NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘गोर्खा वारियर’ को वर्ल्ड प्रिमियर

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो ।

पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ ।

अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ । तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गरेका थिए। तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै । अर्थात् असफल भयो ।

‘नालापानी’भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गरेको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन ।

विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गरेका थिए। यसले भने व्यावसायिक सफलतासमेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन् । तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ ।

त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ । स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन् । अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन् ।

परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताए। ‘हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो । यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ’, निर्देशक देउजाले भने। ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उनले कारक देवखेका रहेछन्। उनले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउ’ निर्देशन गरिसकेका छन् ।

नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन । साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताए । गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उनले केही समययता सङ्घर्ष गरिरहेका छन् ।

उनको निर्माण तथा निर्देशन रहेको ‘गोर्खा वारियर’ तयार भइरहेको छ । ‘छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ । प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु’, उनले भने ।

आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहेका छन् । चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ । गोर्खाली सैनिक जङ्गल युद्धमा अन्यभन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उनले जानकारी दिए ।

‘व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनले भने।

उनले गोर्खालीको वीरताको गाथामा चलचित्र बनेको विश्वलाई जानकारी दिने उद्देश्यले बेलायतको लन्डनस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स प्रविधि जडित चलचित्र भवन सिनेवर्ल्डमा ‘गोर्खा वारियर’को विश्वमै पहिलोपटक विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्दै छन् । भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रदर्शनीमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उनको छ । सो अवसरमा बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने तय भएको निर्देशक चाम्सले जानकारी दिए ।

‘पूर्व सैनिक भएकाले पनि यो मेरो लागि चलचित्रमात्र होइन । सेनाको ब्यान्डले पहिलोपटक चलचित्रको प्रिमियरमा प्रस्तुति दिँदैछन् । यो सब गोर्खालीको वीरताले प्राप्त गरेको सम्मान हो’, निर्देशक चाम्सले भने । सो चलचित्र भवनमा भव्यरूपमा हुने प्रदर्शनीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा मद्दत पुग्ने विश्वास उनको छ ।