NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

इन्साईट टेक्नोलोजीको ‘नेटवर्क कन्क्लेभ नेपाल २०२३’ सम्पन्न

काठमाडौं । इन्साइट टेक्नोलोजीको आयोजना इनोभेट नेपाल ग्रुपको प्रायोजन तथा तथा अन्य सङ्घ संस्थाहरूको सहयोग एवं पहलमा नेपालमा सूचना प्रविधि पूर्वाधार तथा सुरक्षाको परिदृश्य विषयमा एक दिवसीय कार्यशाला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सूचना प्रविधिको विषयहरूमा ज्ञान आदानप्रदान, सीप विकास र नेपालमा सूचना प्रविधि सम्बन्धी प्रमुख नीतिगत विषयमा छलफल गर्न नेटवर्क कन्क्लेभ नेपाल पहिलो पटक आयोजना गरिएको हो । अब हरेक वर्ष याे कार्यक्रमलाई आफ्नो सामाजिक उत्तरदायित्वका रूपमा इन्साइट टेकनोलोजिले आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा सूचना प्रविधि विज्ञहरू, नीति निर्माताहरू, उद्यमीहरू, अधिकारकर्मीहरू तथा आगन्तुक विद्यार्थीहरू लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमलाई कोड हिमालय, भायनेट तथा इन्टरनेट गभर्नरन्यान्स इन्सचिट्युटको सहयोग रहेको तियो भने क्यान महासङ्घ, प्याकेट क्लियरिङ हाउस, यूथ आइ जी एफ नेपाल, नेपाल नेटवर्क अपरेटर ग्रुप, साउथ एसिया नेटवर्क अपरेटर ग्रुप र इन्टरनेट एक्सचेन्ज  नेपालको समेत समर्थन रहेको थियो ।

कार्यक्रमको प्रमुख उद्देश्य नेपालमा डिजिटल अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्दै शैक्षिक ज्ञान र व्यावहारिक विशेषज्ञता बिच मध्यस्थता कायम रहेकाे इन्साइटले जनाएकाे छ । कार्यक्रमको पहिलो सत्रमा इन्टरप्राइजेज वाइँ फाइ व्यवस्थापन, इन्टरप्राइजेज नेटवर्क सेक्युरिटी, आधारभूत साइबर सुरक्षाका अभ्यासहरू, नेटवर्क व्यवस्थापन लगायतका ४ वटा विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा इन्साईट टेक्नोलोजीका निर्देशक सुमन कुमार शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले विगत १२ वर्षदेखि नेपालमा नेटवर्क इनेबल, आईसीटी सेक्युरिटीसँगै आईसीटी पूर्वधारको विकासमा काम गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा भैरव टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत तथा साइबर सुरक्षा विज्ञ  विजय लिम्बुले साइबर सुरक्षा सम्बन्धमा नेपालको वर्तमान अवस्था विषयमा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप सचिव सुवास ढकालले सूचना प्रविधि पूर्वाधारमा नेपालको वर्तमान अभ्यास तथा अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साइबर सुरक्षा विज्ञ विजय लिम्बुले पछिल्लो समय साइबर सुरक्षामा चुनौती थपिरहेको बताए । उनले प्रविधि जती धेरै बढ्दै गयो त्यति नै यसले साईबर सुरक्षालाई चुनौती दिने औल्याए ।

लिम्बुले अहिले एआई जस्तो प्रविधिको विकासले पनि साइबर सुरक्षामा थप चुनौती दिइरहेको बताए । ‘सरकारले साइबर सुरक्षासम्बन्धी नीति नबनाउँदा यो झन झन बढ्दो छ,’ उनले भने । उक्त छलफलमा रोजा किरण वासुकलाले हाल नेपालको ३० प्रतिशत घरधुरीमा तार जडित इन्टरनेटको पहुँच पुगिसकेको कुरामा जोड दिएका थिए । त्यसै गरी नेपालको भौगोलिक जटिलताका कारण ग्रामीण बस्तीहरूमा इन्टरनेटको पहुँच पुर्याउन कठिन रहेको स्विकार्दै नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूर सञ्चार विकास कोस प्रयोग गरी ग्रामीण बस्तीहरूमा सूचना प्रविधिको पहुँच सुनिश्चितता गर्नका लागि निरन्तर प्रयास गरिरहेकोसमेत उनले उल्लेख गरे ।

त्यसै गरी नेपाल नेटवर्क अपरेटर ग्रुपका अध्यक्ष समित जनाले सेवा प्रदायकको तर्फबाट भई रहेका प्रयास तथा भोगी रहेका चुनौती हरूको बारेमा छलफल गरे । उनले नेपालमा डिजिटल असमानता धेरै नरहेको भएता पनि अझै ग्रामीण बस्तीहरूमा इन्टरनेट पुर्याउन भने चुनौती पूर्ण रहेको बताए ।

यसै गरी, छलफललाई निरन्तरता दिँदै बाल कृष्ण जोशीले दक्षिण एसियामा नेपाल एक अन्वेषक मुलुक रहेको र नेपालले सूचना प्रविधिको क्षेत्रमा विशेष गरी डिजिटल भुक्तानीको प्रविधिमा तथा साइवर सुरक्षाको क्षेत्रमा अलेख्य सेवा निर्यात गरी रहेको बताए। धेरै सम्भावना भएका यस्ता विधाहरूमा विशेष रूपमा ध्यान दिन समेत उनको आग्रह थियो ।

हाल विद्युतीय सुशासन आयोगकाले गरिरहेको कामहरूको बारेमा जानकारी गराउँदै, आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टले अहिले आयोगले नेपाल सरकारको सम्पूर्ण सेवा सुविधा हरेक नागरिकले सूचना प्रविधिको प्रयोग मार्फत उपभोग गर्न सक्ने गरी अहिले इ गभर्नेन्स ऐनको समेत तयारी भइरहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल कुमार दत्तले हाल मन्त्रालयले दूर सञ्चार प्राधिकरणको ग्रामीण दूर सञ्चार विकास कोष प्रयोग गरी सूचना प्रविधिको पूर्वाधार विकासमा काम भई रहेको, विद्युतीय सुशासन आयोग संयोजनमा व्यक्तिगत डेटा संरक्षण ऐन को तयारी भई रहेको जानकारी दिए । त्यसै गरी मन्त्रालयले हाल सूचना प्रविधि विभागलाई थप क्षमतावान् बनाउन नीतिगत पहल समेत गरिरहेको उनले बताए ।

कार्यक्रमकाे दाेस्राे सत्रमा नेपालमा सूचना प्रविधि पूर्वाधार तथा सुरक्षाको परिदृश्य विषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रम राखिएको थियो । छलफलमा ई-गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक रोजा किरण बासुकला, डिजिटल भुक्तानी उद्यमी बालकृष्ण जोशी र नेपाल नेटवर्क अपरेटर ग्रुप का अध्यक्ष समित जनासहित पाँच जनाकाे उपस्थिति थियो ।

कार्यक्रममा इन्साइट टेकनोलोजिका संस्थापक सुमन शर्मा र इनोभेट नेपाल ग्रुपका प्रतिनिधि प्रकाश श्रेष्ठले संयुक्त रूपमा नेटवर्क कनकेल्भ नेपाल २०२३ लाई सफल बनाउन भूमिका निर्वाह गर्ने व्यक्ति एवं संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।