NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १३ गते

सात वर्षमै तीन करोड कमाउने नासुलाई अदालतको सफाइ

काठमाडौं । सात वर्षको जागिर अवधिमै तीन करोडभन्दा धेरै स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोग लागेका नायब सुब्बाले सफाई पाएका छन् । मालपोत कार्यालय बाराका तत्कालिन लेखापाल युगल किशोर ठाकुरलाई बिशेष अदालतले मंगलबार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा सफाई दिएको हो ।

उनको तीन करोड चार लाख ९४ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असार २०७७ मा मुद्दा दायर गरेको थियो ।

९ माघ २०६८ मा सहलेखापाल पदबाट सरकारी जागिर सुरु गरेका ठाकुरले २०७५ सम्म अस्वभाविक सम्पत्ति आर्जन गरेका थिए । सात वर्षकै अवधिमा उनले तीन करोड भन्दा धेरै सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् ।

मालपोत कार्यालयमा उठेका राजस्व रकम उनले संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने खातामा राखेका थिए ।

तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्तासँग संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता नम्बर १२३०००१९१८१० खोलिएको व्यक्तिगत खातामा सरकारी राजश्व जम्मा गर्दै आएका थिए । गुप्तालाई पनि आयोगले मुद्दा दायर गरेकोमा उनी दोषी ठहर भइसकेका छन् ।

युगल किशोर ठाकुर र मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० को व्यक्तिगत खातामा रहेको दुई करोड ७६ लाख ४४ हजार बरामद भएको थियो ।

अन्य खातामा २४ लाख ९२ हजार भेटिएको थियो । त्यस्तै, श्रीमतीको नाममा जग्गा पनि खरिद गरेका थिए । सो सम्पत्तिको स्रोत नखुलेपछि आयोगले मुद्दा दायर गरेको थियो ।