NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रहरीले किन सुन्दैनन् टिप्परको हर्न ?

काठमाडौं । टिप्परले ओभर लोड बोक्ने, राजमार्गमा पानी चुहाउँदै प्रेसर हर्न बजाएर हैरानी पार्ने क्रम देशव्यापी भएको छ । त्यति मात्रै होइन, रातको समयमा फोकस लाइट बालेर साना सवारीसाधनको दुर्घटनाको जोखिम बढिरहँदा प्रहरी प्रशासन भने मौन छ । यो समस्या सङ्घीय राजधानी काठमाडौंदेखि प्रदेशका राजधानी तथा हरेक जिल्लाका मुख्य सहरको हो ।

अझ टिप्परले आतङ्क सिर्जना गरेको गुनासो सामाजिक सञ्जालमा हालेपछि त्यो दिन झनै प्रतीकात्मक रूपमा झनै प्रेसर हर्न बजाएर टिप्परवालाले खुला चुनौती दिने गरेका छन् । धुलिखेलमा होटल व्यवसायमा आबद्ध ज्योत्सना सैँजूले सामाजिक सञ्जालमा विरोध गरेका दिनमा प्रेसर हर्न बजाएर झनै हैरानी दिने गरेको गुनासो गरे । आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सङ्घीय राजधानी काठमाडौं मात्रै होइन प्रदेशका राजधानीमा पनि निर्धक्कसँग ओभरलोड भएका टिप्पर गुडिरहँदा प्रहरी प्रशासन भने मौन छ ।

मधेश, बागमती, कोशी, लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका सडक अत्यधिक भार बोकेका टिप्परले ध्वस्त पारिसकेका छन् । सुदूरपश्चिम, कर्णाली प्रदेशमा पनि टिप्परकै कारण समस्या सिर्जना हुन थालेको छ ।

स्थानीय तह अन्तर्गतका सडक जोगाउन ध्यान दिने स्थानीय जनप्रतिनिधिले पनि राष्ट्रिय सडक आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिन खोजेका कारण पनि सडकको अवस्था दयनीय बन्दै गएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले भार बोक्ने, प्रेसर हर्न बजाउने र अत्यधिक गतिमा दौडने टिप्पर कारबाहीको दायरमा आउने दाबी गरे । उनले पछिल्लो समय त्यति धेरै गुनासो नआएको उल्लेख गर्दै ट्राफिक नियम नमाने तत्कालै प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

तर त्यस्ता गुनासा सामाजिक सञ्जालमा प्रमाणसहित प्रशस्त आउने गरेका छन् । यतिसम्म कि त्यसमा प्रहरी प्रशासनलाई आर्थिक लाभ गराउँदा आँखा चिम्लिने प्रवृत्ति रहेको पाइएको छ ।

डाला थपेर ओभरलोड गरेका टिप्पर सडकमा निर्धक्क गुड्दा त्यसलाई कारबाही गर्न प्रहरीलाई कसैको गुनासो नै आइरहनु पर्दैन । समय समयमा प्रहरीले टिप्परका कारणबाट सृजित समस्या रोक्न केही प्रयास गरे पनि पछिल्लो समय भने टिप्परका लागि आँखा नै चिम्लिएको अवस्था छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक चालकले भने, “एक वर्षअघिसम्म मासिक प्रतिटिप्पर दुई हजार रुपियाँ लिने गरेको प्रहरीले यति बेला मासिक तीन हजार लिन्छन् ।” यसलाई समस्या देखाएर फोटोसहित सामाजिक सञ्जालमा राखिएको सामग्रीमा विद्यार्थी दीपक लम्सालले टिप्परले प्रहरीलाई मासिक बुझाएपछि प्रहरीले ओभरलोडको खासै चासो नदिएको लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष