NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भैरहवामा कर्मचारीकै मिलेमतोमा तस्करी : राजस्व घट्यो, भन्सार अधिकृत अनविज्ञ

काठमाडौं । आम्दानी र खर्चको तालमेल मिलाउन नसक्दा देशको आर्थिक अवस्था डामाडोल बन्दैछ । आर्थिक स्रोतमा आएको गिरावटलाई लिएर सिंहदबारमा हरेक दिन छलफल हुन्छ । तर राज्यले राजस्व संकलनका लागि खटाएका कर्मचारीहरु भने आफैँ तस्करीमा संलग्न हुने गरेको उजुरी सिंहदरबारमा आइपुगेको छ ।

सन्दर्भ हो, रुपन्देहीको सिद्धार्थनगर न.पा,-१, बेलहियास्थित भैरहवा भन्सार कार्यालयको । तस्करी नियन्त्रण गर्ने र राजस्व वृद्धिमा भूमिका खेल्नुपर्ने भन्सार कार्यालय, भैरहवाका केही कर्मचारी आफैँ तस्करीमा संलग्न छन् ।

भैरहवास्थित भन्सार कार्यालयका कर्मचारीहरुमाथि निगरानी गरिरहेको एउटा सरकारी संयन्त्रले त्यहाँका कर्मचारीको संलग्नता र गैरकानूनी कारोबारबारे विवरण सिंहदरबारमा पठाएको छ ।

उक्त विवरणअनुसार भन्सार कार्यालय भैरहवाका अधिकृत विकास उपाध्याय र भन्सार एजेन्ट विष्णु शर्माको मिलेमतोमा भन्सार छली गरि ठूलो मात्रामा राजस्व चुहावट गराउने काम भइरहेको छ । यो कामको लागि तस्करहरुको ठूलो संजाल रहेको र त्यसमा भन्सार कार्यालयबाट अधिकृत उपाध्यायसहितका कर्मचारीहरु संलग्न छन् ।

यस्तै तस्कर समूहसँग समन्वय गर्नेमा अर्को मुख्य पात्र भन्सार एजेन्ट विष्णु शर्मा हुन् । उनीहरुको योजनामा बेहलिया नाकाबाट तस्करीका सामानहरू नेपाल भित्रिरहेका छन् । त्यसरी तस्करीको सामान भित्र्याउन एक भारतीय कम्पनीको नाम प्रयोग गरिएको छ ।

सिंहदरबारमा पुगेको सूचनाअनुसार त्यो कम्पनीको नाम सोफिया कलेक्शन तथा अन्सारी ट्रेडर्स हो । यो कम्पनी सीमावर्ती क्षेत्र भारतको महाराजगञ्जस्थित सुनौलीमा इर्साद अहमको नाममा सञ्चालनमा छ ।

को को छन् अरु सलग्न ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत दर्ता भएको यो सुचनाअनुसार भन्सार कार्यालयको तर्फबाट विवरणहरु मिलाउन उपाध्यायको नेतृत्वका कर्मचारी संलग्न छन् । उपाध्याय र तस्करहरुको कारोबार तथा सामान ओसार पसारका लागि अन्य काम भन्सार एजेन्ट शर्माले मिलाउँछन् ।

शर्मालाई सहयोग गर्नका लागि तस्करको रुपमा सकिल शेक, शेक अली, विनय तिवारी, विनोद गुप्ता, रसुल मुसलमान लगायत संलग्न रहेको उक्त विवरणमा उल्लेख छ ।

यसरी भन्सार एजेन्टसँग मिलेर सामान तस्करी गर्न कार्यालयकै अधिकृतले मद्दत पु¥याएको भन्दै प्रधानमन्त्री कार्यालयमा दर्ता भएको विवरणमाथि अनुसन्धान हुने भएको छ ।

यो समूहले त्यहाँ के के गर्छ ?

भन्सार कार्यालयका अधिकृत, भन्सार एजेन्टको समेत संलग्नता भएकोले यो समूहबाट हुने आर्थिक अपराध निकै फराकिलो छ । उनीहरूले भन्सार कार्यालय नै छलेर चोरबाटोबाट सामान नेपाल भित्र्याउने समेत काम गर्छन् । मुख्यगरी उनीहरुले फर्जी डकुमेन्ट मिलाउने, फर्जी बिल बनाउने लगायतका गतिविधिमार्फत राजस्व चुहावट गराउन भूमिका खेल्दै आइरहेका छन् ।

अधिकृत उपाध्याय भन्छन्, प्रतिक्रिया दिन म सँग फुर्सद छैन

उजुरीमा उल्लेख भएको विवरणमाथि प्रतिक्रिया लिन नेपालवाचले अधिकृत उपाध्यायलाई सम्पर्क गरेको थियो । उपाध्यायले उल्लेखित आरोपहरुमाथि प्रतिक्रिया दिन आफूसँग फुर्सद नभएको बताए ।

त्यसअघि उनले एक शब्दमा उक्त आरोपहरु गलत भएको मात्रै भनेका छन् ।
उनले आफू कार्यालयमा बसेर काम गर्ने गरेको र तस्करीमा कुनै संलग्नता नभएको बताए । ‘म कार्यालयमा बसेर काम गर्ने कर्मचारी हुँ । त्यस्तो काम गरेको छैन,’ उनले भने ।

उपाध्याय केही समयअघिमात्रै कृष्णनगर भन्सारबाट सरुवा भएर भैरहवा भन्सार पुगेका हुन् ।

भैरहवा भन्सार प्रमुख भन्छन, मलाई त्यस्तो गरेजस्तो लाग्दैन

प्रमुख भन्सार अधिकृत–भैरहवा, नारद गौतम

आफ्ना अधिकृतले गरिरहेको गैरकानूनी कामबारे त्यहीँको सरकारी संयन्त्रले विस्तृत विवरणसहितको सूचना प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराउँदासम्म भैरहवा भन्सार कार्यालयका प्रमुख अधिकृत नारद गौतम त्यसबारे बेखबर छन् ।

प्रमुख अधिकृत गौतमका लागि अधिकृत उपाध्यायको मिलेमतोमा तस्करी भयो भन्ने विषय अपत्यारिलो विषय हो ।

उनले भने, ‘उहाँ भर्खरै सरुवा भएर आउनुभएको हो । यति छिट्टै उनले त्यस्तो गरेजस्तो मलाई लाग्दैन’ । यद्यपि तथ्य र प्रमाण भेटेको अवस्थामा आफूले कारवाही गर्ने गौतमको प्रतिवद्धता छ ।

 

लुम्बिनी प्रदेशमा अन्य कहाँ कहाँबाट हुँदैछ तस्करी ?

प्रदेशमा खटिएको सरकारी निकायहरुले केन्द्रीय सरकारलाई बुझाएको विवरणमा लुम्बिनी प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाहरुमा तस्करीजन्य गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ ।

प्रदेश अन्तर्गतका बर्दिया, बाँके, रुपन्देही, कपिलवस्तु लगायतका सीमावर्ती जिल्लाहरुबाट गैरकानूनी रुपमा खाद्यान्न, चिनी, पेय पदार्थ, लत्ताकपडा आदि मालसामान भारतबाट नेपालतर्फ ओसारपसार गर्ने कार्यमा बढोत्तरी भएको छ । त्यस्ता कामहरुमा सुरक्षा निकायका केहि कर्मचारीहरुको समेत मिलेमतो हुने गरेको विवरणमा उल्लेख छ ।