NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

गजुरी दुर्घटना : चालकले आज मात्रै गुडाएका थिए त्यो बस, नम्बर समेत थिएन थाहा

काठमाडौं । धादिङको गजुरी गाउँपालिका २ छहराबाट त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

१३ जना घाईते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले १३ जना घाईतेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जानकारी दिइन् ।

‘हामी अहिले उद्धारमै लागि रहेका छौँ । केहि यात्रुहरु अझै पानीमै देखिन्छन् । केहिलाई बगाएको अवस्था छ, उनले नेपालवाचसँग भनिन्, ‘घाईते १२–१३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य केहिको अरु स्थानमा पनि उपचार भइरहेको जानकारी आएको छ ।’

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् ।

आज मात्रै चलाएका थिए चालकले त्यो बस

उनकाअनुसार बस चालकलाई घाइते अवस्थामा उद्धार गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरेर थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको उनले जानकारी दिइन् । चालकको टाउकोमा चोट लागेको छ ।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । नदिमा दुर्घटनाग्रस्त भएको बस ति चालकले आज मात्रै चलाएका थिए । उनी अर्को बस चलाउने गरेको बताएका छन् ।

‘यो बस मैले आज मात्रै चलाएको हुँ । म अर्कै बस चलाँउथे । छहरा नजिक आएपछि म्याजिकले ओभरटेक गर्यो । मैले अलिकती ठाँउ छोड्दा गाडी नदिमा खसेछ,’ चालकको भनाई उधृत गर्दै उपाध्यक्ष बिसुरालले भनिन् ।

त्यसक्रममा चालकले बसको नम्बरसमेत आफुलाई थाहा नभएको बताएका थिए । तर उनले बसमा २३ जना यात्रु रहेको बताएका छन् ।