नेपालको लेखा प्रणालीका विशेषता र नगदमा आधारित लेखा प्रणालीका सबल र दुर्बल पक्ष

जनतामा विश्वास देखिन्छ – लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले नेपालको लेखा प्रणालीका विशेषता र नगदमा आधारित लेखा प्रणालीका सबल र दुर्बल पक्षबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।
नेपालको लेखा प्रणालीको विशेषताबारे उल्लेख गर्दै नगदमा आधारित लेखा प्रणालीको सबल र दुर्बल पक्षबारे छोटो टिप्पणी गर्नुहोस । ५+५ =१०
१. विषय प्रवेशः
कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य पूरा गर्न सञ्चालन गर्ने व्यवस्थापकीय तथा आर्थिक क्रियाकलापको अभिलेख राख्ने कार्य नै लेखा हो । नेपालको लेखा प्रणालीमा विभिन्न सिद्धान्तहरुलाई अबलम्बन गरी लेखा राख्ने गरिन्छ । सोही अनुसार नेपालको सार्वजनिक लेखा प्रणालीका विशेषताहरु निर्माण भएका छन् । उक्त विशेषता मध्ये नगदमा आधारित लेखा प्रणाली पनि एक हो । यसका सबल तथा दुर्बल पक्ष विद्यमान रहेका छन् ।
२. नेपालको लेखा प्रणालीका विशेषताहरु
नेपालको लेखा प्रणालीका विशेषताहरु देहाय बमोजिम रहेका छनः
- नगद कारोबारमा आधारित छ,
- राजश्व लेखा दोहोरो श्रेस्तामा आधारित छैन,
- आर्थिक वर्षको अन्त्यमा भार पर्ने प्रकृतिको छ,
- पेश्कीलाई खर्चको व्यवहार गर्ने प्रकृतिको छ,
- लागत लेखा प्रणालीमा आधारित छैन, केबल कारोबार देखाउँछ,
- दाताहरुको आवश्यकता पूरा नगर्ने केबल आन्तरिक आवश्यकता मात्र पुरा गर्ने खालको छ,
- सबै प्रकृतिका कार्यालयलाई एकै प्रकारको लेखा प्रणाली रहेको छ,
- बजेट र लेखा प्रणालीबीच अपेक्षित तालमेल छैन,
- नियम र कार्यबिधिको माध्यमबाट नियन्त्रण गर्न सक्षम छ, तर नतिजा र प्रभावलाई वास्ता गर्दैन,
- वाह्य संस्था र निकायले अबलम्बन गरेको लेखा प्रणालीसँग सापेक्षित पाइँदैंन ।
३. नगदमा आधारित लेखा प्रणालीका सबल र दुर्बल पक्ष
कारोबार र घटनालाई नगदका आधारमा मात्र अभिलेखांकन गर्ने लेखा प्रणाली नगदमा आधारित लेखा प्रणाली हो । कुनै कानुन र नीतिबाट घोषणा नगरिकनै पनि परम्परागत रुपमा नै नेपालको लेखा प्रणाली नगदमा आधारित भएर प्रचलित छ । यसका सबल र दुर्बल पक्षलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छः
३.१ सबल पक्ष
- कार्यबिधिगत जटिलताहरु कम भएकाले कार्यान्वयन गर्न सजिलो छ,
- नगद प्रवाहलाई राम्ररी अनुगमन गर्न सकिन्छ,
- न्यून प्राविधिक दक्षता र विकसित प्रविधिको अवलम्बन बिना नै अपनाउन सकिन्छ,
- कम खर्चिलो तथा नियन्त्रण गर्न सजिलो छ,
३.२ दुर्बल पक्ष
- नगद प्रवाहलाई मात्र देखाउन सक्छ,
- लेखा विवरणले वर्षभरिको खर्च प्रतिनिधित्व गर्न सक्दैन,
- राजश्व र अन्य ऋणलाई समेट्न सक्दैन,
- संगठनका सम्पत्ति, ह्रासकट्टी तथा आर्जित मूल्यलाई लेखांकन गर्दैन,
- संगठनले भविष्यमा भुक्तानी गर्नुपर्ने गर्नुपर्ने दायित्वलाई देखाउँदैन
लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया