NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पूर्वसचिवका नजरमा राम्रा सचिवहरू

बहालवालामा पनि राम्रा सचिव छन् : त्रिताल, प्रशंसा गर्न लायक एक जना पनि देख्दिनँ : मैनाली

काठमाडौं । नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेले एक समय निजामती सेवाका कर्मचारीलाई तिनको जिम्मेवारी र कर्तव्यबोध दर्शाउँदै दिएको सदाचार र सुशासनको प्रवचन निकै चर्चित भयो । तर कालान्तरमा उनै सचिव पाण्डे नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेको अभियोगमा पक्राउ परे । काठमाडौं जिल्ला अदालतको आदेशमा पाण्डे अहिले पुर्पक्षका लागि कारागारमा छन् ।

कुशल प्रशासकमा तीन कुरा निष्ठा, नैतिकता र व्यवसायिकता मूल मानिन्छ । तर निजामती सेवाका विभिन्न पद हुँदै सचिव बनेका प्रशासकहरूमा यसको कमी हुँदा कानूनी तथा नैतिक प्रश्न उब्जन थालेका छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल सचिवहरूको इमानदारितामाथि प्रश्न उठे पनि राम्रा सचिवको अहिले पनि कमी नरहेको बताउँछन् ।  जसमा उनले एकनारायण अर्याल, रामप्रसाद घिमिरे, केवल भण्डारी, तोयम राय, गोकर्णमणि दुवाडी, सुमनराज अर्यालको नाम लिए ।

त्रितालका अनुसार प्रशासनलाई डोहो–याउने सचिवमा नेतृत्व क्षमता, कार्यसम्पादन, इमानदारिता, सदाचारिता, राजनीतिक व्यक्तिसँगको समन्वयात्मक सम्बन्ध, अन्य कर्मचारीसँगको व्यावसायिक सम्बन्ध, उसले दिएका योगदान महत्त्वपूर्ण हुन्छन् । यिनै सूचकका आधारमा राम्रा बहालवाला सचिवको नाम आफूले लिएको उनले अर्थ्याए ।

‘यी सूचक कसैमा धेरै होला, कसैमा थोरै । तर सरसर्ती हेर्दा अहिलेका यी सचिवहरूमा यस्तो विशेषता छ जस्तो लाग्छ,’ उनले भने ।

अवकाश पाइसकेका पुराना केही सचिवहरू पनि उनका लागि प्रिय छन् । ‘०४६ सालभन्दा अघि धेरै राम्रा सचिव थिए भनिन्छ । ०४६ पछि कुनै न कुनै सचिवसँग सम्पर्कमा आएको र कोहीको बारेमा सुनेका आधारमा राम्रा लागे,’ उनले भने, ‘मैले नसुनेका र नचिनेका अन्य सचिवहरू पनि राम्रा हुन सक्छन् । तर काम गरेको, चिनेको र सुनेमध्येका केही नाम यहाँ लिएको हुँ ।’

पूर्वमा उनले भोजराज पोखरेल, लीलामणि पौड्याल, प्रेमकुमार राई, सोमलाल सुवेदी, स्व. माधव घिमिरे, बाबुराम आचार्य, दुर्गा भट्टराई, मधुरमण आचार्य, मधु रेग्मी, पूर्णचन्द्र भट्टराई, दीपेन्द्र पुरुष ढकाल, गोपीनाथ मैनाली, उमेश मैनालीको नाम लिए । त्यस्तै, लालशंकर घिमिरे, द्वारिकानाथ ढुंगेल, कृष्ण ज्ञवाली, जयमुकुन्द खनाल, शंकर कोइराला, सुमन शर्मा, वमन न्यौपाने, विमल वाग्ले, मणिराम ओझा पनि त्रिताललाई राम्रा लाग्छन् ।

पूर्वसचिव गोपीनाथ मैनालीको तर्क भने अलिक फरक छ । उनी विगतमा देशले धेरै कुशल सचिव पाए पनि अहिले त्यस्ता अनुहार पातलिँदै गएको सुनाउँछन् । बहालवाला सचिवमा प्रशंसा गर्न लायक एक जना पनि नरहेको अनौठो जिरह उनले पेश गरे । नेपालवाचले केही पूर्व प्रशासकहरूसँगको कुराकानीका आधारमा राम्रा सचिव र उनीहरूले गरेका राम्रा काम केलाउने जमर्को गरेको थियो । तर पूर्वसचिव मैनालीलाई बहालवाला राम्रा सचिव सम्झनसमेत हम्मे–हम्मे पर्यो । ‘अहिले जति पनि सचिव छन्, तीमध्ये कोही पनि प्रशंसा गर्न लायक छैनन,’ मैनालीले आफ्नो मूल्यांकन सुनाए ।

बहालवालामध्ये एक जना पनि राम्रा सचिव नहुनुको कारण के ? मैनालीले यसका तीन कारण औंल्याए, निष्ठा, नैतिकता र व्यवसायिकताको अभाव । जति पढे पनि अहिलेका सचिवहरूमा व्यावहारिकता नदेखिएको मैनालीको ठम्याइ छ । ‘मुख्यतः उनीहरू आफूले गर्नुपर्ने कामबारे सुसूचित छैनन् र राजनीतिज्ञसँग ठाडो कुरै गर्न सक्दैनन्,’ पूर्वसचिव मैनालीले भने ।

मैनालीको विचारमा राम्रा सचिवमा दुई विशेषता हुनै पर्छ । एक, कर्मचारी प्रशासनमा राजनीतिको सम्बन्ध सूत्र कायम गर्न सक्ने क्षमता । अर्को, व्यवस्थापकीय सीप, क्षमता प्रदर्शन गर्न सक्ने हैसियत । यी दुई विशेषता सरकार अस्थिर हुँदा, संकट आउँदा, कर्मचारीतन्त्रको स्तर घट्दा अत्यन्तै महत्त्वपूर्ण हुने उनले सुनाए ।

यिनै दुई विशेषताका आधारमा उनलाई केही पूर्वसचिवहरू अत्यन्तै राम्रा लाग्छन् । भुवनेश्वर खत्री, राधारमण आचार्य, नरकान्त अधिकारी, उमेश मैनाली, रामेश्वर खनाल, शारदाप्रसाद त्रिताल, जनकराज जोशी, युवराज भुसाल, ज्ञानचन्द्र आचार्य, जयमुकुन्द खनाललगायत उनको मानसपटलमा गहिरो छाप छोड्न सफल पूर्वसचिव हुन् ।

उनीहरूमध्ये नेपालको परराष्ट्र सेवामा ज्ञानचन्द्र आचार्यलाई मैनालीले न भूत न भविष्यको संज्ञा दिए । मैनालीका बुझाइमा नेपालको प्रशासनमा आचार्यजस्तो कूटनीतिक क्षमता भएका सचिव न हिजो थिए न अहिले छन् न त भावी दिनमै आउनेछन् । विज्ञता, निष्ठा र अनुभवका कारण संयुक्त राष्ट्र संघदेखि बाह्य फोरममा कूटनीति कस्तो हुनुपर्छ भन्ने विषयमा उनी राम्रो दख्खल राख्थे ।

नेपाल मात्रै होइन, सार्कमै क्षमतावान् कूटनीतिज्ञको रूपमा भारतमा उनको चर्चा हुने गथ्र्यो । भारतका प्रशासकहरू अनौपचारिक रूपमा यस्तो क्षमतावान् कूटनीतिज्ञ नेपालमा आजसम्म नदेखेको भन्दै प्रशंसा गर्ने गर्थे । उनै आचार्य कालान्तरमा संयुक्त राष्ट्र संघको उपमहासचिव पनि भए । नेपालको प्रतिनिधित्व गरेर यो भूमिकामा आजसम्म कोही पनि पुगेका छैनन् ।

उनी पररष्ट्र सचिव हुँदा श्रम सचिव श्याम मैनालीसँगको सहकार्यमा विदेश जाने नेपालीका लागि श्रम सहकारीको स्थापना गर्ने पहल भएको थियो ।

हुलाक सेवाबाट आएका जयमुकुन्द खनाललाई पनि मैनाली राम्रा सचिवको रूपमा सम्झन्छन् । गैरकृषि पृष्ठभूमिबाट आए पनि उनले कृषि मन्त्रायलयमा रहँदा पशु सुरक्षा, क्वारेन्टाइन, खाद्य सुरक्षा, गुणस्तर नियन्त्रण, पशु विकासलगायतका प्राविधिक विषयका कामलाई राम्ररी निभाएको मैनालीको विश्लेषण छ । यसअघि प्राविधक विज्ञताका सचिवले पनि उनको तुलनामा राम्रो भूमिका निभाउन नसकेका कारण मैनालीको नजरमा उनले राम्रो सचिवको रूपमा छाप छोडेका छन् ।

लोकतन्त्र आएपछि गृहसचिव उमेश मैनालीले निभाएको भूमिकालाई पनि उनले प्रशंसनीय मानेका छन् । गृहलाई उदाहरणीय निकायको रूपमा स्थापित गर्न उनको भूमिका थियो । संविधानसभावको चुनाव, माओवादी द्वन्द्व व्यवस्थापन, राजा ज्ञानेन्द्रलाई हटाएर प्रधानमन्त्रीलाई कार्य हस्तान्तरण गर्नुपर्नेजस्ता जिम्मेवारीलाई उनले राम्ररी सम्पादन गरेका कारण आफ्ना लागि उदाहरणीय पात्र बनेको मैनालीले बताए ।

मैनालीको नजरमा रामेश्वर खनाल पनि सफल अर्थ सचिव हुन् । नेपालको वित्तीय व्यवस्थापनमा उनले निभाएको भूमिका आजसम्म पनि धेरैले सम्झन्छन् । मैनालीका भनाइमा आफ्नो कार्यकालमा खनालले खर्च उच्छृंखल हुन दिएनन् र कर्मचारीको आचरणमा पनि विशेष ध्यान दिएका थिए । बजेट व्यवस्थापनमा उनले गरेका काम प्रशंसायोग्य भएको मैनालीको ठम्याइ छ ।

मैनालीको राम्रा पूर्वसचिवको सूचीमा रहेको अर्को नाम हो, शारदाप्रसाद त्रिताल । राम्रो हुँदा–हुँदै पनि त्रिताललाई परिस्थितिले साथ नदिएको मैनाली ठान्छन् । ‘नेपालको प्रशासनका लागि क्षमतावान् र निष्ठा भएको व्यक्तित्व हुँदाहुँदै पनि समय अभावका कारण उहाँले कार्यक्षमता देखाउन नपाएजस्तो लाग्छ,’ त्रितालबारे मैनालीले भने ।

उमेर हदका कारण त्रिताल सचिव भएको छोटो समयमै अवकाश भएका थिए । अवकाश पाइसकेपछि उनको नेतृत्वमा बनेको छानबिन समितिले बालुवाटार परिसरको ललितानिवास जग्गा घोटाला प्रकरणको सत्यतथ्य उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । आज सोही अनुसन्धानको बलमा प्रहरीले थप अनुसन्धान गरेर कारबाही अघि बढाएको छ ।

भूमिका पाएर समय परिस्थितका कारण निभाउन नपाएका राम्रा सचिवमा उनले गोकर्णमणि दुवाडी र देवेन्द्रराज पौडेललाई सम्झिए । दुवाडी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छन् । उनको क्षमता र निष्ठा दुवै राम्रो भए पनि देखिनेगरी काम गर्न नसकेको उनले बताए । पूर्वसचिव पौडेल पनि राम्रो भएर पनि क्षमता देखाउन सक्ने ठाउँमा बस्न नसकेको उनको गुनासो थियो । पौडेलले केही समय निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बिताएका थिए ।

नाम नबताउने शर्तमा अर्का एक पूर्वसचिवले पनि अहिलेका कुनै पनि सचिवलाई ‘राम्रो’को श्रेणीमा राख्न नसकिने प्रतिक्रिया दिए । उनको कार्यानुभवका आधारमा पूर्वसचिवहरू सूर्यनाथ उपाध्याय, भानु आचार्य, विमल कोइराला, विद्याधर मल्लिक र उमेश मैनाली अब्बल र आदर्श रहे ।

उनका अनुसार, नेपालको सार्वजनिक प्रशासनमा उपाध्यायको राम्रो पकड थियो । विशेषगरी नेपालको जलस्रोतको क्षेत्रमा उपाध्यायले गरेका कामहरू निकै सह्रानीय रहेको ती पूर्वसचिवको भनाइ छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहिसकेका उपाध्यायलाई अहिलेसम्मकै अब्बल आयुक्तको रूपमा पनि लिइन्छ ।

स्वभावले सरल लाग्ने पूर्वसचिव भानु आचार्य व्यवहारमा पनि साँच्चै बुझेर काम गर्नेमा पर्छन् । ती पूर्वसचिवको नजरमा उनले उद्योग विभाग, उद्योग मन्त्रालय र महालेखापरीक्षक हुँदा गरेका काम सह्रानीय छन् ।

प्रशासनवृत्तमा मुख्यसचिवको नाम आउँदा कहिल्यै नछुट्ने नाम हो, विमल कोइराला । अर्थ व्यवस्थाबारे दख्खल राख्ने कोइराला अहिलेसम्मकै मुख्यसचिवमध्यमै राम्रो दरिन्छन् । स्पष्ट वक्ता र राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा राम्रो ज्ञान भएका कोइरालाका कामहरूले उनी आदर्श लाग्ने गरेको ती पूर्वसचिवले बताए ।

ती पूर्वसचिवका भनाइमा नेपालको कर प्रणालीलाई राम्ररी बुझेर आफ्नो भूमिका निभाउनेमध्येमा पर्छन्, पूर्वअर्थसचिव विद्याधर मल्लिक । विशेषगरी कर प्रणालीमा मल्लिकले निभाएको भूमिका नै आफूलाई विशिष्ट लागेको उनले बताए । उनको नजरमा पूर्वसचिव उमेश मैनाली बौद्धिक र स्पष्ट वक्ता हुन् । गृह सचिवको रूपमा उनले निभाएको भूमिका प्रशंनीय रहेको उनले निर्धक्क बताए । योसँगै अवकाश पछि पनि नेपालको प्रशासन सुधारमा सक्रिय रहने उनको बानी आफूलाई मनपर्ने उनले सुनाए ।

पूर्वसचिव उमेश मैनालीका नजरमा नारायणराज तिवारी र विमल कोइराला अब्बल र राम्रा सचिव हुन् । तिवारी जुनसुकै पार्टीको सरकारमा आए पनि आफ्नो टेबलमा फाइल अड्काएर राख्दैनथे । ‘यो’ र ‘त्यो पार्टी’को सरकार नभनी गर्न मिल्ने अवस्थामा निर्णय प्रक्रियालाई अल्झाउने काम उनीबाट कहिल्यै पनि भएन । उनको यस्तै व्यावसायिक आचरणकै कारण आफ्ना लागि आदर्शको पात्र बनेको मैनाली सुनाउँछन् ।

अर्कोतर्फ विमल कोइरालालाई उनले बौद्धिक सचिवको रूपमा व्याख्या गरे । राजाको प्रत्यक्ष शासनकालमा कर्मचारीको जागिर खोस्ने कानुन ल्याउन लागिएकोमा उनकै अडानले धेरैको जागिर बचेको मैनालीको अनुभव छ । योसँगै लोक सेवाको परामर्शबिनै मन्त्रीको छोरालाई परराष्ट्र सेवामा ल्याउनेगरी ठाडो नियुक्ति दिने कामलाई पनि उनले रोकेका थिए । यी दुई अडानका कारण मैनालीका नजरमा कोइराला राम्रा सचिव हुन् ।

२०४९ सालमा सचिव भएका द्वारिकानाथ ढुंगेललाई मन परेका सचिवहरूको सूची लामो छ । पढेको, भोगेको, सुनेको, काम गरेको र अहिले काम गरिरहेकाहरूलाई नियालेको एक अध्येताका हिसाबले सम्झन लायक केही सचिवहरूको नाम उनले साझा गरे । उनका अनुसार, ००८ देखि ०१७ सालसम्म बौद्धिक, अनुभवी र मिहिनेती व्यक्तिहरूले सचिव पद सम्हालेको देखिन्छ । पहिलो समूहमा उनलाई मनपर्ने सचिवहरूमा कुलनाथ लोहनी, हिमालयशमशेर जबरा, प्रद्युम्नलाल राज भण्डारी र रुद्रराज पाण्डे पर्छन् ।

त्यसपछिका सचिवहरूमा नरेन्द्रमणि आचार्य दीक्षित, शोभाजंग थापा, सरदार गुञ्जमान सिंह, चन्द्रबहादुर थापा, प्राध्यापक रामप्रसाद मानन्धर, सरदार भीमबहादुर पाण्डे, नरप्रताप शमशेर थापा, रामप्रसाद जोशी, शम्भुप्रसाद ज्ञवाली, कृष्णप्रसाद घिमिरे, प्रेम नरसिंह प्रधान, मेघ नरसिंह प्रधान, टंकप्रसाद आचार्य, यदुनाथ खनालबाट पनि उनी प्रभावित छन् ।

२०१७, ०१८ सालका सचिवहरूको कामबारे भारतमा पनि निकै प्रशंसा हुने गरेको उनले सुनाए । ‘त्यतिबेला हिन्दूस्तानमा राज्य व्यवस्था जे–जस्तो भए पनि राजा महेन्द्रले राज्य सञ्चालनमा भने मान्छे चिनेका थिए । दश जना सचिवलाई लिएर पूरै राज्य चलाए भनेकै हामीले सुनेका छौं,’ उनले भने ।

त्यतिबेलाका सचिवमा उनले कुलशेखर शर्मा, प्रद्युम्नलाल राजभण्डारी, यादवप्रसाद पन्थ, चन्द्रबहादुर थापा, रत्नबहादुर विष्टलगायतको नाम स्मरण गरे ।

आफूले व्यहोरेका सचिवमध्ये उनलाई भुवनमान सिंह प्रधान, शिवनारायण दास, चन्द्रकला किरण, सन्तबहादुर राई, मधुसुदन ढकाल निकै मिहिनेती लाग्थ्यो । सँगै काम गर्दा लेख्न सक्ने, मिहिनेत पनि गर्ने र अक्षर पनि राम्रो भएको सचिव गोरक्षबहादुर न्हुछें प्रधान थिए । अच्युतबहादुर राजभण्डारी, वीरबहादुर शाही, शेरबहादुर शाही, रामचन्द्र मल्होत्रा, तारादेव भट्टराई पनि ढुंगेललाई मन परेका सचिव हुन् । ऐन, कानुन नछोड्ने र प्रशासनमा कडा रूपमा आफूलाई स्थापित गर्ने सचिवमा उनले नरकान्त अधिकारी, कृष्णबहादुर मानन्धर र दीर्घराज कोइरालाको नाम सम्झिए ।

उनीहरूले सचिव पदको कुर्सीको इज्जतलाई थप बढाएको र आफूलाई निष्कलंक प्रस्तुत गरेको ढुंगेलको बुझाइ छ । उनको अनुभवमा डा. देवेन्द्रराज पाण्डे पनि आफ्नो अडान भएका बौद्धिक सचिव थिए । त्यसपछिका पुरुषोत्तम ओझा र किशोर थापा पनि उनलाई मनपर्ने सचिव हुन्।

राम्रा पूर्वसचिवको सूचीमा उनले रामेश्वर खनाल, शारदाप्रसाद त्रिताल, गोपीनाथ मैनालीलाई पनि राखेका छन् । लीलामणि पौड्याल, कृष्णहरि बास्कोटा र विमल कोइरालाले अवसर पाएमा अझै पनि राम्रो काम गर्न सक्ने विश्वास उनमा छ । ‘उहाँहरूको व्यक्तित्व र क्षमताका आधारमा अझै केही गर्न सक्ने हो । गरे हुन्थ्योजस्तो लाग्छ,’ उनले भने ।

बहालवाला सचिवहरूमध्येमा रामप्रसाद घिमिरेबाट ढुंगेलले धेरै आशा राखेका छन् । मिहिनेत गरेमा उनले नतिजामूलक काम गर्न सक्ने ढुंगेलको विश्वास छ । ‘उहाँलाई मैले उपसचिव हुँदादेखि नै नियालेको हुँ । राम्रो गर्न सक्नुहुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘अझ राजनीतिका आधारमा निजामती नचलाउने हो भने तल्लो पदमा पनि निक्कै राम्रा मान्छे छन् जस्तो लाग्छ । जो सचिव हुन लायक छन् ।’ डा. मदनकुमार भट्टराईमा पनि ढुंगेलले राम्रो काम गर्न सक्ने सम्भावना देखेका छन् । ढुंगेलको बुझाइमा डा. भट्टराईसँग नेपालको परराष्ट्र नीतिलाई विश्वस्तरमा चिनाउने ल्याकत छ ।

नेपालको निजामतीमा सन् २००८ सालमा सचिव पदको सुरुवा हुँदा १० जना सचिव थिए । यो संख्या अहिले ७३ पुगेको छ । भागवण्डाको राजनीतिले प्रशासनमा पनि ठाउँ पाएसँगै सचिवको संख्या बढ्दै गएको जानकारहरूको भनाइ छ । संख्या बढेसँगै सचिव पदको स्तर पनि घट्दै गइरहेको टिप्पणी कतिपयले गर्ने गरेका छन् ।