NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुन तस्करी विदेशीलाई यी कर्मचारीले यसरी दिएका थिए नागरिकता

काठमाडौं ।सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता जारी गर्ने अघिल्लो दिन जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता फाँटका प्रशासकीय अधिकृतलाई हटाएर ‘अनुकूल’ कर्मचारीलाई नयाँ नागरिकता जारी गर्ने जिम्मा दिएको भेटिएको छ । त्यसरी पठाइएका कर्मचारीमार्फत नै प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको अनुसन्धानबाट खुलेको हो ।

काभ्रे प्रशासनले २०७४ पुस १९ मा नागरिकता फाँट हेर्ने प्रमुख प्रशासकीय अधिकृत सीताराम थापालाई नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी कामबाट हटाएर झपेन्द्रराज खरेललाई पठाएको पाइएको हो । त्यसको भोलिपल्टै खरेलले तस्करीमा संलग्न २ विदेशीलाई फर्जी विवरणका आधारमा नागरिकता प्रमाणपत्र दिएका हुन् । त्यसबेला प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । त्यसअघि खरेल बिदामा रहेको पनि खुलेको छ । बिदामा रहेकै बेला सुन तस्करीमा संलग्न गिरोहसँग खरेलको साँठगाँठ भएको हुन सक्ने सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।

प्रजिअ सिंखडाले नै थापालाई हटाएर खरेललाई नागरिकता फाँट र राहदानीसम्बन्धी जिम्मा दिएका थिए । भोलिपल्ट पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अर्का एक चिनियाँ तस्करलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सूचना तथा गुनासो सुन्ने अधिकारी (अधिकृत सातौं तह) का रूपमा कार्यरत छन् । तस्करलाई नागरिकता दिने सेटिङमा काभ्रेकै तत्कालीन नासु (हाल यातायात कार्यालय काठमाडौं, ठूलो भर्‍याङमा अधिकृत/छैटौं तह) कार्यरत रामचन्द्र अर्याल पनि जोडिएका छन् । नागरिकता प्रतिलिपि फाँटका अर्याललाई नागरिकता जारी गर्ने फाँटमा खरेलसँगै लगिएको थियो । फर्जी विवरणका आधारमा बनाइएका दुवै नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा ‘इन्ट्री’ गराएका थिए ।

२०७३ देखि २०७५ सम्म काभ्रे प्रशासनमा रहेका उनी त्यसपछि धादिङको धुनीबेंसी नगरपालिकामा सरुवा भएका थिए ।

तस्करी प्रकरणमै अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी लिने दावालाई पक्राउ गरिसकेको छ । नागरिकता लिने अर्का चिनियाँ फरार छन् । सुन तस्करीमा भारतमा पक्राउ परी सजाय काटेका तीन चिनियाँले पनि नेपाली राहदानी र नागरिकता दावा छिरिङ र दावाजिन वाङमार्फत नै पाएको बयान दिएका छन् । हाल प्रहरी नियन्त्रणमा रहेका तस्करका भरिया चिनियाँ नागरिक वेन ति सुङ ली, नेङ काइ ली, सेग फा लिङले क्रमशः छिरिङ लामा, सोनाम लामा र राम लामाका नामबाट नेपाली नागरिकता लिएका थिए । प्रहरीलाई दिएको बयानमा दावा छिरिङ (हाल पक्राउ) र दावाजिन (हाल फरार) ले आफूलाई नागरिकता र राहदानी बनेको भन्दै भारतबाट बोलाएको उल्लेख छ । तर, त्यसअघि नै दावाले निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ र अर्का एक चिनियाँले पासाङ तामाङका नाममा ‘३०–०१–७४–११८६५’ नम्बरको नागरिकता लिएका थिए ।

त्यस दिन काभ्रे प्रशासनले खरेलको हस्ताक्षरमा ११८६० देखि ७१ सम्म ११ वटा नागरिकता जारी गरेकामा निमा र पासाङका नाममा जारी दुवै नागरिकतामा स्थायी ठेगाना नमोबुद्ध नगरपालिका–१, काभ्रे र बाबुको नाम पेमा तामाङ राखिएको छ । निमा र पासाङका नाममा सन् २०१८ जनवरी २५ (२०७४ माघ ११) मा राहदानीका लागि निवेदन दिएको देखिन्छ । निवेदन दिएकै दिन दुवैले त्यही दिन राहदानी लिएको अभिलेखमा देखिन्छ । पासाङको नाममा नेपाल प्रहरी र गृह मन्त्रालयका छुट्टाछुट्टै संयन्त्रले गरेको अनुसन्धानमा सुन तस्करका नाममा जारी दुईवटा नागरिकतामा स्थायी ठेगानामा पेमा तामाङ भन्ने व्यक्ति नै छैनन् । नागरिकता लिँदा पेस गर्नुपर्ने बाबुको नागरिकता विवरण पनि प्रशासनको ढड्डामा संलग्न छैन । नागरिकता जारी हुनुअघि दावा र पासाङलाई वडाध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको देखिन्छ । प्रशासनबाट सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल उल्लेख छ ।

निमाका नाममा जारी नागरिकताको ढड्डामा सम्पर्क व्यक्ति अमला रोका मगर उल्लेख छ । अमला दावाकी पत्नी हुन् । तस्करीको धन्दा चलाउनकै लागि नेपालमा सेल्टर लिन दावाले अमलासँग विवाह गरेको हुन सक्ने अनुसन्धान स्रोत बताउँछ । स्रोतका अनुसार दावा र चिनियाँ गिरोहलाई नेपाली राहदानी र नागरिकता दिलाउन पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकको समूह संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको दाबी छ । प्रतीक नक्कली भुटानी प्रकरणमा जोडिएपछि फरार छन् । पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग सुन तस्करी प्रकरणमै सीआईबीले सोधपुछ गरिसकेको छ भने सुन तस्करी प्रकरणमै महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा छन् । यी चारै जनाको चिनियाँ सुन तस्करसँग बाक्लो हिमचिम रहेको खुलिसकेको छ ।

निमाका नाममा जारी नागरिकताको औंठाछाप हाल सीआईबीको हिरासतमा रहेका दावासँग मेल खाँदैन । तर, त्यही नागरिकताका आधारमा निमाका नाममा जारी नेपाली राहदानीको औंठाछाप र दावाको औंठाछाप एउटै देखिन्छ । दुवै राहदानीको प्रयोगशालामा परीक्षण गराउँदा काभ्रेमा जारी नागरिकताको औंठाछाप दावासँग मेल खाएको छैन । तर राहदानीमा दुवै औंठाछाप एकै किसिमको देखिएकाले नागरिकता जारी गर्दा सुन तस्कर उपस्थित नभई प्रशासनले नागरिकता जारी गरेको देखिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । यसले के स्पष्ट हुन्छ भने काभ्रे प्रशासनले दावा र अर्का चिनियाँलाई फर्जी कागजात र औंठाछापका आधारमा नागरिकता जारी गरेको छ । नागरिकतामा जैविक विवरण मेल नखाने तर हाल पक्राउ गरेका दावा र निमाको नाममा जारी राहदानीको औंठाछाप एकै व्यक्तिको रहनुले चिनियाँ तस्करलाई गोप्य रूपमा नागरिकता बनाएर दिएको ती अधिकारीको भनाइ छ ।

हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा पक्राउ परेपछि दावाले कसरी नेपाललाई सेल्टर बनाएर सुन तस्करी गरिरहेका छन् भन्ने तथ्य सतहमा आएको थियो । त्यसपछि गृह मन्त्रालयले सुन तस्करले नेपाली नागरिकता लिएको प्रकरणमा छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले पनि फर्जी विवरणका आधारमा दुई तस्करलाई काभ्रे प्रशासनले नागरिकता जारी गरेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत (हाल सातौं तह) खरेल र नासु (हाल छैटौं तह/अधिकृत) अर्याललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको छ । अनुसूचीमा विवरण उल्लेख नगरी नागरिकता जारी नहुने विषय दुवैले स्वीकार गरेका छन्, तर कसुरबाट उम्किन दुवै कर्मचारीले अरूबाट प्रक्रियागत रूपमा आएको फाइलअनुसार नागरिकतामा हस्ताक्षर र प्रणालीमा विवरण इन्ट्री गरिएको जिकिर छ । ‘अनुसूची तथा आवश्यक कागजातबिना कोही कसैलाई पनि नागरिकता दिइने गरेको छैन र उक्त समयमा पनि मबाट कुनै कागजातको अभावमा नागरिकताको सनाखतमा उल्लेखित झूटा विवरण पेस गरी नागरिकता दिइएको छैन,’ तत्कालीन नासु अर्यालले बयानमा भनेका छन् ।

२०७४ असारदेखि ०७५ जेठसम्म काभ्रे प्रशासनमा रहेका खरेलले आफूले जारी गरेका नागरिकता कानुनअनुसार रहेको जिकिर गरेका छन् । तर, अनुसूचीमा विवरण समावेश नगरी नागरिकता जारी भएकामा आफूभन्दा तलका कर्मचारीलाई पन्छाएर उनी उम्किन खोजेका छन् । बयानमा भनेका छन्, ‘मलाई दावा छिरिङका बारेमा केही थाहा छैन, नागरिकता दिने क्रममा मैले कानुनबमोजिमको कागजका आधारमा दिएको विषयमा प्रस्ट छु । कान्तिपुर दैनिकमा खबर छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष