बैंकबाट ऋण लिएर घर बनाउन चाहनुहुन्छ ? यसरी लिनुहोस् कर्जा

काठमाडौं । घर बनाएर परिवारसँग बस्ने हरकोहीको चाहना हुन्छ । घर बनाउने सपना बोकर नै व्यक्ति श्रम गरेर रकम जुटाउँछ । पहिलेको समयमा घर बनाउन व्यक्तिले जति परिश्रम गर्नुपथ्र्यो वर्तमान समयमा त्यति कठिन छैन । समयको बदलावसँगै घर बनाउने सपना साकार गर्न बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा दिने गर्छन् ।
घर कर्जा व्यक्तिले बैंकबाट प्रत्येक महिना ईएमआईमार्फत भुक्तानी गर्नुपर्ने निश्चित ब्याज दरमा लिने ऋण हो । यस्तो कर्जा लिएबापत ग्राहकले बैंकलाई कर्जा कति समयको लागि लिएको हो त्यति समयका लागि निश्चित ब्याजदर तिर्नुपर्छ । घर कर्जाको अवधी बैंक अनुसार निर्भर हुन्छ । यस्तो अवधी केही बैंकहरुले १५ देखी २५ वर्षसम्म तोकेका छन् भने केहीले ३५ वर्षसम्म राखेका छन् ।
घर कर्जाको आवेदन दिने नेपाली नागरिक २१ वर्ष पुगेको हुनुपर्छ भने ६० वर्ष नकटेको हुनुपर्ने प्रावधान तोकिएको छ ।
कसले लिन पाउँछन् ?
घर कर्जा लिँदा बैंकहरुले केही मापदण्ड तोकेका हुन्छन् । कर्जा लिने व्यक्ति कर्जा तिर्न सक्षम भए/नभएको विचार गरेर मात्रै बैंकले यस्तो कर्जा दिन्छ । यसबाहेक, आवेदकको चलिरहेको ईएमआइ, क्रेडिट स्कोर तथा आर्थिक अवस्थाकोबारे पनि बैंकले मूल्यांकन गर्छ ।
के घर कर्जा घर बनाउन मात्रै लिने हो ?
गाह्रकले बैंकबाट लिएको कर्जा घर बनाउनमात्रै प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । यसको लागि पनि बैंकले केही मापदण्ड बनाएको हुन्छ । घर कर्जा घर बनाउन बाहेक आवासीय घर तथा फ्ल्याट खरिद गर्न, घर मर्मत तथा पुर्नसंरचना गर्न, घरभित्रको फर्निचर तथा फिनिसिङ गर्न तथा घरको ईन्टेरियर डिजाइन गर्ने प्रयोजनका लागि पनि लिन सकिन्छ ।
यस्ता छन् कर्जाको आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु
१) उचित अनुसन्धान गर्नुहोस्
२) कर्जाको कागजातहरु ध्यान दिएर पढ्नुहोस् ।
३) चुक्ता गर्ने क्षमता भन्दा बढी कर्जा नलिनुहोस् ।
४) आवेदनमा अपुरो जानकारी तथा गलत कागजपत्र नराख्नुहोस् ।
५) कर्जा लिनुअघि वित्तीय सल्लाह लिनुहोस् ।
(सरल बैंकिङसँगको सहकार्यमा तयार पारिएको ।)
प्रतिक्रिया