NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
निगमको जहाज खरिद तयारी

यस्ता छन् बोलपत्रमा आवेदन दिन सक्ने सम्भावित वायुयान निर्माणकर्ता

काठमाडौं । चिनियाँ जहाज खरिदको आठ वर्षपछि नेपाल वायुसेवा निगमले फेरि आन्तरिक उडानमा जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । चीन सरकारसँग ‘जि टु जि’ मोडलमार्फत खरिद गरिएका ६ वटा चिनियाँ जहाज(दुईवटा अनुदानमा) पूर्ण रूपमा असफल भएपछि आन्तरिक उडानमा खुम्चिएको निगमले अब भने उपस्थिती बढाउने पहल थालेको हो ।

व्यवसायिक रूपमा झण्डै दुई अर्ब घाटा भएको विवरण देखाउँदै निगमले चिनियाँ जहाज सधैंका लागि बन्द गर्ने निर्णय गरिसकेको छ । अर्थ मन्त्रालयले यसको व्यवस्थापनका लागि लिजमा दिने या विक्री गर्नेलगायतका बाटो खुलाएपनि ती जहाजको अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।

बरु दिनप्रतिदिन जहाजको मूल्य घट्दो अवस्थामा छ । समयमै निर्णय नगर्दा जहाजको मूल्य झनै खस्किदैं जाने निगमका अधिकारीहरूले बताउँदै आएका छन् । पूरा अवधी २५ वर्षमात्रै भएका चिनियाँ जहाज नेपाल भित्रिएकै आठ वर्ष भइसक्यो । वर्ष बित्दै जाँदा जहाजको आयुसँगै मूल्य झन् झन् घट्दै जान्छ । केही समयअघिमात्रै अमेरिकी कम्पनी एभिएसन एजेट म्यानेजमेन्टले जहाजको मूल्य निर्धारण गरेर निगमलाई प्रतिवेदन बुझाइसकेको छ । जसअनुसार पौने ७ अर्बमा खरिद गरिएको तीनवटा वाई–१२ र दुईवटा एमए ६० जहाजको विक्रि मूल्य २२ करोड रूपैयाँमा झरेको छ । पाँचमध्ये एउटा वाइ–१२ जहाज दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ । निगमले उक्त जहाजको बीमा रकम पनि बुझिसकेको छ ।

आन्तरिक स्रोतबाटै जहाज खरिद गर्ने तयारीमा रहेको निगमले तीनवटा जहाज खरिदका लागि बोलपत्र आव्हान गरिसकेको छ । यस्ता छन् बोलपत्रमा आवेदन दिन सक्ने सम्भावित वायुयान निर्माणकर्ताः

१) भाइकिङ

क्यानेडियन कम्पनी भाइकिङ एयरले उत्पादन गरिरहेको ट्वीन अटर जहाज दुर्गम उडानका लागि सर्वाधिक रूचाइएकोमध्ये हो । निगम आफैं पनि सकेसम्म ट्वीन अटर जहाज नै खरिद गर्ने पक्षमा छ । हाल निगममा उपलब्ध प्राविधिक जनशक्तिका कारण पनि प्रयोग गरिरहेकै जहाज थप भयो भने सञ्चालनका हिसाबले सहज हुने हो । त्यसवाहेक नयाँ जहाजमा ‘सिफ्ट’ गर्नुपरेको अवस्थामा जनशक्तिदेखि प्राविधिकको पुनः विकास गर्नुपर्ने हुन्छ । विगतमा बोइङबाट एयरबस र चिनियाँ जहाज सञ्चालनका क्रममा पनि निगमले यसको जटिलता भोगिसकेको छ । जसकारण ट्वीन अटर जहाज नै खरिद गर्ने पक्षमा निगम व्यवस्थापन रहेको हो । १९ सिट क्षमताको भाइकिङ ट्वीन अटर सिरिज ४०० को टेक अफ वेट ५,६७० केजी रहेको छ । जहाजको दुवै इन्जिनको कुल क्षमता १५०० साफ्ट हर्सपावर रहेको छ । यो जहाजले एकपटकमा १,५१४ लिटर इन्धन बोक्न सक्छ ।

२) डोर्नियर 

जर्मन कम्पनीले उत्पादन सुरु गरेको यो जहाज हाल भारतमै पनि उत्पादन हुन्छ । हिन्तुस्तान एरोनटिकल लिमिटेडले यो जहाज उत्पादन गर्ने अनुमतिपत्र प्राप्त गरेसँगै यो जहाज भारतमै पनि उत्पादन हुन थालेको हो । नेपालमा पनि सिता एयरले यो जहाज सञ्चालन गरिरहेको छ । विगतमा अग्नि एयरले नेपालका प्रायः दुर्गम विमानस्थलमा यही जहाजमार्फत सेवा दिइसकेका कारण नेपाली आकाशमा यो जहाज सफल रूपमा सञ्चालनमा आइसकेको हो । १९ सिट क्षमताको डोर्नियर २२८ जहाजको टेकअफ वेट ६४०० केजी रहेको छ । इन्जिन पावर ७१५ देखि ९२५ साफ्ट हर्सपावर रहेको यो जहाजले २,३५० लिटरसम्म इन्धन बोक्न सक्छ । इन्धन लागत उच्च हुने नेपाल जस्तो देशमा यो विशेषता महत्वपूर्ण मानिन्छ ।

३)लेट ४१० 

निगमले खुलाएको बोलपत्रमा आवेदन दिन सक्ने सम्भावना रहेको जहाज लेट ४१० पनि हो । चेक रिपब्लिकमा उत्पादन हुने यो जहाजको १२ वटा संस्करण आइसकेको छ । यो जहाज हाल नेपालमा समिट एयरले सञ्चालन गरिरहेको छ । पछिल्लो मोडलको लेट–४१० एनजीमा १९ सिट क्षमता छ । विशेषगरी चट्टानी पहाड, जंगल र ग्राभल तथा घाँसे धावनमार्ग भएका ठाउँमा यो जहाज राम्रो मानिन्छ । यसको अधिकतम टेक अफ वेट २,९७८ केजीदेखि ५,८९७ केजीसम्म(जहाज हेरेर) रहेको छ । दुई टर्बोप्रप इन्जिन रहेको यो जहाजको इन्जिन पावर ७५० साफ्ट हर्सपावर रहेको छ । जहाजको मोडल हेरेर यसले एकपटकमा १८९२ लिटर देखि ३०२८ लिटरसम्म इन्धन बोक्ने क्षमता राख्छ । यो जहाजको पनि ‘टेरेन क्लियरेन्स’ राम्रो मानिन्छ ।

४) सेस्ना स्काइ कुरियर 

१९ सिट क्षमताकोे यो जहाज पनि दुर्गम क्षेत्रको उडानका लागि निर्माण गरिएको हो । विशेषगरी यो जहाज दुई मुख्य कन्फिगरेसनहरूमा आउँछ । एउटा यात्रु बोक्ने प्रयोजनका लागि र अर्को कार्गो बोक्ने प्रयोजनका लागि बनाइएको यो जहाजले तीनवटा एलडी३ कन्टेनर बोक्न सक्ने क्षमता राख्छ । यसले दुर्गम र चुनौतीपूर्ण भू–भागमा सामान आपूर्ति र ढुवानी गर्न सहजै सक्छ । सेस्ना स्काइ कुरियरकाे यात्रु भेरियन्टले फूल ट्यांकमा लगभग १,६६७ किलोमिटरको माइलेज दिन्छ भने कार्गोको लागि थोरै कम छ । विमानको क्रुजिङ गति ३७० किलोमिटर प्रति घण्टा छ । जहाजको दुई इन्जिनको कुल पावर २,२०० साफ्ट हर्सपावर रहेको छ । यो जहाजको टेकअफ वेट अन्यको तुलनामा धेरै छ । अर्थात्, ९,५२५ केजीसम्म । एकपटकमा यो जहाजले ४,१२० लिटरसम्म इन्धन बोक्न सक्छ ।

उल्लिखित सबै जहाज स्टोल(सर्ट टेक अफ एन्ड ल्यान्डिङ) सञ्चालनका लागि डिजाइन गरिएका हुन् । जहाजको विभिन्न मोडल अनुसार यसका विशेषता पनि फरक छन् । नेपालमा असमान भू-भागका कारण अधिकांश एयरपोर्टका धावनमार्ग छोटा छन् । छोटो रनवेमा यी सहजै सञ्चालन हुन सक्ने जहाज हुन् । पहाडी चट्टान र मौसम नेपालमा वायुसेवा सञ्चालनको क्षेत्रमा चुनौतीपूर्ण मानिन्छन् । योसँगै उच्च भेगमा अवस्थित विमानस्थलका लागि पनि यी जहाज उपयोगी हुन्छन् । यी जहाज नेपालका साना सहरहरू जोड्न पनि उपयुक्त मानिन्छन् । यस्तो गर्दा दुर्गम क्षेत्रमा पहुँच सुधार, आर्थिक विकास र पर्यटनलाई टेवा पुग्न सक्छ ।

आउला त वाइ १२ एफ ?

स्टोल उडानका लागि चिनियाँ कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनको वाइ १२ एफ नयाँ मोडलको जहाज हो । हाल निगमसँग भइरहेका वाइ १२ इ जहाजको तुलनामा अत्याधुनिक मानिएको यो जहाज पनि नेपालका दुर्गम भेगका उडानका लागि उचित हुने जानकारहरू बताउँछन् । १९ सिट क्षमताको यो जहाजको टेकअफ वेट ७,२९० केजी रहेको छ भने इन्जिन पावर १,५०० साफ्ट हर्सपावर छ । एकपटकमा यो जहाजले २२०० लिटर इन्धन बोक्न सक्ने क्षमता राख्छ । तर निगममा आवेदन दिँदा उक्त जहाज एफएए र इएएसए सर्टिफाइड भएको न्यूनतम पाँच वर्ष हुनुपर्ने प्रावधान तोकिएको छ । व्यवस्थापनले तोकेको यो मापदण्डभित्र नपर्ने भएका कारण यो जहाजको आवेदन पर्न सक्ने सम्भावना न्यून छ ।

एन २१९

इन्डोनेसियाले निर्माण गरेको एन–२१९ जहाज पनि टर्बोप्रप इन्जिन भएको १९ सिटे जहाज हो । टेक आफ वेट ४००० केजी रहेको यसको इन्जिन पावर १,७०० साफ्ट हर्सपावर रहेको छ । एक पटकमा यो जहाजले १,९३० लिटर इन्धन बोक्न सक्ने क्षमता राख्छ । स्टोल उडानका लागि यो पनि उपयुक्त जहाज मानिन्छ । तर इन्डोनेसियाबाट सर्टिफाइड भएपनि यो जहाज इएएसए र एफएए सर्टिफाइड छैन । निगममा आवेदन दिनका लागि यो मापदण्डभित्र पर्नुपर्ने हुन्छ ।

इएएस्ए र एफएए सर्टिफाइड भएका कारण निगमले माथि उल्लिखतमा तीनवटामध्येबाट जहाज खरिद गर्ने सम्भावना छ । सेस्ना स्काइ कुरियर जहाज एफएए सर्टिफाइड भएपनि इएएसए सर्टिफाइड हुने तयारीमा छ । धेरै सम्भावना हुनेमा भाइकिङ, लेट ४१० र डोर्नियरको रहेका छन् । यी तीनवटै जहाज नेपाली आकाशमा सफल रूपमा प्रयोगमा आइसकेका जहाजहरू हुन् ।