NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

हनी ट्र्यापको पासो र कानूनी उपचार

अंग्रेजी शब्द ‘हनी’को अर्थ ‘मह’ हुन्छ । ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो छ ।

यदि हामीले हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीहरूले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरू संकलन गर्न शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाइ हनी ट्र्यापमा पारेको पाइन्छ ।

त्यसैगरी, राजनीतिज्ञहरूले आफ्नो स्वार्थअनुरूपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ । हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्र्याप गर्ने प्रवृत्ति बढेको छ । विदेशतिर नियाल्ने हो भने स्क्यामरहरूले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको बहानामा यसलाई प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ ।

अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्य रूपमा सम्पूर्ण जानकारी संकलन गर्दछन् । संकलन गरेको जानकारी अनुरूप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेषगरी बढी सम्पन्न भई आर्थिक रूपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरू उनीहरूको छनोटमा पर्दछन् । यी कार्य गर्नको लागि केवल एक मात्र व्यक्ति नभई एकै संगठनमा विभिन्न थरीका व्यक्तिहरूको मिलेमतो रहेको पाइन्छ ।

उनीहरूको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरू पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरूको धम्की दिन्छन् ।

भित्री रूपमा काम गर्नको लागि जे–जस्ता व्यक्तिहरू समावेश भएतापनि बाहिरी रूपमा देखापर्ने व्यक्ति भने रूप–रंगमा निकै नै लोभलाग्दा, मनमोहक हुन्छन् । ती संगठित व्यक्तिले परिचालन गरेको हनी अर्थात् सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरूको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोँग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ । साथीको रूपमा अगाडि बढाएको सम्बन्धलाई विस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नामामा शारीरिक सम्बन्धको प्रलोभन देखाई विस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरूबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल शुरु गर्दछन् र उनीहरूबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछ ।

हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुई जनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।

यदि उनीहरूको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरू पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरूको धम्की दिन्छन् । त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउन उनीहरूले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।

२८ साउन ०८० मा एक अनलाइन न्युज पोर्टलले एउटा समाचार दिएको थियो, जसमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेकी थिइन् । जबकि, ती महिलाले पहिला नै चार वटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमानले पत्ता लगाएका रहेछन् । विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रूपैयाँ खर्च पनि गरेका रहेछन् । विवाहपश्चात् ससुरा र बूढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन् ।

त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमानलाई डिभोर्स गर्न दबाब दिइछिन् । त्यसपछि उनको श्रीमानले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराएका रहेछन् । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको रहेछ । यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भएछ । त्यसपश्चात् उनी थुनामा नै बस्न बाध्य भएकी रहिछन् ।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि आफूउपर मुद्दा दिई थुनाउने श्रीमानलाई उल्टै वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरेकी रहिछन्, जुन मुद्दा विचाराधीन अवस्थामा छ ।

त्यस्तै, जिल्ला प्रहरी परिसर, ललितपुरले गत साउनमा हनी ट्र्यापको उजुरीकै कारण ४ जना व्यक्तिहरू समातेको विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएका थिए । जसमा एक केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी फ्रेन्ड रिक्वेस्ट पठाएर केटा साथीहरू बनाइछन् । म्यासेन्जरबाट कुराकानी गरी ती केटा साथीलाई होटल जानको लागि अनुरोध गरिछन् । होटलमा लगेर सामान्य वार्तालापसमेत गरिछन् । वार्तालापपछि बहाना बनाएर होटलबाट बाहिर निस्किइछन् । त्यसपछि ती महिलाले ‘हामीबीचको सबै कुरा दाजु–भाउजूलाई थाहा भएछ, अब उहाँहरूले भनेबमोजिम गर्नुस्’ भनी सो घटनामा अर्का व्यक्तिहरूलाई सामेल गराएकी रहिछन् । ती व्यक्तिहरूले पीडितले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गर्न थालेपछि पीडितले चेक दिइसकेको रहेछ । यस्तो घटना बारम्बार ती महिलाले अन्य केटाहरूलाई घटाइ पीडित बनाएकी रहिछन् । दुई जना पीडितले उक्त विषयमा जाहेरी दिइसकेपछि प्रहरीले आपराधिक लाभ ९एक्सटर्सन० मुद्दामा ती महिलालाई कारबाही चलायो ।

कानूनमा विभिन्न थरीका व्यवस्था भएता पनि हनी ट्र्याप गर्ने समूहहरू जताततै तीव्र रूपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न ।

वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालको विभिन्न जिल्लामा घटिरहेको पाइन्छ । माई रिपब्लिकाले २५ मंसिर ०७९ मा दाङ जिल्लामा भएको हनी ट्र्यापको बारेमा तीन जना व्यक्तिलाई प्रहरीले समातेको भन्ने खबर छापेको थियो । त्यस घटनामा महिलाले अपरिचित व्यक्तिसँग सम्बन्ध अगाडि बढाएर भारी रकम माग्न थालेकी थिइन् । पीडितले पहिलो पटक १४ लाख रूपैयाँ ती महिलालाई बुझाए पनि निरन्तर डर तथा त्रास दिने कार्य भइरहेको रहेछ । उनको बारम्बारको मागलार्ई अनादर गर्दा मानसिक यातना दिन थालेपश्चात् निकै शंका लागेर प्रहरीमा उजुरी गरेको पाइयो । त्यसैगरी, नेपालगञ्जमा एक व्यक्तिले १२ लाख दिइसकेपछि वकिलकै सहायता लिई कागज गरेर अबउप्रान्त कुनै किसिमको सम्बन्ध वा जबरजस्ती करणीको आरोप नलगाउने भनी लिखतसमेत बनाएको पाइयो ।

यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता, २०७४ ले विभिन्न कानुनी प्रावधानहरूको व्यवस्था गरेको छ । जस्तै– मुलुकी अपराध संहिता, २०७४ दफा २५३ ले आपराधिक लाभ ९एक्सटर्सन० लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरू कसैको कुनै क्षति पु–याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरू कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ ।

दफा २५३ (क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पु–याउने डर वा त्रास देखाएमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । २५३ (ख) मा कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पु–याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाइ आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा १ वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।

कानूनमा विभिन्न थरीका व्यवस्था भएता पनि हनी ट्र्याप गर्ने समूहहरू जताततै तीव्र रूपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ । यस विषयमा पीडितहरूको मनोविज्ञान हेर्दा उनीहरू कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ ।

किनभने, बारम्बार सबैजसो पीडितलाई जबरजस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरू कानुनको दायरामा आउन नखोजेको पाइन्छ । त्यसकारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरूले कुनै पनि महिला–पुरुषमा भेदभाव नराखी सबैखाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापेक्ष भइरहने यस्ता किसिमका अपराधहरू नियन्त्रण गर्न सहज हुन सक्छ ।

(लेखिका शाह अधिवक्ता हुन् ।)