NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सचिव मरासिनी : सेवा प्रवेशको ३७ बर्ष २७ दिनमा अख्तियारको फेला

काठमाडौं । निजामती सेवामा खरदारबाट जागीर शुरु गरेर बहाल सचिव नै रहँदा अख्तियारले मधु कुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । सेवानिवृत्त हुन १७ महिनामात्रै अवधी बाँकी हुँदा उनीविरुद्ध मुद्दा दायर भएको हो । यो समाचारमा तपाईले मरासिनीको नियुक्ति, उनले जागीरे जीवनमा काम गरेका कार्यालय र अवसरहरु पढ्न पाउनुहुनेछ । तपाई निजामती कर्मचारी हुनुहुन्छ भने, एउटा प्रशासकको उतारचढाव सहजै महसुस गर्न सक्नुहुनेछ ।

मरासिनीको सेवा प्रवेश र स्तरबृद्धि

निजामती सेवामा प्रवेश गरेका प्रत्येक कर्मचारीको सपना हुन्छ, सचिव मरासिनीले जस्तै अवसर पाउने । २०४३ भदौ १ गते स्याङ्जा चित्नेवासका मधुकुमार मरासिनी खरिदारमा नियुक्त भए । खरिदारमा उनले जम्मा एक बर्ष ९ महिना २० दिन बिताए । त्यसपछि खुल्लाबाट उनले सुब्बामा नाम निकाले । ४ बर्ष सुब्बासाव भएर काम गरेका उनी २०४९ असार १७ गते अधिकृतमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाले ।

उनले अधिकृतमा पनि ५ बर्षमात्रै बिताए । आन्तरिक प्रतिस्पर्धाका लागि ५ बर्ष अधिकृत हुनै पर्ने अवधि सकिँदा उनी उपसचिवमा बढुवा भए ।
उनको जागिरे जीवनमा उपसचिव पद निकै सुखद बनेर आयो । यो पदमा उनले १३ वर्ष एक महिना ४ दिन बिताए । यो अवधि उनको जागिरे जीवनको स्वर्णयुग भन्दा अतिशयोक्ति नहोला । किनभने उनी त्यही समयमा मालदार मानिने ठाउँहरूमा सरुवा हुन सफल भए ।

कर कार्यालय, विश्व बैंकमा दुई वर्षका लागि निर्देशकको रूपमा नियुक्ति लगायतका अवसर उनले त्यतिबेलै पाएका हुन् । संयोग पनि कस्तो ? उनलाई विश्व बैंकमा निर्देशकको रूपमा पठाउँदा उनका ससुरा तथा अर्थशास्त्री डा श्रीराम पौडेल तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईका सल्लाहकार थिए। जानकारका भनाईमा क्षमता भएका अन्य उपसचिवलाई लत्याएर त्यो अवसर मरासिनीकोमा पुगेको थियो ।

२०६७ चैत्र १ गते उनी सहसचिवमा बढुवा भए । सहसचिवमा ९ बर्ष ४ महिना ११ दिन बिताए । उपसचिव जस्तै सहसचिव पद पनि उनका लागि सुखद रह्यो । मरासिनी २०७७ साउन १२ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए । उनी २०८१ फागुन १६ गते उमेरहदका कारण अनिवार्य अवकाश हुँदै थिए । उनले अहिलेसम्म निजामती सेवामा ३७ बर्ष २७ दिन बिताए । सेवाबाट अवकाश पाउन १७ महिना बाँकी हुँदा आज उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको छ ।

सधैं मालदार कार्यालय, अन्तिममा भ्रष्टाचार मुद्धा

एउटा कर्मचारीको रुपमा सधैं मालदार कार्यालय पाउने मरासिनी भाग्यमानी कर्मचारी थिए । तर उनको त्यो भाग्य २०८० असोज १५ गते अख्तियारले खोसेको छ । अबका केहि बर्ष उनले भ्रष्टाचार आरोपको सामना गर्नुपर्नेछ । दोषी ठहर हुँदा जेलसम्म चलान हुनेछन् ।
मधु मरासिनीले सहसचिवका रुपमा बजेट महाशाखामा गरेको कर्मवापत मुद्धा खेपेका छन् । त्यसबाहेक पनि उनी थुप्रै त्यस्ता आकर्षक कार्यालय बसे ।

अहिलेसम्म मरासिनीले बिताएका कार्यालय

२०४३ मा निजामती सेवा प्रवेश गरेपछि उनको पहिलो पदस्थापन कानून मन्त्रालयाम भएको थियो । उनी न्यायसेवा मार्फत खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका थिए । २०४५ असारमा उनले लोकसेवा परिक्षाबाट सुब्बामा नाम निकाले । त्यसपछि उनको नियुक्ति वाणिज्य मन्त्रालयमा भयो । उनी २०४९ असार १७ गते फेरि अधिकृतमा उत्र्तिण भए । त्यसपछि अधिकृतको रुपमा उनको पहिलो पदस्थापन हुलाक सेवा विभागमा भयो । २०५४ भदौ ९ गतेसम्म उनले हुलाक सेवामा जागीर खाए ।

२०५४ भदौं १० गते अर्थ मन्त्रालय सरुवा भएर भित्रिएका मरासिनीले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको थिएन । अर्थ मन्त्रालयमै रहँदा २०५४ माघ २७ गते उनी उपसचिवमा बढुवा भए । त्यसपछि उनले आन्तरिक राजस्व कार्यालय विराटनगर, लाहान र दाङको प्रमुख कर अधिकृत भएर काम गरे । २०६० मा उनी राजस्व कार्यालयहरुबाट अर्थ मन्त्रालय फर्किए । त्यही बर्ष उनको सहसचिवमा बढुवा भयो ।

सहसचिव भएपछि उनले ८ महिना प्रधानमन्त्री कार्यालयमा बिताए । त्यसपछि फेरि अर्थ मन्त्रालयमै पुगेर आन्तरिक राजस्व विभागका महानिर्देशक भए । सहसचिव भए लगत्तै प्रमुख विभागको महानिर्देशक हुने उनी भाग्यमानी सहसचिव हुन् ।

२०७२ मा मात्रै उनी अर्थ मन्त्रालयबाट बाहिरिएर राष्ट्रिय योजना आयोगमा सरुवा भए । २०७३ मा फेरि अर्थ मन्त्रालयमा बजेट महाशाखा प्रमुख भएर आए । उनले त्यहीँ रहँदा गरेको निर्णय अहिले भारी बनेको छ ।

२०७४ देखि २०७५ असारसम्म उनी अमेरिकामा नियोग प्रमुख भएर बसे । अमेरिकाबाट फर्किएपछि मरासिनीले वाणिज्य मन्त्रालयमा समय बिताए । २०७६ मन्त्रालय लुम्बिनी प्रदेशको अर्थ सचिव भएर काम गरिरहेका बेला उनी सचिवमा बढुवा भएका थिए ।