जहाँ आफ्नै गाउँ जान भारतको अनुमति लिनुपर्छ

दार्चुला । आफ्नै गाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नुपर्ने ठाउँ हुन्, दार्चुलाको व्याँस गाउँपालिका १ का दुइटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १३० किलोमिटर टाढाका यी गाउँ पुग्न नेपालकै भूमि भएर गोरेटो बाटोसमेत छैन । पञ्चायतकालीन गोरेटो बाटोसमेत प्रयोग गर्न नसकिने गरी भत्के–बिग्रेको छ ।
‘सशस्त्र द्वन्द्वअघि व्याँसको तिंकरसम्म नेपालकै भूमि भएर स्थानीय आवतजावत गर्न पाउँथे । गणतन्त्रपछि यो क्षेत्रमा निर्माण गरिएका गोरेटा बाटा पनि बिग्रेर गए,’ स्थानीय जितबहादुर बोहोराले भने, ‘सरकारले हिँड्न मिल्ने बाटोसमेत बनाइदिएको छैन । त्यही भएर हामी भारतीय बाटो हिँड्छौं । चामल, तेल, नुन पनि भारतीय बजारबाट किन्नुपर्छ । व्याँसमा उत्पादन हुने अन्नले ६ महिना पुग्दैन ।
भारतको सडक हुँदै पाँच घण्टाको गाडीको यात्रामा सीतापुल पुगेर त्यहाँबाट हिँडेर जाँदा एक दिनमै छाँगरू तिंकर पुगिन्छ । त्यसका लागि भारतीय प्रशासनले जारी गरेको बहुयात्रा अनुमतिपत्र आवश्यक हुन्छ ।
नेपालकै भूमि भएर खलंगाबाट छांगरू, तिंकर जाने चेष्टा गरे पाँच दिनको पैदल नाप्नुपर्छ । दुई वर्षअघि सुदूरपश्चि प्रदेश सरकारले पाँच करोड खर्च गरेर नेपाली सेनामार्फत निर्माण गरिएको गोरेटो बाटोसमेत भत्किएको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया