NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

मृत घोषणापछि १५ घण्टासम्म शवगृहमा राखिएका व्यक्ति जीवितै !

इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।

विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती सीता सदाले बताइन् ।

शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याइएको समाजसेवी राजेन्द्र पोख्रेलले बताए ।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित पाइएको समाजसेवी कटुवालले जानकारी दिए ।

अस्पतालले मृत घोषणा गरेर घर ल्याइएका सदाको दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, रामनामी, तिल, जौ, अबिरलगायत टीका, चुरापोते आदि सामग्री किनमेल गरिसकेका थिए । उनको दाहसंस्कारपछि श्रीमतीले लगाउने कपडासमेत व्यवस्था गरिसकिएको थियो ।

सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दुध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको समाजसेवी कटुवालले जानकारी दिए ।

अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवित रहेको पाइएसँगै सदाको परिवार, आफन्त, छिमेकी र सामाजिक अगुवाहरू सो अस्पताल प्रशासनसँग आक्रोशित बनेका छन् । समाजसेवी राजेन्द्र पोख्रेलका अनुसार मेट्रो न्युरो अस्पतालले गरेको यस किसिमको चरम लापरबाहीको विषयमा स्थानीय प्रशासन र सुरक्षा निकाय गम्भीर बनी घटनामा संलग्न व्यक्ति र अस्पतालमाथि कडा कारबाहीको माग स्थानीयले गरेका छन् ।