NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कानुन नबन्दै सवा अर्बका उपकरण खरिद, ५५ हजारमा आउने ल्यापटपलाई ६५ लाख तिरियो

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का नाममा पूर्वतयारीबिना नै २३ करोडको उपकरण खरिद गरी रकम हिनामिना गरेको विषयमा विशेष अदालतमा मुद्दा दायर भएको छ भने योभन्दा अझ ठूलो खरिदमा अर्को भ्रष्टाचार भएको खुलेको छ ।

नागरिकका फोनरम्यासेजमाथि नियन्त्रण र निगरानी गर्न सरकारले ल्याउन खोजेको कानुनको विधेयक संसद्मा नपुग्दै ‘कल इन्टरसेप्ट’ गर्ने उपकरण खरिद भएको छ । यसका लागि दूरसञ्चार प्राधिकरणले दसौं गुणा बढी मूल्य देखाएर एक अर्ब १५ करोडका सामान आयात गरिसकेको छ भने दोस्रो लटमा दुई अर्बको सामान ल्याउने प्रपञ्च भइरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

नागरिकका कल डिटेल, एसएमएसलगायत वैयक्तिक विवरण रेकर्ड गर्न सरकारले कानुन ल्याउन खोजे पनि सफल भएको छैन । तर दूरसञ्चार प्राधिकरण भने यसका लागि ‘टेरामक्स’ प्रविधि लागू गर्न उद्यत छ । कानुनी प्रबन्धबिना व्यक्तिका संवाद रेकर्ड नगर्न सर्वोच्चले आदेश दिइसकेको छ भने सञ्चारमाध्यमले पनि विरोध गरेपछि सरकारले यो प्रविधि कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिइसकेको छ । तर, प्राधिकरणले भने गतवर्ष नै १ अर्ब १५ करोड रुपैयाँ बराबरका उपकरण भित्र्याइसकेको छ ।

टेरामक्स प्रविधिअन्तर्गत ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ जडान गर्न भन्दै प्राधिकरणले साइप्रसमा दर्ता र लेबनानमा कार्यालय रहेको कम्पनी भेनराइज सोलुसन्समार्फत १ सय ९ वटा सर्भर, २ थान ल्यापटप र ८ थान मोबाइल सेट ल्याएको छ । सर्भर भनिएको उपकरणको मूल्य प्रतिथान ७९ हजार ९ सय अमेरिकी डलर भनिएको छ । त्यस्तै डेलको ल्यापटपको मूल्य प्रतिथान ५० हजार डलर भनिएको छ ।

उपकरणको मूल्य शंकास्पद देखिएपछि भन्सारले केही प्राविधिकसमेतको सहयोगमा छानबिन गरेको थियो । त्यसक्रममा यी उपकरण १० गुणासम्म बढी खर्चेर ल्याइएको विज्ञहरूको भनाइ छ । भन्सारले गरेको अध्ययनअनुसार ‘सर्भर’ भनिएको सामान सामान्य नेटवर्किङ स्विच मात्र हो, जसको मूल्य प्रतिथान ७९ हजार ९ सय अमेरिकी डलर अर्थात् एक करोड २ लाख दाबी गरिएको छ । सर्भरका नाममा १ सय ९ स्विच खरिद गर्दा एक अर्ब १२ करोड खर्च गरिएको छ । स्टोरेज र प्रोसेसिङ युनिटबिना तार मात्रै भएको मालवस्तुलाई सर्भर भनिएकामा प्राविधिकहरू आश्चर्यमा परेका थिए । यही आधारमा भन्सारले टिप्पणी लेखेको थियो, ‘सर्भर भनिएको मालवस्तु नेटवर्किङ स्विचजस्तो देखिन आएको, यसअघि जाँचपास हुने सर्भरमा स्टोरेज र प्रोसेसिङ युनिट हुने भए पनि यो मालवस्तुमा त्यस्तो कुनै युनिट नभएको, यस मालवस्तुमा सर्भरमा हुने स्पेसिफिकेसन कतै नभेटिएकाले यो खासमा के सामान हो भनेर यकिन गर्नुपर्ने देखियो ।’

त्यस्तै प्रतिथान ५० हजार डलरका दरले ल्याइएका दुई थान ल्यापटपका बारेमा अध्ययनपछि भन्सारले लेखेको छ, ‘प्रतिथान चार सय डलरका हिसाबले आउने डेल कम्पनीका कम्प्युटर देखिएको ।’ यसरी करिब ५५ हजार रुपैयाँका दरले आउने डेलका ल्यापटपलाई ६५ लाख रुपैयाँका दरले खरिद गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष