दुःखसँग लड्दै ९९ वर्षे दम्पती

काठमाडौं । उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी–२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ?
स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ ।
राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनिसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै टाढै बस्यो ।
बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोरा÷छोरी र नाती÷नातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरुको साथ छैन ।
बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसके । भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँदिनन् ।
उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउछन् ।
‘जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, उहाँहरु भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ’, उनले भने, ‘तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।’ तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन ।
दम्पतीको दैनिकी सामान्य व्यक्ति जस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै प¥यो भने बाँच्नका लागि खाना खानै प¥यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनले खुसी व्यक्त गरे ।
विहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो । त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उहाँको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ ।
जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन । उनमा अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ ।
‘लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन’, थापाले भने, ‘सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्प्त्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।’ ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उनले ठट्यौली शैलीमा भने, ‘मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।’
थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।
कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरु दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया