NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २० गते

प्रधानमन्त्रीको सचिवालयभित्र मनमुटाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा मनमुटाव बढेको छ । क्षमतावान व्यक्ति नहुनु र सचिवालयभित्रैकै विवाद हुँदा सचिवालय कमजोर बन्न पुगेको छ ।

सोही कारण प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले असन्तुष्टिकै कारण राजीनामा दिएको स्रोत बताउँछ । राजीनामा स्वीकृत भएपछि आफुले यसको कारण खुलाउने बताएका छन् । विवादकै कारण राजीनामा दिएकाले उनको राजीनामा स्वीकृत भएको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्रीको स्वकिय सचिव रहेकी गंगा दाहालकै कारण सचिवालयभित्र मनमुटाव बढेको छ । उनले आफुलाई मन परेको व्यक्तिलाई मात्रै प्रधानमन्त्रीसँग भेटाउने गरेकी छिन् । पार्टीकै कतिपय इमान्दार नेता तथा कार्यकर्ताको प्रचण्डसम्म पहुँच छैन । गंगाकै कारण व्यापारी र विवादास्पद व्यक्तिहरूको भने भिड लाग्ने गरेको छ । गंगाको कार्यशैलीका कारण सचिवालयका अन्य सदस्य तथा मन्त्रीहरु समेत रुष्ट छन् । तर, प्रधानमन्त्रीकै छोरी भएकाले गंगाविरुद्ध कसैले बोल्न सकेको छैन । जसकारण प्रधानमन्त्री समस्यामा पर्दै गएका छन् ।

गंगाको रुखो व्यवहारकै कारण सांसद अमेरश कुमार सिंहले पनि गम्भीर लाञ्छनासहित उनीविरुद्ध आक्रोश पोखेको स्रोत बताउँछ ।

अर्का स्वकिय सचिव रमेश मल्लसँग पनि गंगाको राम्रो सम्बन्ध छैन । उच्च प्रशासकहरु पनि सचिवालयकै कारण प्रधानमन्त्रीले गति लिन नसकेकाे र खराब व्यक्तिहरुको घेरामा परेको बताउँछन् ।