NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते
अनुभूति

दरको पिरलो

जब तिज नजिकिन थाल्छ म एक महिना अघिबाटै झस्कन थाल्छु । अनि सोच्न पुग्छु “आउन त आयो बरै, जाने पो कहिले हो ? एक दिन आफ्नामा अनि एक महिना अरुकै तिर ।”

चेलीबेटी, भान्जाभान्जीलगायत आफन्तलाई बोलाएर खुवाउनु पर्यो । अरुकोमा हाजिर हुनुपर्यो । समयको व्यवस्थापन गर्न नै सकस । कार्यालयमा बिदा पनि कति दिन माग्नु । घरमा दर खुवाउने दिन बिदा, माइतमा दर खाने दिन बिदा, मावलमा, बहिनीकोमा, जेठाजुकोमा, देवरकोमा, नन्द आमाजुकोमा, फुपुकोमा काका–काकीकोमा, साथीसंगीकोमा,आमा समूहकोमा संघ–संगठनहरूकोमा दर हुँदा बिदा । दर नै दर, बिदैबिदा ।

यसो सोचेँ, साथीहरूको कुरा पनि ठीकै हो, साथी सबैभन्दा माथि । उनीहरूसँग जति रमाइलो अरू कोसँग होला र ?

माइत जानै प–यो । नगए बुढा बा–आमा र दाइ, भाउजूले चित्त दुखाउनुहोला। फेरि हाम्रो संस्कृतिअनुसार दर खान जाने भनेकै माइतमा हो । आफन्त, छरछिमेकमा नजाउँ, मर्दा–पर्दा काम लाग्ने भनेको उनीहरू नै हुन् । साथीभाइको फोन आउँछ, सिलसिला उही दरको हुन्छ । ‘मरी लानु के छ र यार । हाम्रो लागि एक दिन बिदा लिन सक्दिनस् ? कसैको नभको तेरो जागिर…’

यसो सोचेँ, साथीहरूको कुरा पनि ठीकै हो, साथी सबैभन्दा माथि । उनीहरूसँग जति रमाइलो अरू कोसँग होला र ? एक दिन त हो बिदा माग । गाउँघरमा आमा समूहको कार्यक्रम बन्छ । ‘बहिनी रमाइलो गर्नुपर्छ, त्यो दिनचाहिँ जसरी हुन्छ बिदा मिलाउनू है । अहिले जागिरे हुँदा पो हामी चाहिँदैन । रिटायर लाइफमा काम लाग्ने त हामी नै होला नि । पेचिलो अनि उत्तिकै यथार्थपरक भनाइ । मलाइ पनि लाग्छ, जागिरे जीवनका साथीहरू त आज यहाँ, भोलि कहाँ ?

बुढेसकालमा चाहिने त खासमा उहाँहरू नै हो । सोचेँ, एक दिन त हो, बिदा लिगौं । जेठाजु, जेठानीकोमा यो त झन् आफ्नै घर खान मात्र गएर भएन । सघाउनु पनि पर्यो । अफिस जाने त कुरै भएन । एक दिन त हो, बिदा लिऊ । फेरि बा, आमापछिका काका–काकी, मामा माइजू मात्र होइन, साइल काका, काइँला काका, कान्छा काका, माइलो मामा, कान्छो मामा , ठूलीआमा, सानीआमा यस्तै यस्तै…कहाँ–कहाँ भ्याउनु ?

फेरि अर्को कुरा, समय परिवर्तन भइसकेछ, नन्द,आमाजू बहिनी ज्वाइँकोमा पनि दर खान जानै पर्ने रे । सोचेँ, बोलाइहाले, एक दिन त हो, बिदा बसौं । यो क्रम चलिरह्यो । हिसाब गरेको कार्यालयमा बिदा लिएको ठ्याक्कै ३० दिन पुगेछ । मैले सबैका लागि एक/एक दिन भनेर दरका लागि बिदा लिएको कार्यालय र कार्यालय प्रमुखका लागि ३० दिन भएछ। पञ्चमीको व्रत सकेर भोलिपल्ट अफिस गएको मात्र के थिए, हाकिमले भनिहाले, अब तपाईंलाई सधैंका लागि बिदा भो । आगामी वर्षको तिज राम्रोसँग मनाउनु होला । त्यसका लागि अग्रिम शुभकामना ।

यो सुनेर मन खिन्न भयो । मनमनै भनेँ, हाकिम सा’ब तपाईंको भनाइ त सही नै होला । तर यसमा मेरो मात्र गल्ती छ र रु परिवर्तनशील हाम्रो समाज, भड्किलो जीवन शैलीलाई नियन्त्रण गर्न नसक्ने हाम्रो राज्य पनि उत्तिकै जिम्मेवार छैन र ?

मैले सबैका लागि एक/एक दिन भनेर दरका लागि बिदा लिएको कार्यालय र कार्यालय प्रमुखका लागि ३० दिन भएछ । पञ्चमीको व्रत सकेर भोलिपल्ट अफिस गएको मात्र के थिए, हाकिमले भनिहाले, अब तपाईंलाई सधैंका लागि बिदा भो । आगामी वर्षको तिज राम्रोसँग मनाउनु होला ।

यही पर्व हो आजभन्दा १५–२० वर्षअघिसम्म कति सुसंस्कृत थियो । तिज व्रतको अघिल्लो दिन अर्थात् दर खाने दिन मात्र घरमा चेलिबेटीहरू भेला भएर दाजु–भाइ, बुवाहरूको समेत सहयोगमा मीठो मसिनो पकाएर खान्थे । राति अबेरसम्म गाएर, नाचेर रमाइलो गरिन्थ्यो । चाडपर्वको रमाइलो पनि अनुभूति हुने गर्दथ्यो । आफ्ना मनका पीडा थाती राखेर भने पनि महिला दिदीबहिनीहरू रमाउने गर्नुहुन्थ्यो । ऊ बेला न अहिलेजस्तो एक महिना दर खानु/खुवाउनुपथ्र्यो न हुने खाने र हुँदा खानेबीच खाडल थियो ।

हो, समय परिवर्तनशील छ । समयक्रममा हरेक चीजमा परिवर्तन आउँछ । यो स्वाभाविक कुरा हो । तर परिवर्तनका नाममा विकृति भित्रनुलाई सही मान्न सकिन्न । परिवर्तनले समाजमा सकारात्मक वा नकारात्मक कस्तो असर पुर्याएको छ, त्यो सदा गहन र सोचनीय हुने गर्दछ । तसर्थ समयले ल्याएको परिवर्तन हो भनेर यसलाई सहर्ष स्वीकार गर्नुभन्दा मानवीय व्यवहारमा भएको परिवर्तनको उपज पनि हो कि भन्ने कुरालाई आत्मसात र चिन्तन गर्दै परिवर्तनको नाममा पुराना संस्कृति परम्परा र रीतिरिवाजभित्र लुकेका मूल्य र मान्यतालाइ नबिर्सीकन चाडपर्व मनाऔं, अगाडि बढ्ने क्रममा पछाडि पर्केर हेर्न नभुलौं । मानव जीवन दिन प्रतिदिन व्यस्त बन्दै गएकाले तिज पर्वलाई छोटो–मीठो तरिकाले हर्ष उल्लासका साथ मनाऔं, संस्कृति जोगाऔं । देश विदेशमा रहनुहुने सम्पूर्ण आमा–दिदी बहिनीहरूमा ०८० सालको हरितालिका तिजको ‘शुभकामना’ ।