बचत गर्ने बानी विकास गर्न रिकरिङ डिपोजिट खाता

काठमाडौं । बचत गर्ने बानीको विकास नहुँदा अधिकांंश व्यक्ति चिन्तामा हुन्छन् । सेवाग्राहीलाई बचतको बानी बसाल्नकै लागि बैंकहरूले रिकरिङ डिपोजिट (आरडी) भनेर एक विशेष खाता योजना ल्याएका छन् । जसलाई खुत्रुके खाता पनि भनिन्छ ।
यो खाताले सेवाग्राहीको दीर्घकालिन वित्तीय लक्ष्य पुरा गर्न सक्ने बैंकहरूको दाबी छ । यो खातामा आफूसँग भएको रकम मासिक रुपमा केही निश्चित समयावधिसम्म राख्न सकिन्छ । उक्त रकम राखेबापत बैंकले तपाईंलाई निश्चित ब्याज दिन्छ र दिएको ब्याजलाई समयावधिको अन्त्यमा कुल रकमसँगै प्रदान गर्छ । यस्तो खातामा जम्मा भएको रकम तोकिएको समयपूर्व निकाल्न भने मिल्दैन । यद्यपी, निकाल्नै परेको खण्डमा बैंकले तोकेको मापदण्ड पूरा गरेर निकाल्न सकिन्छ ।
रिकरिङ खाताले व्यक्तिको बचत गर्ने बानीको विकासमा मद्दत पुयाउनुका साथै भविष्यमा आइपर्ने जोखिमलाईसमेत बहन गर्ने क्षमता राख्छ । हरेक बैंक अनुसार यसमा जम्मा गर्नुपर्ने न्युनतम मूल्य पनि फरक हुन्छ । तर अधिकांश बैंकमा भने यसको न्युनतम मूल्य पाँच सय तोकिएको छ ।
रिकरिङ खाता खोल्दा फाइदा के ?
रिकरिङ डिपोजिट खातामा जम्मा गरेको रकमले वित्तीय आवश्यकता पूरा गर्छ ।
रकम जम्मा गर्ने बानीको विकास हुन्छ भने अत्यावश्यक परेको समयमा पैसाको अभावसमेत हुन दिँदैन ।
रिकरिङ डिपोजिट खातालाई बजारको उतार चढावले कुनैपनि किसिमको असर गर्दैन । रकम लगानी गर्नेको लागि यो खाता प्रभावकारी हुन सक्छ । किनभने यसमा रकम सुरक्षित र जोखिममुक्त हुन्छ ।
कसरी खोल्ने रिकरिङ डिपोजिट खाता ?
रिकरिङ डिपोजिट खाता खोल्न सबैभन्दा पहिले आफ्नो बचत खाता भएको बैंकमा जानुहोस् र त्यहाँबाट सो खाताको निम्ती आवेदन भर्नुहोस् । सोही आवेदन अनुसार बैंकले सामान्य खातामा भएको रकम आरडी अर्थात रिकरिङ खातामा हाल्छ । उक्त खातामा पहिलो मासिक किस्ताको भुक्तानी चेक वा नगद मार्फत गर्न सकिन्छ । रिकरिङ खाता खोल्ने व्यवस्था कुनै कुनै बैंकले अनलाइन मार्फत पनि गरेका हुन्छन् । यदि अनलाईन खाता खोल्ने व्यवस्था छ भने तपाईले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमार्फत पनि आरडी खाता खोल्न सक्नुहुनेछ । खाता खोलिसकेपछि बैंकले बचतकर्ताको मासिक किस्ता रकम बैंक खाताबाटै काट्छ ।
(सरल बैंकिङसँगको सहकार्यमा तयार पारिएको ।)
प्रतिक्रिया