NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

त्रिभुवन विमानस्थलबाट भइरहेछ गाँजाको समेत तस्करी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीलाई कमजोर आँक्दै पटक–पटक सुन तस्करी हुँदै आएकामा एकैपटक ठूलो परिमाणमा तस्करीको गाँजासमेत भित्रिएको छ । एक सय आठवटा कार्टुनमा भित्रिएको ५५ केजी अमेरिकी गाँजा बिहीबार विमानस्थलबाटै बरामद भएको हो ।

विगतमा थोरै–थोरै परिमाणमा गोश्वारा हुलाकमार्फत अमेरिकी गाँजा नेपालमा तस्करी हुँदै आएको थियो । कतार एयरवेज कार्गोमार्फत विमानस्थल भित्र्याइएको गाँजा प्रहरीको कुकुरले पत्ता लगाएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले ‘म्युजिक स्टिम’भित्र लुकाएर ल्याइएको ५५ केजी अमेरिकी गाँजा बरामद गरी थप अनुसन्धान गरिरहेको जानकारी दिए । ‘कार्गोमा शंकास्पद वस्तु आउँदै गरेको सूचना प्रहरीलाई थियो । प्रहरी अलर्टमा थियो । भन्सारमा उत्रिएपछि कुकुरमार्फत कार्गो चेकजाँच भयो । कार्गोमा लागुऔषध रहेको लगभग पक्का भयो । खोलेर हेर्दा एक सय आठवटा कार्टुनभित्र गाँजा फेला पर्‍यो,’ उनले भने, ‘गाँजा अमेरिकाबाट ल्याइएको हो । तौल जाँच गर्दा ५५ केजी खुलेको छ । थप अनुसन्धान जारी छ ।’

प्रहरीले गाँजा अमेरिकाबाट ल्याइएको खुले पनि कहाँ लान लागिएको थियो भन्ने अनुसन्धानकै विषय रहेको जनाएको छ । तस्करीमा संलग्न कोही पनि अभियुक्त पक्राउ नपरेकाले गाँजा कसले, कुन प्रयोजनमा, कहाँ लैजान ल्याएको भन्ने नखुलेको एसएसपी थपलियाले बताए ।

विगतमा हुलाकमार्फत आउँथ्यो गाँजा

प्रहरीले यसअघि २० भदौ ०७९ मा दुई केजी गाँजा बरामद गरेको थियो । उक्त गाँजा अमेरिकाको क्यालिफोर्नियाबाट गोश्वारा हुलाक हुँदै तस्करी गरेर पठाइएको थियो । गाँजा बरामदसँगै प्रहरीले काभ्रे मन्डन–देउपुर नगरपालिका– ७ का २८ वर्षीय मनोज राई, काठमाडौं खुसिबुका ३० वर्षीय राहुल क्षेत्री र नक्सालका ३० वर्षीय अंकितकुमार श्रेष्ठलाई पनि पक्राउ परेको थियो । अनुसन्धानकै क्रममा राईकै नाममा पुनः अमेरिकको क्यालिफोर्नियाबाट अर्को पार्सल पनि आइपुगेको थियो । उक्त पार्सलमा सर्ट, जिन्स, जोली रेन्चर र म्यागेजिनसँगै तीन सय ३० ग्राम गाँजा पनि भेटिएको थियो ।

हुलाक नै प्रयोग गरेर ११ फागुन ०७८ मा गाँजाको चोपमिश्रित चकलेट नेपालमा तस्करी भएको थियो । वीरगन्जका २२ वर्षीय राजशिखर गुप्ताको नाममा पार्सल भई आएको उक्त चकलेट बेलायतबाट पठाइएको थियो । बक्सभित्र गाँजामिश्रित दुई किलो दुई सय ५८ ग्राम तौलबराबरको ‘क्यान्डी’ थियो । प्रहरीले गुप्तालाई चकलेट बुझ्ने क्रममा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट पक्राउ गरेको थियो । उनको कोठा चकेजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध एम्फेटामाइनबाट बनेका पाँच सय ‘ट्याब्लेट’समेत फेला परेको थियो । उक्त लागुऔषध भने जर्मनबाट ल्याइएका थिए ।

४ कात्तिक ०७६ मा अमेरिकाबाटै तस्करी भएर ११ किलो दुई सय ग्राम गाँजा र चरेस नेपाल आएको थियो । यो तस्करीमा पनि हुलाक नै प्रयोग भएको थियो । क्यानडा हुँदै फ्लाई दुबईको जहाजबाट नेपाल आइपुगेको गाँजा ‘म्युजिक सिस्टम’भित्र लुकाएर ल्याइएको थियो । ‘म्युजिक सिस्टम’ लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काभ्रे पाँचखाल– १० का ३८ वर्षीय अच्युत त्रिपाठी पुगेका थिए । पक्राउ परेका उनको बयानका आधारमा उक्त गाँजा र चरेस ठमेलस्थित डिलाइट होटेलका सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेले ल्याउन लगाएको खुलेको थियो । त्यसअघि अमेरिकाबाट गाँजा र चरेस तस्कर भएर नेपाल आएको थिएन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष