NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विद्यालयमा टहरा बनाएर पढाउने योजनामा स्थानीय तह 

जाजरकोट । तिहारलगत्तै खुल्ने तरखरमा रहेका सामुदायिक विद्यालयमा भूकम्पले क्षति बनाएपछि तत्काल कसरी पठनपाठन सुरु गर्ने भन्नेमा स्थानीय तह समस्यमा परेका छन् ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मा रहेकाले तिहारलगत्तै विद्यालय खोल्नुपर्ने अवस्था छ ।  भूकम्पले अधिकांश विद्यालयमा क्षति हुनुका साथै चिसोयामका कारण अर्को समस्य थपिने भएकाले शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने विषयमा बहस हुन थालेको छ ।

अधिकांश घर बस्न योग्य नभएको अवस्थामा  विद्यालयसमेत भत्किएपछि विद्यार्थी चर्को समस्यमा परेका छन् । शैक्षिक क्रियाकलाप अगाडि बढाउनका वैकल्पिक टहरा निर्माण गरेर विद्यालय खोल्ने योजनामा रहेको स्थानीय तहले बताएका छन् ।

रूकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले टहरा बनाएर भए पनि पठनपाठन थाल्ने बताए । ‘अहिले उद्धारम लागि परेका छौँ । अब तिहारलगत्तै हामी टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्नेछौँ’, उनले भने ।

आठबिसकोटमा ६७ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमले जनाएको छ । इकाइ प्रमुख ताराप्रकाश पुनमगरले प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक बाटोबाट पठनपाठन सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

नलगाड नगरपालिकामा पनि वैकल्पिक तरिकाले विद्यालय सञ्चालनमा ल्याइने नगरप्रमुख डम्बर रावतले बताए। पठनपाठन सञ्चालनकाबारे प्रदेश सरकार, विभिन्न सङ्घ संस्थासँग छलफल गरेर भौतिक संरचनाभन्दा पनि, टहरालगायत उपाय अपनाएर गर्ने योजनामा रहेको उनको भनाइ थियो । नलगाढ बढी भूकम्पबाट प्रभावित क्षेत्र हो ।

नगरप्रमुख रावतका अनुसार उक्त नगरपालिकाभित्र ३४ विद्यालय पूर्णरूपमा क्षति भएका छन् । जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा भूकम्पबाट दुई सय सात सरकारी विद्यालयमा क्षति भएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा एक सय ५२ विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमका इकाइ प्रमुख पुनमगरले भूकम्पबाट ३८ विद्यालयमा पूर्ण र १७ विद्यालयमा आंशिक क्षति भएको जानकारी दिए।

उनका अनुसार भेरी नगरपालिकामा दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा १७ वटामा क्षति भएको छ । नलगाड नगरपालिकामा १२ विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा २१ वटामा क्षति पुगेको छ ।

छेडागाडमा तीन, कुशेमा चार र बारेकोटमा पाँच विद्यालय विद्यालय पूर्णरूपमा भत्किएका प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार शिवालय गाउँपालिकामा पाँच विद्यालयमा आंशिक र जुनिचाँदे गाउँपालिकामा २३ विद्यालयमा पूर्ण क्षति भएको छ ।

रुकुमको आठबिसकोटको माथिल्लो डोल्पासँग जोडिएको भागमा, जाजरकोटको नलगाड नगरपालिकाको माथिल्लो भागमा तथा बारेकोट गाउँपालिकामा बढी चिसो तथा हिमपात हुने गर्दछ ।

घरविहीन भएका बालबालिका अस्थायीरुपमा निर्माण गरिएका टहरामा गएर शिक्षा लिने सम्भावना बढेको छ । यसरी शैक्षिक क्रियाकलाप अगाडि बढाउँदा बालबालिकाको दिमागका कति मनोवैज्ञानिक त्रास होला भन्ने अर्को प्रश्न उठेको छ । अहिले पनि समयसमयमा बालबालिका झस्किने गरेका स्थानीय बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष