NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आत्महत्या रोकथाममा सञ्चारमाध्यमले कस्तो भूमिका खेल्ने ?

काठमाडौं । आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञहरुले बताएका छन् । शुक्रबार मानसिक अस्पताल पाटनमा आयोजना गरिएको आत्महत्या रोकथाममा सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तक्रिया कार्यक्रममा जानकारहरुले उक्त कुरा बताएका हुन् ।

तथ्यांक हेर्ने हो भने विश्वमा वर्षेनी ७ लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउँछन् । यसले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको कार्यक्रमा जानकारहरुले बताए । आमहत्या सम्बन्धी गलत समाचार सम्प्रेषणले यसको जोखिम बढ्ने बताउँदै उचित समाचार प्रवाहले पनि आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान बचाउन भूमिका खेल्न सक्नेबारे विज्ञहरूले बताए । उपस्थित विज्ञहरूले आत्महत्या समाजिक र जनस्वास्थ्यको समस्या हो भन्ने सन्देश प्रवाह गर्न सञ्चारमाध्यम अपरिहार्य भएको विषय प्रस्तुत गरेका छन् ।

कार्यक्रममा मनोचिकित्सक कमल गौतमले आत्महत्या निकै संवेदनशिल भएको बताउँदै यसको समाचार बनाउँदा वा सम्प्रेषण गर्दा निकै सजह हुनुपर्ने बताए।कार्यक्रममा आत्महत्या रोक्न सञ्चारमाध्यमले संवेदनशिल भएर सूचनाहरु प्रवाह गर्दै तथ्यपरक समाचार मात्र सम्प्रेषण गर्नुपर्ने जानकारी दिइएको थियो ।

हिजोआज सञ्चारमाध्यममा आत्महत्याका समाचार आउनसाथ कुन मिडियाले उक्त समाचार पहिले सम्प्रषण गर्ने भन्ने होडबाजी नै चलेको छ । जसले आत्महत्या जस्तो संवेदनशिल विषय असंवेदनशिल बनाइएको उनीहरूको तर्क छ । यस्तो होडले आत्महत्याको घटना अझ बढ्ने र यसको प्रभाव अन्य व्यक्तिलाई पनि पर्ने विभिन्न अध्ययनले दखाएको छ ।

आत्महत्या रोकथाम गर्न सञ्चारमाध्यमले के गर्ने ?

कार्यक्रममा उपस्थित विज्ञहरूले आत्महत्या रोकथाममा भूमिका निर्वाह गर्न निम्न सञ्चारमाध्यमलाई निम्न सुझाव दिएका छन्ः

१) उचित कदममार्फत आत्महत्याका अधिकांश घटना रोकथाम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ।

२) तथ्यपरक समाचारमात्र सम्प्रषण गर्ने ।

३) आत्महत्या संवेदनशिल विषय भएकाले यसको रिपोटिङ गर्दा वा समाचार लेख्दा यो सम्बन्धी समस्या पर्दा के गर्न सकिन्छ भन्ने गाइडलाइन उल्लेख गर्ने ।

४) सनसनीपूर्ण हेडलाइन नबनाउने तथा यस्ता समाचारलाई पहिलो प्राथमिकता नदिने ।

५) घटनाको विस्तृत विवरण उल्लेख नगर्ने ।

६) घटनासँग सम्बन्धित फोटो तथा भिडियो नराख्ने ।

७) बाराबार आत्महत्याका एउटै समाचार नहाल्ने नलेख्ने ।

८) समाचारमा आत्महत्या दुरुतसाहन हुने भाषाको प्रयोग नगर्ने ।

९) मृत्यु भएको व्यक्तिले छाडेको सुसाइड नोट वा त्यस्तै केही सन्देशहरुलाई समाचारमा नराख्ने ।

आत्महत्या वा आत्महानिको सोच आएमा निःशुल्क राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ मा फोन गरी परामर्श लिन सकिन्छ ।