धेरै टाढा नजान एमालेलाई वर्षमानको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एमालेसँग पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्।
राजधानीमा शनिबार आयोजित ‘माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरू’को सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि वेला मिल्न सक्ने बताएका हुन्।
फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न उनले एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे। ओलीले गत साता संसदमा बोल्दै फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिए आन्दोलन गर्ने भनेर बताएका थिए । सोही विषयलाई लिएर पुनले माओवादीसँग दुरी नबढाउन आग्रह गरेका हुन् ।
‘हिजो हामीले नेकपा बनायौँ। यद्यपि, टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला। फेरि पनि कम्युनिस्ट पार्टीहरू मिलेर ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन या संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ,’ पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु, धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस्। हामी त्यसलाई अस्वीकार गर्दछौँ।’
प्रतिक्रिया