NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

९ बहालवाला र पूर्वसचिव जो भ्रष्टाचार मुद्दा खेपिरहेछन्

काठमाडौं ।पछिल्ला चार महिनामा सरकारका तीन बहालवाला र ६ पूर्वसचिवविरुद्ध भ्रष्टाचार, किर्ते र ठगी मुद्दा दायर भएको छ । पदमै रहेका मधु मरासिनी, टेकनारायण पाण्डे र कृष्णबहादुर राउत तथा पूर्वसचिवहरू छविराज पन्त, दीप बस्न्यात, दिनेशहरि अधिकारी, रवीन्द्रमान जोशी र नारायणगोपाल मलेगोविरुद्ध मुद्दा दायर भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मरासिनीविरुद्ध अख्तियारले नेसनल पेमेन्ट गेटवे खरिदमा अनियमितता गरेको प्रकरणमा सोमबार मात्रै मुद्दा दायर गरेको छ । यही मुद्दामा पूर्वसचिव सञ्जय शर्मा पनि प्रतिवादी छन् ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका वेला सचिव पाण्डेमाथि गृहसचिव रहँदा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउन संलग्न रहेको आरोपमा मुद्दा दायर भएको छ । उनी पुर्पक्षका लागि थुनामै छन् । यो ठगीमा संलग्न ३० अभियुक्तविरुद्ध २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबीसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १० जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

उनीसँग एक करोड २४ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । सरकारी वकिल कार्यालयले घटनामा संलग्न पाण्डेसहित पाँच अभियुक्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिससमेत गरेको छ ।

त्यस्तै,सञ्चार मन्त्रालयका सचिव राउतविरुद्ध बहुचर्चित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा लागेको हो । उनले ०६६/६७ मा शाखा अधिकृत छँदा बालुवाटारस्थित प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा टिप्पणी उठाएका थिए ।

गत १० भदौमा काठमाडौं जिल्ला अदालतमा दायर भएको ललितानिवासको सरकारी जग्गा हिनामिनामा दुई सय ३९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । यस किर्ते मुद्दामा पाँच पूर्वसचिवलाई समेत प्रतिवादी बनाइएको थियो । उक्त मुद्दामा पूर्वसचिवहरू छविराज पन्त, दीप बस्न्यात, दिनेशहरि अधिकारी, रवीन्द्रमान जोशी र नारायणगोपाल मलेगोलाई प्रतिवादी कायम गरिएको छ ।

यस मुद्दामा पूर्वसचिव मलेगोविरुद्ध ११ करोड ५९ लाख ९२ हजार दुई सय १३ र पूर्वसचिव पन्त र बस्न्यातविरुद्ध समान १० करोड ५१ लाख १२ हजार नौ सय तीन रुपैयाँ बिगो दाबी गरिएको छ । पूर्वसचिव अधिकारी र जोशीविरुद्ध समान एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो दाबी गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष