NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

विज्ञान पढेर अध्यात्म रोजेका चन्द्रेश यसरी आइपुगेका थिए नेपाल

आध्यात्मिक गुरु स्वामी चन्द्रेश महाराजको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित चन्द्रेशको डायलासिसको क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो ।

करिब ५६ वर्ष नेपालमा बिताएका उनले बूढानीलकण्ठमा आश्रम तथा स्कुल सञ्चालन गरी धार्मिक, अध्यात्मिक तथा शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने पवित्र अभियान सञ्चालन गरेका थिए । भारतको पश्चिम बंगालमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका उनले अहिलेको शिक्षा प्रणालीमाथि खोट देखाउँदै सञ्चालन गरेको त्रिनीति शिक्षालाई धेरैले अनुकरणयोग्य भन्दै आएका छन् ।

विज्ञानका विद्यार्थी चन्द्रेशको अध्यात्मतर्फको आशक्ति, गृहस्थ त्याग, नेपाललाई कर्मभूमि बनाउनुका पछाडि रोचक सन्दर्भ छन् । जुन उनले करिब ६ वर्षअघि नेपालवाच प्रतिनिधिलाई यसरी सुनाएका थिए :

000

मेरो जन्म पूर्वी बंगालमा भएको हो । त्यतिबेला भारत विभाजित नभएकाले मेरो जन्मभूमि भारतमा नै पथ्र्यो, अहिले यो क्षेत्र बंगलादेश बनेको छ । म जमिनदार परिवारमा जन्मिएको हुँ । बुबा–आमाको म जेठो छोरा । मेरो बुबा पढेलेखेको हुनुहुन्थ्यो । आर्मी अफिसमा काम गर्नुहुन्थ्यो । त्यसैले मलाई कहिल्यै अभाव महसुस भएन । पछि राजनीतिक कारणले भारत विभाजित भयो र हामीले निकै झमेला भोग्नुपर्यो । हाम्रो परिवार पूर्वी बंगालबाट खेदियो । त्यसपछि हामी पश्चिम बंगाल बस्न थाल्यौं ।

मेरो शिक्षा–दीक्षा कोलकतामा भएको हो । मैले विज्ञान विषय लिएर पढेको थिएँ । विज्ञान विषय लिएर पढे पनि मेरो रुचि भने साहित्यमा थियो । मैले उतिबेलै साहित्य रचना गरेको थिएँ ।

विज्ञान विषय त मेरो पढाइ थियो । रुचिचाहिँ साहित्यमा थियो । विज्ञान र अध्यात्मविपरीत कुरा हुँदै होइनन्, बरु पर्यायवाची कुरा हुन् । विज्ञानमा जस्तै अध्यात्ममा पनि प्रुफ छ । प्रुफबिनाको त केही पनि हुँदैन । रह्यो कुरा अध्यात्मले विज्ञानको एउटा विद्यार्थीलाई कसरी आकर्षित ग–यो । विज्ञान मेरो पढ्ने विषय थियो । तर मेरो व्यक्तिगत रुचि र विचारशीलता साहित्य र दर्शनमा थियो । म उच्चकोटीका साहित्यकारहरूको विचारधाराबाट औधी प्रभावित थिएँ । अर्को कुरा, मानिसमा देखिने असन्तुष्टिको भावनाले मलाई मानव जीवनबारे अध्ययन गर्ने सोख थियो । मानव जीवनबारे अध्ययन गर्दै जाँदा मलाई अध्यात्मले तान्यो । त्यसपछि म अध्यात्मतिर लागेँ ।

विद्यार्थी जीवनमा म मित्रप्रेमी थिएँ । मेरा धेरै साहित्यिक साथीहरू थिए । पेन्टिङ, म्युजिक, लेखनकलाका साथै ममा तर्कशीलता पनि थियो । स्टोरी र नोबेल लेखनमा पनि मेरो राम्रो दख्खलता थियो । व्यावहारिक शिक्षा हासिल गर्नका लागि म गाउँ गाउँ पुगेर त्यहाँको जीवन नियाल्थेँ । अवहेलित र दुःखी मान्छेहरूको भावना, समस्याबारे बुझ्थेँ । मानिसहरू महिनाभरि काममा व्यस्त हुन्थे र सट्टामा महिनामा केही रकम लिएर गुजारा चलाउँथे । यतिमा मेरो सन्तुष्टि छँदै थिएन ।

मेरा एकजना साहित्यमा पुरस्कृत भएका साथी थिएँ । उनलाई मेरो भावना के छ, राम्रोसँग थाहा थियो । त्यतिबेला मेरो नाम अरबिन्द घोष थियो । उनले मलाई एक जना व्यक्तिलाई भेटाइदिने कुरा गरे । मेरा साथीले भेटाइदिएका व्यक्ति बहुत् सुन्दर योगी पुरुष हुनुहुन्थ्यो । उहाँले मलाई चिहानमा लिएर जानुभयो । त्यो धेरै पुरानो थियो । कोही मान्छे डिस्टर्व गर्न नजाने भएर हामी त्यहाँ गएका थियौं । उहाँले मलाई त्यहाँ पहिले ब्रह्म चक्रको बारेमा ज्ञान दिनुभयो । पञ्चतत्त्व कहाँबाट उत्पन्न भयो भन्नेबारे बताउनुभयो । जीव विकास कसरी भयो भनेर बताउनुभयो ।

मनुष्यको कर्तव्य के छ भनेर पनि सम्झाउनु भयो । मानवीय जीवनमा भौतिक, मानिसक र अध्यात्म अस्तित्त्व भएको र अध्यात्मबिना मानिस कहिल्यै सुखी हुन नसक्नेलगायत कुरा उहाँले प्रष्ट पार्नुभयो । योगबारे पनि भन्नुभयो । उहाँले मलाई योग सिकाउने भनेपछि राजयोगमा दीक्षा दिनुभयो । त्यसपछि म त्यसमा अभस्त हुन थालेँ । म विभिन्न ठाउँमा ध्यान गर्न थालेपछि आनन्द महसुस हुन थाल्यो । त्यसपछि जीवनको उद्देश्य के हो भनेर बुझेँ र घर छाडेँ ।

मलगायत अरू साथीलाई पनि अध्यात्मले तानिसकेको थियो । त्यसैले साथीसँगै हामीलाई योग सिकाउने गुरुले सञ्चालन गरेको विभिन्न ट्रेनिङ क्याम्पमा सहभागी हुन थाल्यौं । त्यसपछि मेरो ज्ञानको दायरा थप फराकिलो बन्दै गयो । समाज परिवर्तन गर्नुपर्ने अनुभूत हामीलाई यो क्रममा अझै बढी भयो र हामी यसमा खरो उत्रन पुग्यौं । यही क्रममा भारत वर्षको भ्रमण गरेँ । मुम्बईको कोयनामा भूकम्पले ठूलो तहस नहस भयो, त्यहाँ पुगेर सेवा गर्यौं । पछि योग विद्यामा आचार्य गरेँ । त्यसपछि बनारस पुगेर सन्यास गरेँ र योग र अध्यात्मबारे विभिन्न ठाउँमा प्रवचन दिन थालेँ । यो क्रममा म भारत वर्षको अधिकांश ठाउँ पुगेको थिएँ ।

मेरो बुबा–आमाको पनि धर्मकर्ममा आस्था थियो । यद्यपि, मैले घर छाड्दा उहाँहरू खुसी हुनुहुन्थेन, निकै दुःखी हुनुहुन्थ्यो । स्वभाविक हो, जेठो छोराले घर छाडोस् भन्ने कसैको पनि चाहना हुँदैन । त्यसैले उहाँहरूले मलाई धेरै सम्झाइ–बुझाइ गर्नुभयो । यद्यपि, म कसैको कुरा सुन्ने पक्षमा थिइनँ । त्यसैले मैले घर बस्न मानिनँ र गृह त्याग गरेँ । उहाँहरूले मलाई खोज्न पुलिस रिपोर्ट नै गर्नु भएको थियो । पुलिसले खोज्न थालेपछि म बाध्य भएर घर गएँ । तर, घर बस्न सकिनँ । बुवाआमालाई कन्भिन्स गर्न पनि सकिनँ । अध्यात्म र योगको आन्दमयी पक्षले तानिरह्यो र १९ वर्षमा दोस्रो पटक घर छाडेँ ।

त्यसपछि म नेपाल आएँ । नेपाल आएर म ध्यान र योगमा लीन हुन थालेँ । धेरै मानिस मेरोमा आउने प्रवचन सुन्ने , भक्ति गर्थे । पछि आमाले कहाँबाट यो कुरा थाहा पाउनु भएछ । उहाँले घर फर्कंने सन्देश पठाउनुभयो । आमाको सन्देश पाएलगत्तै म २० वर्षपछि घर फर्किएँ । बुबा बितिसक्नु भएको रहेछ । मेरा भाइ/ बहिनीका छोरा–छोरी भइसकेका थिए । लामो समयपछि घर फर्केको थाहा पाएपछि धेरै मानिस मलाई हेर्न आएका थिएँ । मैले पनि प्रवचन दिएँ । सबै मानिस मसँग खुसी भएँ, आमा त बहुत खुसी हुनुभयो ।

तपस्या र साधनाले मलाई घरभन्दा बढी लोभ्यायो । परिवारमा आसक्त भएर बस्दा मानिस साँघुरो दायरामा कैद हुने भएकाले फराकिलो हुन घर फर्किनँ ।

त्यसको १० वर्षपछि म फेरि मेरो मातालाई भेट्न गएको थिएँ । अचम्म, मैले भेटेको केही समयपछि नै उहाँको मृत्यु भयो । १० वर्षअघि माताजीले हात देखाएर ‘कति वर्ष बाँच्छु’ भनेर सोध्नुभएको थियो । त्यतिबेला मैले अब १० वर्ष केही नहुने बताएको थिएँ । १० वर्षपछि पुग्दा माताजीले फेरि आफ्नो हात हेरिदिन आग्रह गर्नुभयो । मैले भनेँ, अब हात देखउनु पर्दैन, भगवान् सम्झिए हुन्छ । मैले त्यसो भनेको केही क्षण पछि नै उहाँको मृत्यु भयो । यो मेरो जीवनको अविष्मरणीय घटना हो । यस्ता कैयन् अविष्मरणीय घटना मेरो जीवनमा घटेका छन् ।

नेपाल पवित्र भूमि हो । मेरो तन्त्र गुरुले मलाई नेपाल जान भन्नुभयो । त्यसपछि म नेपाल आएँ । हुन त, पहिले पनि म झापालगायतका जिल्लामा घुमेको थिएँ । त्यसपछि म झापामा आएर एउटा स्कुलको प्रिन्सिफल भएँ । स्कुलको अनुमति लिनका लागि दीर्घराज कोइरालाहरूलाई भेटेँ । तर मलाई पछि झापा फर्कंन मन लागेन र काठमाडौंमै बसेँ । प्रवचन दिने काम गर्न थालेँ । नेपालका पूर्व–पश्चिम ठाउँ भ्रमण गरेँ । वेद, वेदान्त र उपनिषद्को प्रचार गरेँ । एक पटक विदेशीसाथीहरूसँग गएर साँखुमा योग गरेको थिएँ । त्यसले मलाई निकै आनन्द प्राप्त भयो । शिवपुरी बाबाको कुक माधव बाजे हुनुहुन्थ्यो । उहाँले शविपुरी बसे राम्रो हुने सुझाव दिनुभयो । त्यसपछि म २२ वर्ष त्यहीँ ध्यान गरेर बसेँ । त्यस बेलादेखि अहिलेसम्म नेपाल नै ठीक लागिरहेको छ ।

मैले सञ्चालन गरेको बूढानीलकण्ठ आश्रमले योग, धर्म र दर्शनको प्रचारका साथै विद्यालय सञ्चालन गरिरहेको छ । मेरो र बूढानीलकण्ठका स्थानीयको पहलमा बूढानीलकण्ठ आश्रम स्कुल २७ वर्षदेखि सञ्चालन गरिरहेका छौं । अहिले यहाँ १० कक्षासम्म पढाइ हुन्छ । आधुनिक शिक्षामा कमजोरी भएकाले पूर्वीय दर्शनलाई पछ्याउँदै यहाँ कक्षा सञ्चालन हुन्छ । सन् १८३५ बाट बेलायतका म्याकालयले हाम्रो धर्म संस्कृति नष्ट गर्ने अभिप्रायःस्वरुप आधुनिक शिक्षा चलाएका थिए । यो शिक्षा चलाएपछि ब्रिटिसहरूले खुसी भएर ३०–३५ वर्षमा हिन्दू संस्कृति समाप्त हुने भन्दै खुसी व्यक्त गरेका थिए । हुन पनि, त्यस्तै भयो । त्यसैले कर्म र अध्यात्मलाई प्रोत्साहन गर्ने त्रिनीति शिक्षा यहाँ चलिरहेको छ । यसलाई विस्तार गर्न मन्त्री लगायत विभिन्न सरकारी व्यक्तिहरूसँग कुरा गरे पनि कसैले मेरो कुरा सुनेनन् ।

यो विद्यालय सञ्चालनको स्रोत म आफैं हुँ । मेरो देश/विदेशमा जान–पहिचान छ । हजारौं विदेशी विशेष गरेर अमेरिकन आएर प्रवचन सुन्छन् । उनीहरूले सहयोग गर्छन् । देशका राजनीतिक दलका नेताहरू आउँछन् । उनीहरूले पनि सहयोग गर्छन् ।

मेरोमा धेरै नेताहरू आउने गर्छन् । कांग्रेस/एमालेका अधिकांश नेता मेरोमा आउने गर्छन् । तर माओवादीका एकाधबाहेक आएका छैनन् ।

यो जगतमा सबैको आ–आफ्नो पहिचान हुन्छ । पहिचानबिनाका केही हुँदैनन् । जसरी व्यक्ति र वस्तुलाई पहिचान चाहिन्छ, त्यस्तै राज्यलाई धार्मिक, सांस्कृतिक, राजनीतिक पहिचान चाहिन्छ । त्यसैले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेको हुँ । यहाँका बहुसंख्यक जनता हिन्दू भएकाले यो देश हिन्दू राज्य हुनुपर्छ ।

वास्तवमा निरपेक्ष डरलाग्दो कुरा हो । यो भेटिकन चान्सलरले सुरु गरेका हुन्, यसको आशय डरलाग्दो थियो । त्यही कुरा नेपालमा घुसाइएको छ । अरूको धर्म नाश गरेर आफ्नो धर्म घुसाउने प्रपञ्च यो कन्सेप्टमा घुसाइएको थियो । त्यसलाई अहिले नेपालमा प्रवेश गराइएको छ ।