कालिमाटी पुलमा भ्रष्टाचारः ठेकदारलाई जरिवाना, कर्मचारीलाई सफाइ

काठमाडौं । कमजोर गुणस्तरका कारण प्रयोगविहिन रहेको टेकु–कालीमाटी जोड्ने पुलमा भएको भ्रष्टाचार मुद्दामा कर्मचारीले सफाई पाएका छन् । ठेकदारलाई भने जरिवानाको फैसला भएको छ ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई एक करोड १४ लाख ७६ हजार जरिवाना हुने सजाय सुनाएको हो । चारजना कर्मचारीले सफाइ पाएका छन्।
गुणस्तरहीन पुल बनाउँदा मूल्याङकन नगरी जमानत फुकुवा गरिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । कार्यसम्पादन जमानत नवीकरण गरी ल्याउनुपर्नेमा सोअनुसार नल्याई एक करोड ७२ लाख १४ हजार रुपैयाँको मात्र कार्यसम्पादन जमानत नवीकरण गरी ल्याएको र सोहीअनुसार म्याद थप गराई एक करोड १४ लाख ७६ हजार को कार्यसम्पादन जमानत फुकुवा गरेको अख्तियारको अभियोग थियो । आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपाली, तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापा, लेखापाल गिरीप्रसाद श्रेष्ठ र लेखा अधिकृत श्यामबहादुर खत्रीले सफाई पाएका छन् ।
सडक विभागअन्तर्गतको काठमाडौं दीगो सहरी यातायात आयोजनामार्फत विष्णुमति खोलामाथि उक्त ६० मिटर लामो पुल बनाएको थियो । पुल निर्माणमा भएको भ्रष्टाचारको अर्काे पनि मुद्दा परेको थियो । हालसम्म सो पुल प्रयोगविहिन छ ।
प्रतिक्रिया