NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

सुन तस्करीमा चिनियाँ गिरोह नै संलग्न

काठमाडौं ।राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धानमा सय केजी सुन तस्करीमा चिनियाँ गिरोह संगठित रूपमै संलग्न रहेको देखिएको छ । १० जना चिनियाँको संलग्नता खुलिसकेको छ । एकजना पक्राउ परेका छन् भने बाँकीलाई कालोसूचीमा राखेर खोजी भइरहेको छ ।

हङकङबाट सुन ल्याउनेदेखि नेपालमा त्यसको व्यवस्थापनसमेतमा चिनियाँहरूको संलग्नता भेटिएको स्रोतको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्‍याउने गरी भएको यो तस्करीमा चिनियाँहरूको प्रमुख भूमिका अझै खुलिसकेको छैन, तर तस्करी व्यवस्थापनमा भने उनीहरूको संलग्नता खुलेको छ । यसका लागि विभिन्न तह र भूमिकामा चिनियाँहरू देखिएका छन् ।

‘सुन तस्करीमा चिनियाँहरू संगठित रूपमै लागेको देखिन्छ । केहीलाई कालोसूचीमा राखिएको छ । उनीहरू नेपालमै रहेको हाम्रो अनुमान छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने । यद्यपि, विभागले अहिलेसम्म तस्करीमा संलग्न चिनियाँहरूको लहरो भने पहिल्याउन सकेको छैन ।

सय किलो सुन बरामद भएको भोलिपल्टै विभागले चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा छापा हानेको थियो, त्यसको भोलिपल्ट ४ साउनमा उनलाई पनि विमानस्थलबाट पक्राउ गरिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।