने गरी स्वीकृति लिएर प्राज्ञिक काम गर्न पाइने कानुनबमोजिमकै कुरा भए पनि पूर्वस्वीकृति नलिईकन काम गरेको उजुरी परेपछि यस विषयमा सोधपुछ गरिएको बताए ।
पूर्वसचिव शरदचन्द्र पौडेलले कार्यालय समयमा इन्स्टिच्युटमा गएर पढाउनु गम्भीर अनियमितता नै भएको बताए । ‘कार्यालय समयबाहेक फुर्सदको समयमा अनुमति लिएर पढाउनुलाई स्वाभाविक मान्नुपर्छ । तर, नीतिगत तहमा रहेका सहसचिव, सचिवको त कार्यालय समय भन्ने नै नहुने भएकाले उनीहरूले निजी इन्स्टिच्युटमा गएर पढाउनु उपयुक्त होइन,’ उनले भने, ‘यो विषयलाई सरकारले नियमन गर्नु आवश्यक छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया