NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

निर्धारित समयमा कहिल्यै पुगेन द्रुत बस !

काठमाडौं । उद्घाटनका दिन ट्राफिक व्यवस्था कडा पारेर शान्तिवाटिकादेखि सूर्यविनायकसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली ४५ मिनेटमा पुगेको थियो । तर, त्यसयता भने अस्तव्यस्त ट्राफिक व्यवस्थापन र पूर्वाधारको कमीका कारण प्रभावकारी बन्न सकेन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी पक्षबाट पूर्वाधार र ट्राफिक व्यवस्थापनमा सहजीकरण नभएको बताए । ‘व्यवसायी यस प्रकारको बस सेवा सञ्चालन गर्न पछि हटेका होइनन्, तर सरकारले आवश्यक सहयोग गरिदिएन,’ उनले भने, ‘सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन नगरिदिने हो भने यस प्रकारको बस सेवा सञ्चालन गर्न सकिँदैन ।’ उनका अनुसार यसमा व्यवसायीको भन्दा पनि सरकारको कमजोरी छ ।

सरकारले दु्रत बस हिँड्ने रुटमा पूर्वाधार व्यवस्थित बनाउनुपर्छ । ‘सडकमा मोटरसाइकलको कुरूप हटाउन र सार्वजनिक यातायातमा आकर्षण बढाउन यस्तो किसिमको बस सेवा सञ्चालन गरिएको थियो,’ वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘तर, सरकारले पूर्वाधारलाई व्यवस्थित बनाएको छैन,’ उनले भने, ‘विदेशमा यस्तो किसिमको बसलाई छुट्टै किसिमको पूर्वाधार हुन्छ, हामीकहाँ पनि पूर्वाधार व्यवस्थित बनेन भने यो किसिमको बस सेवा सञ्चालन गर्न सकिँदैन ।’

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले व्यवसायीहरूलाई दु्रत बसको नियमअनुसार चल्न बाध्य नपारिएकाले चल्ने वा नचल्ने निर्णय व्यवसायीमै भएको बताए । ‘हामीले व्यवसायीलाई सहज हुने कुनै सुविधा दिएका छैनौँ, उहाँहरू यो नियमअनुसार चल्न बाध्यकारी हुनुपर्छ भन्ने पनि होइन,’ उनले भने, ‘एउटा प्रतिबद्धता र आग्रह हो, यसमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सहजीकरण पनि गरेको छ, सायद दसैँका वेला भएर बन्द भएको होला ।’ दु्रत बसको रुट र नियममा चल्ने बसलाई पनि रुट परमिट खुला भएकाले ती बस रिजर्भ, लोकललगायत रुटमा चल्न थालेका छन् ।

तर, दसैँपछि ती बसहरू द्रुत बसकै नियममा चल्ने प्रवक्ता पनेरूले जानकारी दिए । त्यसो त पछिल्लो समय दु्रत बस सेवाबारे पनि विभिन्न टीका–टिप्पणी आइरहेका छन् । सडकमा रङ लगाउन ठूलो रकम खर्च गरे पनि यस प्रकारको बस सेवा प्रभावकारी नबनेको आलोचना हुने गरेको छ ।
नयाँ पत्रिका दैनिकबाट