NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भन्सारमा राखिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले चिन्दैन सुन !

काठमाडौं । यात्रुले शंकास्पद वस्तु भित्र्याएको छ–छैन पहिचान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ छन् । तर, तिनै मेसिनमा ‘जाँच पास’ भएर पटक–पटक तस्करीको सुन आउने गरेको छ । विमानस्थलका कर्मचारीको मिलेमतोको आशंकासँगै मेसिनको प्रभावकारितामा पनि प्रश्न उठेको छ ।

शनिबार राति ११स्५१ मा फ्लाई दुबईको उडानबाट इजिप्टका नागरिक ३३ वर्षीय मोहम्मद लासिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । अन्य यात्रुसँगै उनी विमानस्थलस्थित भन्सार कार्यालयको चेक पोइन्टमा पुगे । ‘एक्सरे मेसिन’अगाडि उभिए, चेकजाँचमा उनी पास भए । त्यसपछि सरासर ‘वाक थ्रु गेट’तिर लागे । त्यहाँ पनि उनको शरीरमा शंकास्पद वस्तु रहेको रहेको कुनै संकेत दिएन ।

भन्सारको चेक पोइन्टबाट सजिलै बाहिरिए । जब उनी गन्तव्यतर्फ जान तयारीमा जुटे, शंका लागेपछि प्रहरी टोलीले पक्राउ गर्‍यो । कपडा खोल्न लगाएर हेर्दा शरीरको भित्री भागमा लुकाएको अवस्थामा ६.५६५ केजी अर्धठोस अवस्थाको सुन फेला पर्‍यो । शुक्रबार राति फ्लाई दुबईको एफजेट ५७३ जहाजमा गोरखाका चन्द्र घलेले बोकेर ल्याएको १४ केजी सुन भने पूर्वसूचनाका आधारमा भन्सार कर्मचारीले नै बरामद गरेका थिए ।

गत २ साउनमा पनि विमानस्थल भन्सारको ‘चेक पोइन्ट’ पार गरेपछि मात्रै ६०।७१६ केजी सुन बरामद भयो । स्कुटर र मोटरसाइकलको ‘बे्रकसु’भित्र लुकाइएको उक्त सुनलाई भन्सारमा राखिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले चिनेनन् । सोही तरिका अपनाएर दुई महिनाको अवधिमा सोही ‘चेक पोइन्ट’ हुँदै थप ३०२।०६२ केजी सुन पास भएको अनुसन्धानबाट खुल्यो । यति ठूलो परिमाणको सुन तस्करी हुँदा ती मेसिनले पत्तै पाएनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ‘एक्सरे’ र ‘वाक थ्रु गेट’गत १० पुसको ११ केजी सुन तस्करीमा पनि बेकामे बनेका थिए । उक्त दिन फ्लाई दुबईको जहाजबाट झरेका चिनियाँ नागरिक ली हानसोङ ई–सिगरेट (विद्युतीय चुरोट) बोकेर भन्सारको ‘चेक पोइन्ट’ पुगे । उनले प्रत्येक ई–सिगरेटलाई ‘एक्स रे मेसिन’मा हाले । तर, ई–सिगरेटभित्र लुकाई राखिएको ११ केजी सुन एक्सरे मेसिनले पहिल्याउन सकेन ।

त्यसको दुई दिनअघि ८ पुसमा अर्धठोस अवस्थाको १९ केजी सुन विमानस्थल भन्सारबाहिर बरामद भयो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा स्प्रे गरेर ल्याएका थिए । भन्सारको ‘चेक पोइन्ट’बाट बाहिरिने क्रममा पक्राउ परेका उनलाई पनि ‘एक्सरे’ र ‘वाक थ्रु गेट’दुवैले शंकास्पद देखेनन् ।

विमानस्थल भन्सार कार्यालय र सुरक्षा निकाय पनि शंकास्पद वस्तु पहिचान गर्ने मेसिनमा कैफियत देखिएको स्वीकार गर्छन् । विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले भने, ‘हामीकहाँ प्रयोग भएको एक्सरे मेसिन अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै हो । तर, सुन बरामदको पछिल्लो घटनाले त्यसमा केही कैफियत भएको हो कि जस्तो देखिन्छ । अर्धठोस अवस्थाको सुनलाई यसले पहिल्याउन सकेको देखिएन । तस्करले अनेक केमिकल प्रयोग गर्छन्, त्यसैले पनि यस्तो समस्या आएको हुन सक्छ । जे होस्, हामीकहाँ भएको ‘एक्सरे मेसिन’को सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आएकै हो ।’

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्द पनि तस्करीको अधिकांश सुन ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ मेसिनमा चेकजाँच गरेर बाहिरिएपछि मात्रै बरामद भएको बताउँछन् । शंकास्पद व्यक्तिबारे कतिपय अवस्थामा पूर्वसूचना आउने भएकाले प्रहरीले निगरानीमा राख्ने र खानतलासी गर्दा सुन भेट्ने गरिएको उनले बताए ।

‘भन्सारको चेक पोइन्ट पास गरेर बाहिर आएका यात्रुबाट सुन बरामद भएका छन् । यसको अर्थ भन्सारमा प्रयोग गरिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले काम गर्न नसकेको भन्ने हो । हुन पनि अर्धठोस अवस्थाको सुनलाई हामीकहाँ प्रयोग गरिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले पहिचान नगर्ने रहेछ,’ उनले भने । उनका अनुसार शनिबार मात्र इजिप्टेली नागरिकको साथबाट बरामद ६।५६५ केजी सुन पनि पूर्वसूचनाका आधारमा पहिचान भएको हो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल पनि त्रिभुवन विमानस्थलमा जडित प्रविधि कमजोर भएको स्वीकार गर्छन् । ‘कतिपय अवस्थामा हाम्रो एक्सरे मेसिनले सुन डिटेक्ट नगर्ने कुरा साँचो हो । सुन तस्करहरूले लेपन लगाउनेदेखि अनेक विधिको प्रयोग गर्छन्, त्यसअनुसारको हाम्रो प्रविधि छैन,’ उनले भने, ‘हामीले तत्काल नयाँ एक्सरे मेसिन खरिद गर्नुपर्छ भनेका छौँ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ६ करोड रुपैयाँ दिइसकेका छौँ ।

तस्करी नियन्त्रणका लागि प्रविधिको सुधारमा लागेका छौँ ।’ उनी विमानस्थलमा धेरै निकाय भएकाले पनि सुन तस्करीमा साँठगाँठको सम्भावना हुन सक्ने बताउँछन् । ‘अर्को कुरा विमानस्थलमा सयवटा निकाय छन् । कतिपय निकायको सुन तस्करी गर्ने समूहसँग हिमचिम नहोला भन्न सकिन्न,’ उनले भने, ‘जसकारण अन्य बाटोबाट पनि पास भएको हुन सक्छ ।’
यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।